‘प्रहरी अस्पतालमा एआईजी र डीआईजीको झगडा, अनियमितता देखिएन’

कारबाहीबाट जोगिइन् अस्पतालकी एआईजी सिंह


काठमाडौं – काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भएको भनिएको अनियमितताका सन्दर्भमा छानबिन गर्न बनेको समितिले प्रतिवेदन प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीलाई बुझाएको छ।

समितिले अस्पतालमा अनियमितता नभएको निष्कर्ष निकालेको छ। प्रहरी अस्पतालमा अनियमितता नदेखिएको तर अस्पतालमा ‘को सिनियर’ भन्ने आन्तरिक झगडामात्रै देखिएको छानबिन समितिले आईजी क्षेत्रीलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ।

अस्पतालमकै वरिष्ठ अधिकृतहरूले अनियमितता गरेको भन्ने गुनासो तथा उजुरीपछि गठन भएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको नेतृत्वमा समिति गठन भएको थियो।

पुरानो मेसिन मर्मत नगरी नयाँ किनेको, कर्मचारीहरूलाई राम्ररी नराखेको, उपकरण किन्दा अनियमितता भएको आरोप अस्पतालकी प्रमुख एआइजी डा. आशा सिंहमाथि थियो।

एआईजी पोखरेल नेतृत्वको समितिले अस्पतालमा कुनै समस्या नदेखेको जनाएको हो। बरू एआईजी र प्रहरी नायब महानिरीक्षक (डिआईजी)बीचको असन्तुष्टि अस्पतालमा रहेको छानबिन समितिको निष्कर्ष छ।

एआइजी र डिआइजीबीचको वरियताको विवादका कारण अस्पतालमा अनियमितता भएको गुनासा आएको छानबिन समितिका एक सदस्यले अनलाइनन्युज७ लाई बताए।

२०७६ पुसमा डा. सिंहलाई अस्पतालको प्रमुखमा नियुक्त गरिएको थियो। आफूभन्दा जुनियरलाई अस्पताल प्रमुख बनाएकोमा अस्पतालका डिआईजी मिनराज पाठक असन्तुष्ट थिए। पाठक उनीभन्दा बरीयतामा अगाडि थिए। अहिले अस्पतालमा सिंह र पाठकको छुट्टाछुट्टै समूह छ।

पोखरेल नेतृत्वको छानबिन समितिमा डिआइजी बसन्त लामा, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय भीम ढकाल, पूजा सिंह र प्रहरी नायब उपरीक्षक डिएसपी) ज्ञानेन्द्र बस्नेत सदस्य थिए।

0000

यता एआईजी पोखरेल नेतृत्वको समितिले अस्पतालकी प्रमुख सिंहलाई जोगाएको चर्चा प्रहरी प्रधान कार्यालयभित्र छ। सिंहमाथि थुप्रै आरोपहरु लाग्दा एआईजी पोखरेल आईजीको निर्देशनमा चलेको बताइन्छ।

सुरुमा अस्पतालको बारेमा नकारात्मक समाचारहरु आउन थालेपछि प्रहरी प्रधान कार्यालयले एआईजी सिंहसहितको टोली बोलाएर जानकारी लिई औपचारिकता मात्र निभाएको थियो। प्रहरी प्रमुखको कमजोर कमान्ड भएको कारण त्यतिबेला सिंहमाथि कसैले अनुसन्धान गर्ने आँट नै गरेनन्।

पछिल्लो समय चौतर्फी दबाबपछि आईजी क्षेत्रीले बाध्य भएर छानबिन समिति गठन गरेका थिए। गृहमन्त्रालयले ‘अल्टिमेटम’ नै दिएपछि आईजी क्षेत्रीले आफू निकटका सदस्यहरु राखेर समिति गठन गरेका हुन्।

तर, एआईजी पोखरेलको दबाबमा समितिले चित्त बुझ्दो प्रतिवेदन भने नबुझाएको छानबिन समितिकै एक सदस्यले जानकारी दिए। आईजी क्षेत्री र एआईजी पोखरेलले सिंहलाई कारबाहीबाट जोगाएको आरोप छ।

प्रतिक्रिया