विष सेवनबाट ज्यान गुमाएका ३ बच्चाकी आमा पनि रहिनन्


धनुषा – धनुषामा तीन सन्तानलाई बिष खुवाएकी आमाको पनि मृत्यु भएको छ ।

धनुषा शहीदनगर नगरपालिका ५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साह सोमबार साँझ आफ्नै घरमा ३ छोराछोरासहित विष सेवनको गरेको अवस्थामा भेटिएका थिए ।

त्यसपछि उपचारका लागि अस्पताल लैजाँदा ३ शिशुको मृत्यु भइसकेको जनाइएको थियो भने पविताको उपचार सुरु गरिएको थियो ।

उपचारकै क्रममा रहेकी पविताको जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा आज (शुक्रबार) बिहान ९ः४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

सोमबार घरमै विष सेवन गरेको अवस्थामा भेटिएका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसीको मृत्यु भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरयासी विवादमा पविताले आफ्ना तीन सन्तानलाई विष सेवन गराई आँफैं पनि सेवन गरेको खुलेको छ ।

पविताले विष सेवन गरेको परिवारले थाहा पाएपछि उपचारका लागि अस्पताल लिएर आएका थिए ।

घटनाको बारेमा अनुसन्धान भईरहेको जनकपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया