प्रहरी अस्पतालमा अर्को काण्डः कर्मचारी र डाक्टरबाटै कालोबजारी


काठमाडौं – चेनअफ कमाण्डमा चल्ने नेपाल प्रहरी अस्पताल महाराजगंजको एकपछि अर्को काण्ड सार्बजनिक हुन थालेको छ । चरम लापरवाहीको कारण प्रहरीका बहालावाला अधिकारीले नै ज्यान गुमाउन थालेपछि प्रहरी अस्पतालका कर्तुतहरु सार्वजनिक हुन थालेका हुन् ।

औषधी उपचारको लागी प्रहरी संगठन कै भरोसाको केन्द्र मानिएको प्रहरी अस्पतालका कर्मचारीको लापरवाहीको कारण आफ्नाले मृत्युवरण गर्न बाध्य भएपछि अस्पतालको कर्तुतहरु एकपछि अर्को बाहिरिन थालेको हो ।

प्रहरी अस्पताल अहिले डाक्टर आशा सिंहको कमाण्डमा चल्दै आएको छ । उनी नेपाल प्रहरीको प्राबिधिक एआईजी तथा अस्पतालकी निर्देशक हुन् । राम्रालाई भन्दा हाम्रालाई च्याप्ने राजनीतिक प्रवृत्तिका कारण उनले निर्देशक भएर अस्पतालको कमाण्ड सम्हाल्ने अवसर पाएकी थिइन् ।

दुई सयभन्दा बढी शैया रहेका अस्पताललाई पछिल्लो समय कोभिड अस्पतालमा पुनस्र्थापना गरिएको छ । राज्य यतिखेर कोभिड कै कारण आक्रान्त बनेको छ । कोभिड-१९ का प्रायः बिरामीले राम्रोसँग उपचार पाएका छैनन् ।

अक्सिजनदेखी बेड र आईसीयुको अभावमा कयौंले ज्यान गुमाई सकेका छन् । तर, आफूलाई फ्रन्टलाईनमा बसेर कोभिडको उपचारमा खटिरहेको दाबी गर्ने केही अस्पतालका डाक्टर र प्रशासनका कर्मचारीले कालोबजारीको धन्दा सुरु गरेका छन् ।

प्रहरी अस्पतालको यस्तै एक धन्दा सार्वजनिक भएको छ । ‘टोसिलिजुम्याब’ नामक इन्जेक्शनलाई अस्पतालका कर्मचारी र डाक्टरको मिलोमतोमा पाँच लाखसम्म बिक्री बितरण गर्दै आएका छन् । जुन इन्जेक्शनको मूल्य ३३ हजार भारतीय रुपैयाँ पर्छ । कोरोनाका प्रायः बिरामीलाई निमोनिया हुन पुगेको छ । निमोनियाले फोक्सोमा ईन्फेक्सन गर्ने हुँदा फोक्सो ड्यामेज हुने गई कोभिडका बिरामीले ज्यान गुमाउनु परेको छ । ‘यो (टोसिलिजुम्याब) ईन्जेक्शन निमोनिया सुरु हुन साथ बिरामीलाई दिन पाईयो भने कोरानाभाईरसले फोक्सोमा ईन्फेक्शन गर्ने सम्भावना एकदम एक हुन्छ,’ एक डाक्टरले बताए । ‘जसको कारण कोभिडका बिरामीलाई बचाउन सक्ने सम्भावना बढी हुन्छ । त्यहीकारण यो ईन्जेक्शनको कालोबजारी बढेको हो,’ उनले भने ।

यो औषधी अहिले प्रायः अस्पतालका डाक्टर तथा अस्पताल संचालकले ल्याएर राखेका छन् । त्यस्तै गरी प्रहरी अस्पतालका कर्मचारी र डाक्टरको मिलोमतोमा यो औषधीको कालोबजारी भई रहेको छ ।

स्रोतकाअनुसार गत साता मृत्युवरण गर्न बाध्य भएका नेपाल प्रहरीका डिएसपी राजकुमार केसीलाई पनि यो ईन्जेक्शन दिईएको थियो । दुई दिन समय लाग्छ, हामी मगाई दिन्छौं तर, भारतमै ब्याल्कमा खरिद गर्नुपर्छ भन्दै ईन्जेक्शनको मुल्य यहाँ आईपुग्दा पाँचलाख पर्न जानकारी अस्पतालका डाक्टरले दिएका थिए ।

ज्यान जोगिन्छ भने पाँच लाख तिर्न डिएसपीका परिवार तयार भएपछि अस्पतालले तिनदिन पछि उक्त ईन्जेक्शन डिएसपी केसीलाई दिएको थियो । ईन्जेक्शन दिने बेलासम्म डिएसपी केसीको फोक्सो पूर्ण रुपमा ड्यामेज भईसकेको अस्पताल स्रोतले बतायो ।

‘विभिन्न बहाना नगरी तीनदिन अघि नै केसीलाई उक्त ईन्जेक्शन दिइएको भए सायद उनको ज्यान जोगिन सक्थ्यो,’ अस्पतालका एक कर्मचारीले बताए । त्यही ईन्जेक्शन नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले भने अस्पताल भर्ना हुँदै आँफैले भारतीय प्रहरीमा रहेका केही उच्च ओहदाका अधिकृतहरुलाई अनुरोध गरी मगाएको पारिवारिक स्रोतले बतायो । समय मै ईन्जेक्शन लगाउन पाएका खरेलको भने स्वास्थस्थिति सुधारोन्मुख रहेको जनाइएको छ । अहिले उक्त ईन्जेक्शन नेपालका नेतादेखि ठूला व्यापारीहरुले आफ्नो लागी भने सुरक्षित गरेर राखिसकेको स्रोतको दाबी छ ।

प्रतिक्रिया