

रौतहटमा १४ वर्षीय बालकको हत्या, पाँच दिनपछि खोलामा शव फेला

रौतहट – रौतहटमा एक १४ वर्षीय बालकको धारिलो हतियार प्रयोग गरी निर्मम हत्या गरिएको छ । पाँच दिनदेखि हराइरहेका बालकको शव शुक्रबार बिहान चाँदी खोलाको पानीमा घोप्टो परेको अवस्थामा फेला परेको हो ।
मृतक बालक वृन्दावन नगरपालिका–७ निवासी सुरुज राय यादवका छोरा कृष्ण प्रसाद यादव हुन् । उनलाई गत वैशाख ६ गते बेलुकी ४ बजे बिर्ता गाउँ जाने भन्दै घरबाट मोटरसाइकलमा निस्किएको देखिएको थियो । त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए ।
बालक हराएको तीन दिनसम्म कुनै सूचना नआएपछि परिवारले वैशाख ९ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गतको जेष्ठ नागरिक, महिला तथा बालबालिका सेलमा निवेदन दिएका थिए । तर, खोजी जारी रहँदा शुक्रवार बिहान करिब ९ बजे गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा उनको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीका अनुसार शवको अवस्थाले हत्या गरिएको पुष्टि गर्छ । “शवको पेट र कन्चटमा गहिरा चोट छन्, जसबाट धारिलो हतियार प्रयोग भएको अनुमान गर्न सकिन्छ,” डिएसपी कार्कीले बताए ।
घटनाको खबर पाएसँगै डिएसपी कार्कीको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । शवमा किरा लागेको अवस्थामा फेला परेकोले हत्या केही दिनअघि नै गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । मृतकको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ ।
हालसम्म बालकले चलाएको मोटरसाइकल पनि फेला परेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ ।

