अनियमितता लुकाउन एआईजी सिंह सक्रिय, ‘क्वार्टर टू घर’ दाैडधूप !


काठमाडौं – गृह मन्त्रालयले गत २० असोजमा प्रहरी अस्पतालकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंहमाथि विभिन्न ८ वटा विषयमा अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो।

त्यसको १३ दिनपछि प्रहरी प्रधान कार्यालयले प्रहरी अस्पतालमा एआईजी सिंहको अनियमितता छानबिन गर्न समिति गठन गर्यो। मानव स्रोत एवं प्रशासन विभागका प्रमुख एआईजी विश्वराज पोखरेलको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ।

एआईजी पोखरेलको नेतृत्वमा छानबिन समिति गठन भएर अनुसन्धान सुरु भएपछि यतिबेला एआईजी सिंह आफ्नो कर्तुतहरु लुकाउनको लागि सक्रिय भएकी छन्। अस्पताल स्रोतका अनुसार सिंह आफ्नो क्वार्टरदेखि घरसम्म दिनमै थुप्रैपटक आउने-जाने गरेकी छन्।

अस्पतालमा भएको अनियमितताबारे छानबिन हुने भएपछि अस्पतालको प्रमुख रहेकी एआईजी सिंहले ‘फाइल’हरु मिलाउन सक्रिय रुपमा लागि परेकी स्रोतले जनायो। ‘सिंह एक दिनमै ३–४ पटकसम्म घरदेखि क्वार्टर आउजाउ गर्छिन्,’ स्रोतले भन्यो।

जबकी छानबिन समिति गठन हुनु अघिसम्म सिंह क्वार्टरमै मात्रै बस्ने गरेकी थिइन् । छानबिन समितिले अनुसन्धान सुरू गर्न थालेको खबर पाएसँगै उनी ‘बेचैन’ रूपमा यता-उता गर्न थालेको स्रोतले बतायो । स्रोतका अनुसार उनी त्यसअघि कहिलेकाहिँ मात्र घर जाने गर्थिन् ।

तर, अहिले छानबिन समितिले अनुसन्धान सुरु गर्न थालेपछि सिंह अस्पताल प्रशासनसँग सम्बद्ध कागजात र फाइलहरू मिलाउनका लागि घर आवतजावत गर्न थालेकी अस्पतालका एक डाक्टरले बताए ।

‘प्रहरी अस्पतालमा औषधीहरु दिनमा थुप्रै बिक्री हुन्छ। त्यसको बिल अस्पताल र ग्राहक दुवैलाई दिइन्थ्यो,’ अस्पतालका ती डाक्टरले भने, ‘एआईजी सिंहको कार्यकालपछि ग्राहकलाई मात्र बिल दिइन्छ, अस्पतालमा राखिँदैन।’

यहिँबाट पनि प्रष्ट हुन्छ कि एआईजी सिंहले गर्ने गरेको अनियमितता । औषधीमा मात्र होइन एआईजी सिंहले अस्पतालमा आवश्यक सामान खरिददेखि कर्मचारी नियुक्ति प्रक्रियामा समेत हस्तक्षेप गर्ने गरेको अस्पताल स्रोतले जनायो ।

अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९) परीक्षण गर्ने पीसीआर मेसिन खरिदमै सिंहले भ्रष्टाचार गरेको पाइएको छ । स्रोतका अनुसार सेकेन्ड ह्यान्डको पीसीआर मेसिन लिएको तर, पैसा नयाँको भुक्तानि गरिएको छ । यसरी सिंहले खुलेआम रुपमा अनियमितता गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा पुगेपछि मात्र अनुसन्धानको लागि समिति गठन भएको हो।

त्यतिमात्र होइन, एआईजी सिंहमाथि कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर खरिद गर्दा आर्थिक अनियमितता गरेको, आइसोलेसन वार्ड बनाउँदा रकम हिनामिना भएको, अपारदर्शी रूपमा करारमा कर्मचारी नियुक्ति गरेको समेत आरोप लागेको छ।

भारतबाट सेकेन्डह्यान्ड पीसीआर मेसिन किनेर नयाँ उपकरणसरह बिल भुक्तानी गरेको आरोपपछि एआईजी सिंहमाथि अनुसन्धान अघि बढाइएको प्रहरी प्रधान कार्यालय स्रोतले अनलाइनन्युज७लाई बतायो।

एआईजी पोखरेल नेतृत्वको समितिमा महानिरीक्षकको कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) वसन्त लामा, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)द्वय पूजा सिंह र भीम ढकाल तथा कानुन शाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानेन्द्र बस्नेत रहेका छन्।

औषधीको बिलिङमा समेत अनियमितता गरेकी सिंहले प्रहरी अस्पतालमा लुट मच्चाएको समाचार अनलाइनन्युज७ ले पटक–पटक लेख्दै आएको थियो। जतिबेला प्रहरी प्रमुखको कमजोर कमान्ड भएको कारण त्यतिबेला सिंहमाथि कसैले अनुसन्धान गर्ने आँट नै गरेनन्।

सिंहले प्रहरी अस्पतालको कमान्ड १४ पुस २०७६ देखि सम्हाल्दै आएकी छन्। जतिबेला सिंहको नियुक्तीको विषयलाई लिएर ठूलै विवाद समेत भएको थियो। विवादित मान्छेलाई अस्पताल प्रमुख बनाएको भन्दै तत्कालिन प्रहरी नेतृत्वको समेत चर्को आलोचना भएको थियो।

जतिबेला सिंहमाथि राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नभई सहभागी भए सरहकै तक्मा लगाएको पनि आरोप लागेको हो। उनीमाथि नेपाल सरकारले पदक नै नदिई गोरखा दक्षिणबाहु तक्मा लगाएको आरोप पनि लागेको थियो। अनलाइनन्युज७ले गत जेठ महिनामा सिंहको प्रहरी अस्पतालमा चरम लापरबाहीबारे समाचार प्रकाशित गरेपछि अस्पतालले खण्डन नै निकालेको थियो।

एआईजी पोखरेल नेतृत्वको समितिलाई यथाशीघ्र छानबिन प्रतिवेदन बुझाउन प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले निर्देशन दिएका छन्। तर अस्पतालको लागि आवश्यक सामग्री खरिद गर्दा मोटो रकम कमिसन खाने गरेकी एआईजी सिंहमाथि आईजीपी क्षेत्रीले कस्तो कदम चाल्लान्? त्यो हेर्न बाँकी छ।

प्रतिक्रिया