

कोर्टमार्सल गरिएका अमल्दारपत्नी प्रमिला भन्छिन्- मेजर श्रेष्ठले उत्तानो पारेर दिदीलाई पिटे (बयान)
अनलाइनन्युजको समाचारपछि सैनिक मुख्यालयबाट दुई तारे जर्नेलको टोली चितवन पुग्यो

चितवन– २ पुस २०७५ मा चितवनको कालीबहादुर गणबाट सर्ट मेसिन गन (एसएमजी) चोरी भयो। चोरीको आरोपमा तत्कालिन सैनिक अदालतको आदेशमा उदयपुर गाईघाट स्थायी बसोबास भएका र त्यतिबेला कालिबहादुर गणमा कार्यरत अमल्दार लबकुमार गुरुङ र सुन्दर हरैचा मोरङ घर भएका सरोज तामाङलाई जेल हालिएको थियो।
जुन एसएमजी चोरीको अभियोगमा उनीहरु अहिले पनि सैनिक जेल सजाय काटिरहेका छन्। हालैको एक हत्याकाण्डमा फेला परेको हतियारका कारण दुई वर्षदेखि जेलमा रहेका उनीहरु निर्दोष रहेको र उनीहरुलाई व्यक्तिगत रिसिइबीका कारण फँसाइएको भन्ने पीडित परिवारको दाबीमा सत्यता देखिएको छ।
जतिबेला केआर १००७९२ नम्बरको एसएमजी हराएको थियो। उक्त एसएमजी अहिले अर्कैको साथबाट फेला परेको हो। हराएको उक्त एसएमजी सेनाका अर्का कर्मचारी गंगाधर ढकालको साथबाट पाइएको हो। उनले आफ्ना साथी भरत गुरुङको हत्या गरेपछि भएको अनुसन्धानका क्रममा ढकाललाई नियन्त्रणमा लिँदै उक्त एसएमजी नेपाल प्रहरीले जफत गरेको हो।
हराएको एसएमजीको लट नम्बर अहिले फेला परेको एसएमजीसँग मिलेको छ। उक्त एसएमजी प्रकरणको अनुसन्धानका लागि सैनिक मुख्यालयबाट सहायक रथीको नेतृत्वको टोली चितवन आइसकेको छ।
एसएमजी चोरीको आरोपमा अनाहकमा जेल गएका लब गुरुङको परिवार यतिबेला न्याय खोज्दै चितवन आइपुगेका छन्। आफ्नो श्रीमान निर्दोष रहेको पुष्टि भएपछि ६ वर्षकी छोरीको साथमा लबकी श्रीमती प्रमिला चितवन आएकी हुन्।
तत्कालिन समयमा गणका मेजर दीपेन्द्र श्रेष्ठ र क्याप्टेन गणेश ढकालको नियतका कारण आफ्नो श्रीमानलाई चोरीको अभियोगमा फसाइएको प्रमिलाको दावी छ। अनलाइनन्युजकर्मीसँग भेट्दा प्रमिलाले मरेरै गएमात्र आफ्नो परिवार तहसनहस पार्ने मेजर र क्याप्टेनलाई बिर्सने बताइन्।
उनले रुँदै भनिन्, ‘यदि मरेर गएँ भने चाहिँ तिनीहरुको नाम बिर्सिन्छु होला। नभए आफ्नो परिवार तहसनहस पार्ने मेजर दिपेन्द्र श्रेष्ठ र क्याप्टेन गणेश ढकाललाई कहिल्यै पनि बिर्सन सक्दिन। यतिसम्म पीडा दिएको छ नि तिनीहरुले।’
सानै उमेरमा विवाह गरेकी प्रमिलाको अहिलेसम्म नागरिकता छैन। श्रीमान जेलमा रहेको कारण आफ्नो नागरिकता समेत नबनेको गुनासो गरिन्। ‘नागरिकताकै कारण जागिर समेत पाएको छैन,’ उनले भनिन्।
लब जेल जाँदा छोरी ३ वर्षकी थिइन्।
सेनाका मेजर श्रेष्ठले मेरै अगाडि तँ अपराधी होस् भन्दै मेरो श्रीमानको मुखमा समेत थुकिदिनुभयो। म त्यो देखेर झनै रोएँ
श्रीमान जेलमा गएपछि यो बीचमा आफूलाई खानदेखि बस्नसम्म समस्या भएको बताउँदै उनले भनेकी छन्, ‘अहिले ६ वर्षकी छोरी भइन्। छोरीलाई पढाउन सक्ने अवस्था छैन मसँग। श्रीमान् नै मेरो आडभरोसा हुनुहुन्थ्यो। मेजर र क्याप्टेनले सबै सपना चकनाचुर पारिदिए।’
आफ्नो श्रीमान कसरी चोरीको आरोपमा जेल परे? कसरी उनलाई खबर पुग्यो? सेनाले यातना दियो कि दिएन? कसरी यो अवस्थामा आइपुग्यो? आफ्नो श्रीमानको अवस्था कस्तो छ? लगायत आफूले भोगेको यातनाको वृत्तान्त उनले सुनाइन्।
प्रमिला भन्छिन्–
कटहर चोक भरतपुर एयरपोर्ट नजिकै कोठा भाडमा लिएर बस्थें। शान्ति सेना गएर फर्किनुभएको थियो साउनमा। कंगो जानुभएको थियो। ३ गतेदेखि अफिस जानुभएको उहाँ एकैपटक पुस ६ गते कोठामा आउनुभएको हो।
कोठामा एउटा सानो कागजको डल्ला हराएको भन्दै उहाँसहित ४ जना आउनुभएको थियो। सबैले खोजतलास गर्नुभयो। सानो कागज हराएको छ नानी। त्यस्तो केही पनि होइन, डराउनुपर्दैन उहाँसँगै आएका एकजनाले भन्नुभयो।
त्यतिबेला श्रीमानलाई बोल्न पनि दिनुभएन। नानीको खेलौनादेखि सबैचेक गरेर, मैले के भएको भन्दा सानो कागज हराएको हो मात्रै भन्नुभयो। त्यहि भएर आत्तिनपर्दैन भन्दै उहाँहरु जानुभयो।
जहिले पनि मेरो श्रीमान अफिस छुट्टी हुनासाथ ७ बजे घर आइसक्नु हुन्थ्यो।
३ गतेदेखि नै नआउनुभएको। नआएपछि फोन गर्दा तालिममा गएको छ भनेर भन्नुभयो। उहाँको नम्बरमा फोन गर्दा अर्कैले उठाउनुहुन्थ्यो। पछि एक्कासी ६ गते मात्र आउनुभएको हो। त्यतिबेलासम्म मलाई केही थाहा थिएन।
पछि बीचमा फोन गरिरहन्थे। एकदिन त्यहिँ भित्रको एकजना दाईले भन्नुभयो, ‘एसएमजी चोरी गरेको आरोपमा उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ।’ उहाँलगायत अन्य व्यक्तिहरुलाई पनि सोधपुछ गरिरहेको छ। त्यसपछि मैले उदयपुरमा रहेको दिदीलाई घटनाबारे जानकारी गराए।
दिदी ९ गते (०७५, पुस) आउनुभयो। १० गते भोलिपल्ट दिदी आएपछि हामी उहाँलाई भेट्न भनेर कालीबहादुर गणमा गयौं। गणमा पुगे पनि उहाँसँग भेट्न दिइएन। त्यसपछि १९ पुसमा घर आउनुभयो। जतिबेला दिदी उदयपुर फर्किसक्नु भएको थियो।
घर आएपछि मात्र उहाँले भन्नुभयो– ‘गणमा एसएमजी तैंले चोरेको हो भन्दै पट्टी बाँधेर पिट्छ त कहिले पानी हालेर पिट्छ। भागे भने पनि मलाई नै दोषी देखाउँछ। १५–१६ जनालाई त्यस्तो गरिरहेको छ। म बाँच्दिन होला भन्नुभयो। त्यसपछि म आफैं भक्कानो छोडेर रोएँ। अनि उहाँले सम्झाउँदै नआत्तिउ हामीले चोरेको होइन, अनुसन्धान मात्र गरेको हो। हामी छुट्छौं भन्नुभयो।’
एउटा सानो र्याक थियो– जहाँ दिदीलाई मुन्टो भित्र हाल्न राखेर उत्तानो बनाउँथ्यो, अनि पिट्थ्यो, मेरै आँखा अगाडि
भोलिपल्ट २० गते बिहानै ८ बजे खाना खाएर बस्यौं। उहाँ एकदम डराइराख्नु भएको थियो। १९ गते राति पनि एकपटक आँखा झिमिक्क गर्नुभएन। खाना खाइसकेपछि उहाँले ‘म आएँ भने आइहाले। आइन भने चाहिँ हेटौंडा हेडक्वार्टरमा गएर रिट हाल्नु भन्नुभएको थियो। यस–यसरी कारबाही हुँदैछ मेरो श्रीमानलाई। यस यसरी एसएमजी हराएको भन्नु भनेर बुझाउनुसमेत भयो।’
त्यहाँबाट गएपछि उहाँ आउनुभएन। नआएपछि राति–राति मलाई गणको मेजर र हाकिमहरुले फोन गर्नुहुन्थ्यो। राति–राति कल गरेर के–के कुरा सोध्नुहुन्थ्यो। त्यहीअनुसारको जवाफ दिन्थें। २–३ पटक मलाई सोधपुछको लागि भन्दै गणमा लगियो।
मेरो श्रीमानसँग अन्तिमपटक फोनमा २ मिनेट कुरा भएको रहेछ। उक्त फोनमा के बोलिस भन्दै मलाई गणमा झपारिएको थियो। अनि मैले खाना खायौ, कस्तो छ? त्यतिमात्र बोलेको हो अरु केही पनि बोलेको छैन भने। त्यतिबेला गणका हाकिमहरुले मसँग सोधपुछ गर्नुभएको थियो।
त्यसपछि फेरी सोध्नुभयो–शान्ति सेनाबाट आएको पैसा के गर्यौ? तिमीहरु कहाँ गयौ?
दिदीको जग्गा लिएका थियौं। जग्गा लिएको पैसा दिएर सकियो भनें। पछि त्यसरी नै दिनहरु बित्यो। श्रीमानलाई घर आउन दिएको थिइन्।
कमाउने व्यक्ति नै सेनाको हिरासतमा रहेपछि तलब पनि आउन छाड्यो। घर भाडा पनि तिर्न सकिएन। त्यसपछि मैले नै गणमा फोन गरेर कोठा भाडा तिर्न र खाना सकिएन, म गाउँ जान लागेको भनेर खबर गरें।
तलब नआएपछि घरबेटीले पनि भन्दिनुभयो। गणबाट नानी तिमी त्यो कोठाको सामान लिएर नजाउ। तिम्रो नानी र एकसरो लुगा लगाएर मात्र जाउ। अनि म माघको पहिलो हप्तातिर उदयपुर गएँ। उदयपुर गाइघाट गए पनि फोनमा कुराकानी भइरहन्थ्यो।
गाईघाट गएको भोली पल्टै भित्रबाट मेरो श्रीमानको फोन आयो। नम्बर अर्कै थियो। आएपछि उहाँले के भन्नुभयो भने– मैले गल्ती गरेकै हो। तिम्रो बुढोले गल्ती गरिसक्यो। मैले एसएमजी चोरेको हो। चोरेर मैले इटहरीको एकजना भाईलाई दिएको हो।’
त्यतिमात्र भन्नुभयो र फोन काटियो। पछि उक्त नम्बरमा फोन गर्दा अफ भइहाल्यो। त्यसपछि श्रीमानसँग कुरा हुन पाएन। मलाई झनै पीडा भयो। मेरो श्रीमान त्यस्तो त हुनुहुन्थेन कसरी एसएमजी चोर्नुभयो? अनि कहाँ राख्नुभएको छ? भनेर मनमा अनेक कुराहरु आउन थाल्यो।
२६ माघमा म दिदीको घरमा थिएँ। एक्कासी ढोका ढकढक्यायो कसैले। छोरी मान्छेको आवाज आएपछि हजुर भन्दै दिदीले के ढोका खोल्नुभएको थियो घर वरपर पूरै आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरिएको थियो।
दिदीको घर उदयपुर त्रियुगा नगरपालिका–४ मा पर्छ। त्यतिबेला ५०–१०० जनाको हाराहारीमा सुरक्षाकर्मी थियो। घर पनि पुरै घेरेको थियो। त्यसपछि घरभित्र पसेर सबै सामानहरु फाल्दै हतियार खोज्न थाले। सानी नानीको खेलौनादेखि पढ्ने किताबहरुसमेत फालिदिए।
अनि मलाई र दिदीलाई अलग–अलग कोठामा राखर बयान लिन थाले। बयान लिने सेनाका कर्मचारी थिए। उहाँहरुले तिमीहरुले ल्याएका छौ रे भन्नुभयो। अनि मैले सर मैले त ल्याएको छैन। यस्तो कुरा हामीलाई त थाहा छैन भने।
तिमीहरुले नदिनी होइन, त्यसो भए तिमीहरुलाई जेल लैजान्छौं भन्नुभयो। त्यसपछि हामीलाई जिल्ला प्रहरी कार्यालय उदयपुर, गाईघाट गाडीमा हालेर लगियो। त्यहाँ लगेर पनि सोधपुछ गरियो। सोधपुछ गर्ने क्रममा मेजर दिपेन्द्र श्रेष्ठ र क्याप्टेन गणेश ढकाल पनि थिए।
त्यतिबेला हामीलाई फकाउनको लागि अनेकथरी भनियो। तिमीहरुले एसएमजी यहाँ ल्याइसकेको छौं, राम्रोसँग भन होइन भने पछि राम्रो हुँदैन भनेर धम्क्याउन थाले। तिम्रो श्रीमानले यो घटना स्वीकारी सकेको छ। तिमीहरुले लुकाएर लुक्दैन यो कुरा भनेर धम्काए।
अपराधीलाई साथ नदेऊ, तिमीहरुले सामान लिएर आइसकेको छौ। लबले सबै कुरा भनिसकेको छ। सामान कहाँ छ झिकेर देऊ, हामी थपक्क जान्छौं। तिम्रो श्रीमानको पनि जागिर जोडिन्छ, तिमीहरुलाई पनि केही हुँदैन। सामानचाहिँ देऊ भनेर एक घण्टा जति सोधेको सोधै गर्नुभयो।
मैले त्यतिखेर पनि यो कुरा हामीलाई थाहा छैन भनें। गाली गर्ने र माया गरेजस्तो गरेर बयान लिइरहे। मैले एउटै कुरा भनिरहें– मलाई यो कुरा थाहा नै छैन। कहाँबाट ल्याएर सामान दिउँ?
बयान लिने बेलामा दिदीलाई तल राख्दा मलाई माथिल्लो तलामा र मलाई माथि राख्दा दिदीलाई तल्लो तलामा राखिन्थ्यो। मैलै जतिबेला पनि एउटै कुरा भनिरहें।
हामीलाई प्रहरी कार्यालय लगेको भोलिपल्टै मेरो श्रीमानलाई पनि ल्याइएको रहेछ। त्यतिबेला गाउँका अन्य मान्छेहरुलाई थाहा दिए पनि हामीलाई थाहा दिइएको थिएन। एक्कासी १० बजेको समयमा मलाई श्रीमानसँग भेट गराइदिनुभयो।
दिदी, म र श्रीमानलाई एकैपटक भेट गराइदिए। त्यतिबेला श्रीमानको आँखा माथिको भागमा टाँका मारेको थियो। पूरै कैदीलाई जसरी हत्कडी लगाएको थियो। उहाँ एक्लै हुनुहुन्थ्यो। जिउभर निलडाम थियो। नबोल्ने हेरेर मात्र बस्ने। उहाँले बोल्ने एउटै शब्द थियो– म निर्दोष छु। मैले चोरेको छैन।
यतिसम्म कि मेजर दीपेन्द्र श्रेष्ठ र क्याप्टेन गणेश ढकाल आफैं आएर कुट्नुहुन्थ्यो
सेनाका मेजर श्रेष्ठले मेरै अगाडि तँ अपराधी होस् भन्दै मेरो श्रीमानको मुखमा समेत थुकिदिनुभयो। म त्यो देखेर झनै रोएँ।
उहाँहरुले मलाई त्यतिबेला सिकाउनुभएको थियो। तिम्रो श्रीमानलाई सबैजनासँग राख्छु। सोध तिमीले त्यो हतियार कहाँ पुर्याएको छ? तिमी त श्रीमती हौ। उसले तिमीलाई भन्छ कि?
मैले त्यहि कुरा सोधें। लगभग ३–४ बजेसम्म हामी सँगै थियो। उहाँले अरु कुरा केही बोल्नु भएन। सेनाहरु देख्दा डराइहाल्ने, बाघ आए जस्तो गर्ने। अनि तत्कालिन उदयपुरका प्रहरी उपरीक्षक (एसपी) आउँदा चाहिँ सर मैले चोरेको छैन भन्दै रुनें।
सेनाहरु अगाडि आउँदा चाहिँ गल्ती गरेको हो भन्ने प्रहरीहरु आउँदाचाहिँ मैले गल्ती गरेको छैन। ‘मलाई कुटेको भएर नचोरेको कुरालाई चोरेको हो भन्न बाध्य बनाएका हुन्। मैले पिटाइ खान नसकेर बोलेको हुँ।’ यतिमात्र भन्नुहुन्थ्यो। अरु कुरै गर्नु हुन्थेन।
तिमीहरु मध्ये एक जना फँस्नुपर्छ अब। मैले चोरेर ल्याएर देबरलाई दिएको हो भनिसकेको छु। आर्मीले तिमीहरु दिदी बहिनी मध्ये एक जनालाई अब छोड्दैन भन्नुभयो।

झूठा मुद्दामा सैनिक हिरासतमा राखिएका लव गुरुङकी पत्नी प्रमिला (बायाँ) र जेठीसासु तारा
तिमीहरु दुई जना मध्ये एकजनाले झुट बोल्नुपर्यो अब। को बोल्छौं यसरी? मैले उताबाट देको हो। कोठामा रहेको सामान गाईघाट पुर्याएर देबरलाई दिएकोचाहिँ भन्दिन पर्यो तिमीहरुले। अनि मलाई पनि छोड्दिन्छ। अनि देबरलाई सोधेपछि तिमीहरुलाई पनि केही हुँदैन।
नत्र मलाई लगेर मार्छ भन्नुभयो।
यदि गंगाधरले बयान फेरिदिएको अवस्थामा झनै हामीलाई गाह्रो बनाउने त होइन? यसरी अहिले पनि राम्रोसँग सुत्न सकिरहेको छैन। खाली उहाँको याद आइरहन्छ, छोरीले बाबा खोई भनेर सोधिरहन्छिन्, मैले के भनेर जवाफ दिने?
अनि मैले म बोल्छु भनें। मेरो श्रीमान हो, जहाँ जान परे पनि म श्रीमानसँगै जान्छु। दिदी मेरो सानो बच्चा तपाईले हेर्दिनु भनें। मेरो छोरी त्यतिबेला ३ वर्षकी थिइन्। तपाईले मेरो नानी हेरेर बस्नुस्, मेरो नानीको राम्रोसँग हेरचाह गर्दिनु। मेरो श्रीमानको जागिर नै छैन, जागिरै गएपछि कसरी खानु? भन्दै रोएँ।
त्यतिबेला दिदीले बोलेपछि देखाउन पर्छ नानी बोल्न हुँदैन भन्नुभयो। यो कुरा राम्रोसँग बुझ्नुपर्छ भन्नुभयो। त्यसपछि मलाई बाहिर लिएर जानुभयो। पछि दिदी र मेरो श्रीमानलाई एकैठाउँमा राखेर कुरा गराएछन्।
त्यतिबेला पनि मेरो श्रीमानले मलाई बचाइदिनु भन्दै दिदीसँग अनुरोध गर्नुभएछ। अनि दिदी आफैंले मैले चोरेको हो भनेर भन्दिनुभएछ। मेरो श्रीमानले बोल्नु भनेपछि दिदीले बोल्नुभएछ। त्यति भनेपछि श्रीमानलाई कहाँ पो लगे, हामीलाई त्यहिँ राखियो।
दिदीले मैले चोरेर अर्कैलाई दिएको भनेपछि मलाई थप केही कुरा पनि सोधेनन्। दिदीलाई मात्र सोध्ने काम भयो। ममाथि कुटपिट गरेनन्। दिदी र मलाई त्यहिँको हिरासतमा राखिएको थियो। सोधपुछ गर्ने भन्दै राति–राति पनि आएर दिदीलाई लग्थ्यो।
बिहान लगेर साँझ ६–७ बजे मात्र दिदीलाई ल्याइदिन्थ्यो। दिदीको मुख पटपटी फुटेर सुख्खा हुन्थ्यो। केही खान दिँदैनथ्यो। फु गर्दा पनि ढल्ने अवस्थामा पुग्नुभएको थियो। एउटा सानो र्याक थियो– जहाँ दिदीलाई मुन्टो भित्र हाल्न राखेर उत्तानो बनाउँथ्यो, अनि पिट्थ्यो। मेरै आँखा अगाडि।
म केही बोल्न सक्दिनथ्यें। बोल्यो कि मलाई पनि पिट्न सुरु गरिहाल्थ्यो। दिदीलाई कुटेको देखेपछि लुकाएको ठाउँ भन्दिन्छ कि भनेर मेरै अगाडि कुट्थ्यो। कहिले पाइप ल्याएर हिर्काउँथ्यो त कहिले लठ्ठीले, कहिले मुड्कीले।
मेरो श्रीमानले सिकाएर दिदीले बोल्नुभएको हो भन्ने थाहा छ। चोर्दै नचोरेको कुरालाई चोरेको हो भन्दिँदा यदि ज्वाँई छुट्नुहुन्छ भने किन नबोल्दिने भनेर बोलिहाल्नुभयो। यतिसम्म कि दिदीको जताततै निलडाम थियो। जिउ पुरै थिलथिलो भएको थियो।
अन्तिमसम्म पनि दिदीले मैले चोरेको होइन भनेर बयान दिनुभयो। मलाई ज्वाईले सिकाएर मात्र बोलेको हुँ। ज्वाईलाई बचाउनको लागि मात्र बोलेको हुँ भनिरहनुभयो। यतिसम्म कि मेजर दीपेन्द्र श्रेष्ठ र क्याप्टेन गणेश ढकाल आफैं आएर कुट्नुहुन्थ्यो।
केही सिप नलागेपछि मानवअधिकारकर्मीहरुले यो कुरा थाहा पाए। जिल्ला प्रशासन कार्यालय केस हाल्नु भएछ। जिल्ला प्रशासन कार्यालयमा पेश गरेपछि उहाँहरुले दिदीलाई १६ दिनपछि कुट्न छोडे। खुट्टा ठाडो बनाएर यसरी पिट्थ्यो कि म अहिले पनि यो कुरा सोच्न सक्दिन।
त्यसपछि फागुनको १७ गते हामी दुवै जनालाई १०–१० हजार धरौटीमा छाडियो। त्यतिबेला मापसे गरेर बाटोमा हो–हल्ला गरेको र गस्तीमा रहेको प्रहरीमाथि हातपात गरेको दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको भन्दै कागज गराइएको थियो।
जबकी हामीलाई एसएमजी चोरीको आरोपमा त्यहाँ लगिएको थियो। तर, मापसे गरेर होहल्ला गरेको भनियो। यसरी फर्जी काम गरेर हामीलाई यतिसम्म यातना दिइयो कि भनिसाध्य छैन।
त्यसपछि हामीहरु घरमा गयौं। घरमा गएको २ दिनपछि चितवनबाट प्रहरीले फोन गरेर बोलायो। दिदी चितवन जानुभयो। चितवन जानुभएको दिदीलाई नेपाली सेनाको दबाबमा प्रहरीले नियन्त्रणमा लिएर राख्यो। जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा समेत दिदीलाई सेनाको कर्मचारी आएर कुट्थ्यो।
दिदीलाई बोलाउनु भन्दाअघि नै देबर पवन गुरुङलाई समेत सेनाले पक्राउ गरिसकेको रहेछ। त्यसपछि उनीहरुलाई मान्छे नै मारेको अपराधी जस्तो व्यवहार गरेर कुट्थ्यो। पछि उहाँहरुलाई चितवन अदालतले दोषी करार गर्दै पुर्पक्षको लागि जेल पठाउन आदेश दियो।
दिदीहरु जेल गएको केही समयपछि मेरो श्रीमानलाई पनि दोषी करार गर्दै सैनिक अदालतले पुर्पक्षको लागि जेल पठायो। त्यसपछि बीच–बीचमा श्रीमानसँग फोनमा कुरा भइरहन्थ्यो। फोनमा कुरा हुँदा पनि उहाँले मैले चोरेको नै छैन भन्नुहुन्थ्यो।
यसरी अहिले जुन एसएमजी फेला परेको भनिएको छ। अलि–अलि आशा पलाउन थालेको छ। अब मेरो श्रीमान छुट्नुहुन्छ। तर, मनमा कता–कता डर पनि लागिरहेको छ– कतै सेनाको दबाबमा गंगाधर ढकाललाई बयान फेर्न लगाउने त होइन?
यदि गंगाधरले बयान फेरिदिएको अवस्थामा झनै हामीलाई गाह्रो बनाउने त होइन? यसरी अहिले पनि राम्रोसँग सुत्न सकिरहेको छैन। खाली उहाँको याद आइरहन्छ, छोरीले बाबा खोई भनेर सोधिरहन्छिन्, मैले के भनेर जवाफ दिने?

