

छामेरै मोटरसाइकल मर्मत गर्ने दृष्टिविहीन ढकाल

मकवानपुर- सामान्यतया मानिसहरूले आँखाको भरमा काम गर्छन्, तर हेटौँडा उपमहानगरपालिका-३, बसामाडीका शुदर्शन ढकालले भने आँखाबाट होइन, कान र हातको भरमा काम गरिरहेका छन् ।
दुबै आँखा देख्न नसक्ने दृष्टिविहिन ढकाल २८ वर्षदेखि मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका छन् । मकवानपुरको हेटौडा उपमहानगपालिका ३ बसामाडीका ढकाल दुबै आँखाबाट देख्न सक्दैनन् ।
आँखाको नशा सुकेर युवा अवस्थामै उनले दृष्टि गुमाए। तर, दृष्टि गुमाएपनि हिम्मत गुमाएनन् अनि सुरु गरे, सुनाइ र स्पर्शको भरमा मोटरसाइकल मर्मतको काम ।
उनले स्कुटी वा बाइकबाट आउने अस्वभाविक आवाज सुनेर समस्याको पहिचान गर्छन् । अनि छामेर पाटपुर्जा खोल्ने, मर्मत गर्ने कार्य गर्न थाल्छन् । दृष्टि गुमाउनुअघि अरुको ग्यारेजमा काम गर्ने ढकालले पछि आफैले ग्यारेज खोले ।
पहिले देखिको अभ्यास, अनुभवले पोख्त रहेका ढकालले सीपभए असम्भव केही हुँदैन भन्ने प्रमाणित गरेका छन् ।
ढकालको यात्रामा साथ दिएकी छन्, उनकी जीवनसाथी कमलाले । कमलाले मोटरसाइकल मर्मत सम्बन्धी तालिम समेत लिएकी हुन् । दिनभरी ग्यारेजमा श्रीमानलाई मोटरसाईकलका पाटपुर्जा खोल्ने र जोड्ने कार्यमा सहयोग गर्दै आइरहेकी छिन् ।
ढकालको काममा ग्राहक पनि सन्तुष्ट छन् । धेरैले ढकालको सीप, व्यवहार र आत्मविश्वासको खुलेर प्रशंसा गर्ने गरेका छन् ।
उनले कामको सहजताका लागि आफूले प्रयोग गर्ने औजारहरू आफू अनुकूल स्थानमा राख्ने गरेका छन् । दृष्टि नभएपनि दृढ विश्वासका कारण सुदर्शन ढकालले ग्यारेजबाटै चार जनाको परिवार धानिरहेका छन् ।

