प्रहरी अस्पतालमा एआईजी सिंहको अनियमितता छानबिन गर्न पोखरेल नेतृत्वको समिति


काठमाडौं – प्रहरी अस्पतालको कमान्ड प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) डाक्टर आशा सिंहको काँधमा छ। १४ पुस २०७६ देखि सिंहले अस्पतालको कमान्ड सम्हाल्दै आएकी छन्।

जतिबेला सिंहको नियुक्तीको विषयलाई लिएर ठूलै विवाद भयो। विवादित मान्छेलाई अस्पतालको प्रमुख बनाएको भन्दै तत्कालिन प्रहरी नेतृत्वको समेत चर्को आलोचना भएको थियो।

सिंहमाथि राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नभई सहभागी भएसरहकै तक्मा लगाएको पनि आरोप लागेको हो। उनीमाथि नेपाल सरकारले पदक नै नदिई गोरखा दक्षिणबाहु तक्मा लगाएको आरोप पनि लागेको थियो।

त्यतिमात्र होइन, अनलाइनन्युजले गत जेठ महिनामा सिंहको प्रहरी अस्पतालमा चरम लापरबाहीबारे समाचार प्रकाशित गर्यो।

एआईजी सिंहका पति डाक्टर रमेश सिंहको योजनामा अस्पताल चल्न थालेको अनलाइनन्युजले खुलासा गरेको थियो। रमेश नेपाल मेडिकल काउन्सिलका पूर्वसदस्य तथा नेपाल मेडिकल कलेजका पूर्वप्रोफेसर हुन्। पति रमेशको योजनामा एक बर्ष अगाडि भारतबाट खरिद गरेर ल्याइएको पिसीआर चेक गर्ने मेशिनले काम गर्न छाडेपछि समाचार बाहिर आएको थियो।

तर, सोहीदिन नेपाल प्रहरी अस्पतालले अनलाइनन्युजको समाचारप्रति खण्डन नै निकाल्यो। अस्पतालले जतिबेला कोभिड बिरामीको उपचार तथा सामग्री खरिदलगायतका विषयमा कुनै पनि गलत काम नभएको दाबी गरेको थियो।

प्रहरी अस्पतालमा अनियमितता भएको समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्दै अस्पतालका तर्फबाट प्रशासन विभागका प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक (एसपी) डा. संजयविक्रम श्रेष्ठले विज्ञप्ति नै जारी गरेका थिए।

अस्पतालको बारेमा नकारात्मक समाचारहरु आउन थालेपछि प्रहरी प्रधान कार्यालयले एआईजी सिंहसहितको टोली बोलाएर जानकारी लिई औपचारिकता निभाएको थियो। प्रहरी प्रमुखको कमजोर कमान्ड भएको कारण त्यतिबेला सिंहमाथि कसैले अनुसन्धान गर्ने आँट नै गरेनन्।

प्रहरी प्रधान कार्यालयले चासो नदिँदा एआईजी सिंहले त्यसयता झनै अस्पतालमा चरम लापरबाही गरेकी छन्। जुनकुरा प्रधान कार्यायलयले गठन गरेको छानबिन समितिबाट पनि पुष्टि हुन्छ।

प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीले एआईजी सिंहमाथि अनुसन्धान गर्न मानवस्रोत तथा प्रशासन विभागका एआईजी विश्वराज पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन्।

आर्थिक अनियमितता भएको आशंका गर्दै एआईजी सिंहमाथि अनुसन्धान अघि बढाइएको प्रहरी प्रधान कार्यालय स्रोतले अनलाइनन्युजलाई बतायो। स्रोतका अनुसार कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर खरिद गर्दा आर्थिक अनियमितता गरेको, भारतबाट सेकेन्डह्यान्ड पीसीआर मेसिन किनेर नयाँ उपकरणसरह बिल भुक्तानी गरेकोलगायत आरोपमा एआईजी सिंहमाथि अनुसन्धान गर्न समिति गठन भएको हो।

आईजी क्षेत्रीले एआईजी पोखरेल नेतृत्वको समितिलाई एआईजी सिंह र आर्थिक खटनपटनमा संलग्न प्रहरीमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन्। त्यतिमात्र होइन अस्पतालमा निःशुल्क पाइने मास्क, सेनिटाइजर र पीपीईमा समेत बिल पेस गरी रकम भुक्तानी गरेको सिंहमाथि आरोप छ। जुन सामग्री स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को समयमा निशुल्क दिएको थियो।

एआईजी सिंहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ। गृह मन्त्रालयले सिंहमाथि अनियमितता आरोपमा उजुरी परेको भन्दै अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएपनि चासो दिएको थिएन।

मन्त्रालयले २० असोजमै सिंहमाथि विभिन्न ८ वटा विषयमा अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपनि त्यसको १५ दिनपछि मात्र समिति गठन भएको हो।

एआईजी पोखरेल नेतृत्वको समितिमा महानिरीक्षकको कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) वसन्त लामा, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)द्वय पूजा सिंह र भीम ढकाल तथा कानुन शाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानेन्द्र बस्नेत रहेका छन्।

प्रतिक्रिया