

कञ्चनपुरमा मलामी जाँदै गरेका सशस्त्र प्रहरीका पूर्व हवल्दारको दुर्घटनामा मृत्यु

कञ्चनपुर— भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल रानाको ट्याक्टरबाट खस्दा मृत्यु भएको छ। राना छिमेकी गुरुङ थरकी महिलाको मलामीमा जाँदै गर्दा दुर्घटनामा परेका हुन्।
भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव सडकखण्डमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
राना सशस्त्र प्रहरी बलबाट सेवा निवृत्त हवलदार थिए। प्रहरीका अनुसार उनी मलामीका लागि ट्याक्टरमा सवार भएका थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

