प्रहरी अस्पतालमा चरम लापरवाहीः कोभिड नाममा कुम्ल्याउँदै एआईजी सिंह


काठमाडौं– कोरनाको दोस्रो लहरले आक्रान्त मुलुकका अस्पतालमा बेडदेखि अक्सिजनसम्मको अभाव छ। सरकारी अस्पतालको व्यवस्थापन नै भद्रगोल हुँदा, नीजिमा उपचार केही सहज भए पनि सर्बसाधारणको पहुँच बाहिर छ– कारण, महँगो शुल्क।

बेड, आईसियु र भेन्टिलेटर सहज रुपमा पाईँदैन।

सरकार यस्ता न्युनतम विषयमा भन्दा पनि सत्ता कसरी टिक्ला भन्ने अनेक राजनीतिक तिकडम र प्रयोगमा अभ्यस्त छ। दैनिक दर्जनौं व्यक्ति उचित उपचारको अभावमा मृत्युवरणका लागि बाध्य भएका समाचार र विवरण तारान्तर आइरहेका छन्।

मुलुकका सरकारी र नीजि अस्पतालको हालत यो हुँदा ‘चेन अफ कमान्ड’मा चल्ने नेपाल प्रहरीको अस्पताल विवादमा मुछिएको छ। कमजोर नेतृत्व र कमान्डका कारण अस्पतालका बेथिति बढेको छ।

प्रहरी अस्पताल अहिले प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) डाक्टर आशा सिंहको कमान्डमा चल्दै आएको छ।

अनेक तिकडम चाल चलेर आफूभन्दा एक बर्ष सिनियर प्रहरी नायव महानिरिक्षक (डिआईजी) मिनप्रसाद पाठकलाई पाखा लगाएर अस्पतालको निर्देशक बनेकी एआईजी सिंहको कमजोर कमान्डले अस्पतालको बेहाल भएको तथ्य सतहमा आउन थालेका छन्।

कोरनाको महामारी फैलिएपछि प्रहरी अस्पताललाई कोभिड अस्पतालको रुपमा परिवर्तन गरिएको छ। उक्त अस्पतालमा प्रहरीको मात्र नभई सर्वसाधारणको पनि उपचार हुँदै आएको छ।

अस्पतालको दुरुपयोग गरेर एआईजी सिंहले बिरामीको उपचारमा भन्दा अतिरिक्त लाभको धन्दामा बढी ध्यान दिएको आरोप लागेको छ।

एआईजी सिंहका पति डाक्टर रमेश सिंहको योजनामा अस्पताल चल्न थालेको स्रोतको दाबी छ। रमेश नेपाल मेडिकल काउन्सिलका पूर्वसदस्य तथा नेपाल मेडिकल कलेजका पूर्व प्रोफेसर हुन्।

अस्पतालका निर्देशक एआईजी सिंहले पति रमेशको योजनामा एक बर्ष अगाडि भारतबाट खरिद गरेर ल्याईएको पिसीआर चेक गर्ने मेशिनले काम गर्न छाडिसकेको छ।

भारतबाट सेकेण्ड ह्याण्ड मेशिन ल्याएर निर्देशक सिंहले बिल भने नयाँ मेशिनको भुक्तानी गरी मोटो रकम कमिशन असुलेको स्रोतको दाबी छ।

निर्देशक सिंहलाई अस्पतालमा भ्रष्टचार गर्नका निम्ती लेखा शाखाका प्रहरी निरिक्षक हिरा केसी, फार्मिङ डिपार्ट हेड प्रहरी निरिक्षक सागर पौडेल र प्रबन्धका प्रहरी नायब निरिक्षक दिपक थापाले सहयोग गर्दै आएका छन्।

अहिले कोभिडको नाममा यो समूहले अस्पताललाई सेवाको केन्द्र भन्दा पनि असुली गर्ने अखडाका रुपमा परिणत गरेका छन्। प्रहरी अस्पतालमा भएको लापरवाहीका प्रमाणहरु सार्वजनिक भएपछि गत बिहीवार नेपाल प्रहरीका पूर्वआईजी अच्युतकृष्ण खरेलले बाहलबाला प्रहरी महानिरिक्षिक (आईजी) शैलेश थापा क्षत्रीसँग गुनासो गरेका थिए।

उक्त अस्पतालमा पूर्वआईजी खरेलका भतिजा पूर्वडिआईजी रमेश खरेल समेत उपचाररत छन्। उपचारमा लारवाही भएको चाल पाएपछि आईजी थापालाई पूर्वआईजी खरेलले व्यवस्थापनमा कमजोरी भएको गुनासो गरेका थिए।

अस्पतालको बारेमा जन गुनासो बढेपछि गत शुक्रबार आईजी थापाले प्रहरी अस्पतालका निर्देशक सहितको टोली बोलाएर जानकारी लिई औपचारिकता निभाएका थिए। आईजी थापाकै कमजोर कमान्ड भएको कारण उनले अस्पताललाई कुनै ठोस आदेश र निर्देशन गर्न नसकेको स्रोतको दाबी छ।

गत साता काठमाडौं प्रहरी परिसरका नायव उपरिक्षक (डिएसपी) राजकुमार केसीको उपचार लापरवाहीका कारण मृत्यु भएको दाबी पूर्वडिएसपी रेशम पराजुलीले समेत सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए।

डिएसपी पराजुलीको स्टाटसमा केसी अक्सिजन सकिएर छटपटाई रहँदा समेत अस्पतालबाट हेरचाह हुन नसक्दा आफ्नो अक्सिजन लगाई दिएको सार्वजनिक गरेका थिए।

यति मात्र नभएर प्रहरी अस्पतालमा गम्भीर प्रकारका पूर्वप्रहरी अधिकारीलाई बेड नदिने र त्यसका लागि पनि उपल्लो तहमा ‘पावर’ लगाउनुपर्ने अवस्था रहेको गुनासो पराजुलीले गरेका थिए।

सोही क्रममा उपचार गरिरहेका पूर्वडिआईजी पूर्णसिंह खड्काले ‘प्रहरीकै अवस्था यस्तो भएपछि सर्वसाधारण र तल्ला तहका प्रहरी कर्मचारीको अवस्था कस्तो होला?’ भनी प्रश्न गरेका थिए।

प्रतिक्रिया