

आन्दोलनरत शिक्षकहरूबीच कुटाकुट, एक जनाको टाउकोमा टुटुल्का उठ्यो

काठमाडौँ — आन्दोलनरत शिक्षकहरूबीच विवाद चर्किँदा कुटाकुट भएको छ। शनिबार दिउँसो १ बजेतिर काठमाडौँको बिजुली बजार पुल क्षेत्र नजिकै शिक्षकहरू आपसमा झगडा परेपछि कैलाली धनगढी उपमहानगरपालिका–१ निवासी ५४ वर्षीय शिक्षक केशवराज जोशी घाइते भएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शिक्षकहरूबीच सामान्य विवाद बढेर जोशीमाथि हातपात भएको हो। कुटपिटका क्रममा उनको टाउकोमा टुटुल्का उठेको र शरीरका विभिन्न भागमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घाइते जोशीलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। उपचारपछि उनी अहिले आलोकनगरमा आराम गरिरहेको भजित पदमराज उपाध्यायले जानकारी दिए।
‘शिक्षक होस् कि अभिभावक होस् भन्दै आइडी कार्ड माग्ने र सामान्य कुटपिट गर्ने घटना भएको रहेछ। त्यस्तो ठूलो समस्या भने देखिएको छैन,’ उपाध्यायले भने।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान भने खुलेको छैन। जोशीका अनुसार दुई–तीन जना शिक्षकहरूले उनलाई हातपात गरेका थिए।

