

सात लाखको सुन किनेर नक्कली चेक दिएकी मनमाया पक्राउ

पोखरा— पोखरामा ठगीको नयाँ शैली अपनाउँदै सुनका गरगहना हात पारेर फरार भएकी एक महिला अन्ततः प्रहरीको फन्दामा परेकी छन्। पक्राउ परेकी महिला पोखरा महानगरपालिका–१० स्थायी घर भई हाल पोखरा–३१ बागमारा बस्ने ४६ वर्षीया मनमाया थापा हुन्।
थापाले पहिला वृद्धालाई ललाइफकाई लाखौंको गरगहना लिएकी थिइन् भने पछिल्लो पटक सुन पसलबाट महँगो गरगहना किनेर नक्कली (अवैध) बैंक चेक दिएकी थिइन्। प्रहरीका अनुसार गत भदौ २६ मा उनले पोखरा–२ बाग्लुङ बसपार्कस्थित एक सुन पसलबाट सिक्री, औंठी, पिन्जडा, हेन्ड चेनलगायत गरी सात लाख ५४ हजार रुपैयाँ बराबरको सुन किनिन्। तर, उनले दिएको चेकमा हस्ताक्षर नै नमिल्ने पाएपछि बैंकबाट रकम असुल हुन सकेन।
यसअघि पनि उनले मंसिर २९ मा बागमाराकै ७२ वर्षीया वृद्धालाई झुक्याएर चार लाख ८७ हजार रुपैयाँ बराबरका सुनका गरगहना झिकेकी थिइन्। त्यसपछि उनी सम्पर्कविहीन बनेकी थिइन्।
पीडित पसल सञ्चालक र वृद्धाले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले खोजी गर्दै थापालाई पक्राउ गर्न सफल भएको हो।
हाल उनलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभअन्तर्गत अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ।

