


युट्युबमार्फत सीप सिकेर व्यवसायी

कञ्चनपुर-पुनर्वास नगरपालिका-३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन। केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार भएकी हुन्।
उनले महिनामै ६० हजार बढीको कारोबार गर्छिन्। खर्च कटाएर ३० हजारसम्म आम्दानी हुने गरेको छ। विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य गर्ने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नुपर्यो।
बेरोजगार भइन् तर खाली बस्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच त थियो र लगानीका लागि पैसा थिएन। भर्खरै बजार क्षेत्रमा सृजनशील बचत तथा ऋण सहकारीको शाखा खुलेको थियो। त्यसमा आबद्ध भएर ऋण लिने निधो गरिन्।
एक लाखबाट सुरु गरिएको व्यवसायबाट उनले हाल पाँच लाखको सामान थपेकी छन्। युट्युबाटै सिकेर हाल केक, पेष्टी र बदाम सेक बनाउने व्यवसाय गरिरहेको चन्दले जानकारी दिइन्। ग्राहकलाई सन्तुष्ट हुने गरी सामान दिन थालेपछि जन्मदिन, संघसंस्थाका स्थापना दिवसलगायत अवसरमा धेरैजसोले माग गर्दा सहज भएको उनले बताइन्।
बेकरी सामानबाहेक उनले गिफ्टका सामग्रीको समेत कारोबार गरिरहेकी छन्। भविष्यका लागि भनेर उनले मासिक आठ हजार सहकारीमै बचत गर्दै आएकी छन्। ‘घरको खर्च पसलकै कमाईले धानिएको छ। छोरीलाई पसलकै कमाईबाटै पढाउन थालेकी छु’, चन्दले भनिन्।

