वरिष्ठ सइको तलबमान र ग्रेड समायोजन गर्ने सरकारको निर्णय


काठमाडौं— सरकारले नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ)को तलबमान र ग्रेड समायोजन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतको परमादेशअनुसार उक्त निर्णय गरेको हो। यससँगै वरिष्ठ सइहरूको तलबमा वृद्धि हुने भएको छ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, “नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षकहरूको तलबमान र ग्रेड समायोजन गरिनेछ।”

२०७८ सालमा प्रहरी नियमावली संशोधन गरी सइ र इन्स्पेक्टरबीच वरिष्ठ सइ पद थपिएको थियो। कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवा प्रक्रिया ढिलो हुने समस्या समाधानका लागि उक्त पद सिर्जना गरिए पनि बढुवा भएका वरिष्ठ सइहरूको तलबमान समायोजन हुन सकेको थिएन।

सर्वोच्च अदालतले २०७९ साउन १७ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासबाट वरिष्ठ सइको तलबमान र ग्रेड समायोजन गर्न परमादेश दिएको थियो। करिब १० महिनापछि उक्त आदेश कार्यान्वयनमा आएको हो।

बढुवा हुँदा वरिष्ठ सइको तलब उल्टै घटेको गुनासो थियो। उनीहरूको तलब दुई सय ६२ रुपैयाँले कम भएको थियो। अहिले एक हजार चार सय अठार जनाको दरबन्दीमा रहेका वरिष्ठ सइहरूले अब समायोजनपछि तलब वृद्धिको लाभ पाउनेछन्।

वरिष्ठ सइको आधारभूत तलब ४० हजार ९८ रुपैयाँ रहेको छ। तर, अधिकतम दुई ग्रेड मात्र थपिने प्रावधानका कारण उनीहरूले थप तलबवृद्धिबाट वञ्चित हुँदै आएका थिए, जबकि सइहरूको तलब ४३ हजार ९९४ रुपैयाँसम्म पुग्छ। यही व्यवस्थाका कारण वरिष्ठ सइहरूमा तलब विसङ्गति देखिएको थियो, जुन अब समाधान हुने भएको छ।

प्रतिक्रिया