
सनक, पपुलिज्म र सत्ता कब्जाको राजनीति: युक्रेनदेखि नेपालसम्मको चेतावनी
देश निर्माण दीर्घकालीन एजेन्डा, संस्थागत स्थायित्व र जिम्मेवार नेतृत्वबाट हुन्छ। तर पछिल्लो समय नेपालमा सामाजिक सञ्जालको बलमा उदाएका केही पपुलिस्ट पात्रहरूले राजनीति नै सनक, उत्तेजना र भावनात्मक उक्साहटको अभ्यासजस्तो बनाइरहेका छन्। यसले देशलाई अगाडि बढाउने हो कि विश्वको नक्साबाटै मेटिने दिशातर्फ धकेल्ने हो-गम्भीर प्रश्न उठेको छ।
यस सन्दर्भमा युक्रेनको सत्ता प्राप्ति र त्यसपछिको पतनकारी अवस्थालाई गम्भीर चेतावनीका रूपमा लिनु आवश्यक छ। युक्रेनमा भोलोदिमिर जेलेन्स्की एक सफल कमेडियन र टेलिभिजन स्टारका रूपमा लोकप्रिय थिए। ‘पुरानो राजनीतिक वर्गको विरोध’ नै उनको मुख्य एजेन्डा थियो। जनआक्रोशको लहरमा उनी सत्ता पुगे। तर सत्ता सम्हालिसकेपछि संस्थागत राजनीति, परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा जस्ता गम्भीर विषयमा अनुभवहीनता र भावनात्मक निर्णयको मूल्य देशले महँगो तिर्नुपर्यो। आज युक्रेन युद्ध, विभाजन र अस्थिरताको केन्द्रमा छ। सबै दोष एक व्यक्तिमा थोपर्न मिल्दैन, तर लोकप्रियता मात्र नेतृत्वको योग्यता होइन भन्ने पाठ युक्रेनले दिएको छ।
नेपालमा देखिएको प्रवृत्ति पनि यही दिशातर्फ संकेत गर्छ। नयाँ भनिएका नेताहरू—रवि लामिछाने र बालेन शाह-राजनीतिक एजेन्डाभन्दा आक्रोश र सनकको भाषामा बढी प्रस्तुत हुन्छन्। रवि लामिछानेको हिजोको छवि—पत्रकारितामा भावनात्मक उग्रता, उत्तेजक प्रस्तुति र ‘म एक्लै सही’ भन्ने मनोवृत्ति—आजको राजनीतिक भूमिकासँग मेल खान्छ कि खान्न? राज्य सञ्चालन भावनाबाट होइन, नीति र संयमबाट हुन्छ।
बालेन शाहको सन्दर्भ अझै चिन्ताजनक देखिन्छ। काठमाडौं महानगरमा केही साहसी निर्णय प्रशंसनीय भए पनि ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ जस्ता गैरजिम्मेवार अभिव्यक्तिले नेतृत्वको परिपक्वता प्रश्नमा पारेको छ। यस्तो भाषा केवल आवेग हो कि राज्यविरोधी सनक? जिम्मेवार व्यक्तिले प्रयोग गर्ने शब्द र संकेतले देशको दिशालाई असर गर्छ। राजनीति धम्की र आक्रोशको प्रतिस्पर्धा होइन।
बालेन शाहको सन्दर्भ अझै चिन्ताजनक देखिन्छ। काठमाडौं महानगरमा केही साहसी निर्णय प्रशंसनीय भए पनि ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ जस्ता गैरजिम्मेवार अभिव्यक्तिले नेतृत्वको परिपक्वता प्रश्नमा पारेको छ। यस्तो भाषा केवल आवेग हो कि राज्यविरोधी सनक? जिम्मेवार व्यक्तिले प्रयोग गर्ने शब्द र संकेतले देशको दिशालाई असर गर्छ। राजनीति धम्की र आक्रोशको प्रतिस्पर्धा होइन।
आज देखिँदै गएको रवि–बालेनको नजिकिँदो सम्बन्ध पनि सामान्य राजनीतिक सहकार्यभन्दा फरक देखिन्छ। यसको मिलनबिन्दु देश बनाउनेभन्दा सत्ता कब्जा गर्ने रणनीतिमा केन्द्रित देखिन्छ। साझा नीति, साझा विकास मोडेल वा दीर्घकालीन राष्ट्रिय एजेन्डा होइन—साझा शत्रु निर्माण, पुराना दलमाथि निरन्तर गाली र जनभावनाको दोहन नै उनीहरूको साझा सूत्र देखिन्छ।
विशेषगरी बालेनको लोकप्रियता प्रयोग गरेर रवि लामिछाने राष्ट्रिय सत्ता कब्जाको रणनीतिमा अघि बढिरहेको संकेत स्पष्ट छ। सामाजिक सञ्जालमा ‘एण्टी–सिस्टम’ भावनालाई उक्साएर राजनीतिको छोटो बाटो खोज्ने यो शैली खतरनाक हुन्छ। विश्वका धेरै देशमा यही बाटोले लोकतान्त्रिक संस्थालाई कमजोर बनाएको छ।
श्रीलंका, भेनेजुएला, ब्राजिल, इटाली—सबै ठाउँमा पपुलिस्ट नेताहरूले पुराना राजनीतिक शक्तिलाई गाली गर्दै सत्ता त पाए, तर स्पष्ट नीति र संस्थागत सम्मानको अभावले देशलाई संकटतर्फ धकेले। नेपाल पनि त्यही दोहोर्याउने अवस्थामा त छैन?
प्रश्न स्पष्ट छ-सनक, आक्रोश र सामाजिक सञ्जालको लोकप्रियताबाट बनेको नेतृत्वले देश अगाडि बढ्छ कि राज्य नै अस्थिर बन्छ? नयाँ अनुहार हुनु अपराध होइन। तर एजेन्डा बिना नयाँ हुनु, नीति बिना लोकप्रिय हुनु र जिम्मेवारी बिना उत्तेजक हुनु भने देशका लागि खतरनाक हुन्छ।
देशलाई नायक होइन, प्रणाली चाहिएको छ। गाली होइन, नीति चाहिएको छ। कब्जा होइन, निर्माण चाहिएको छ। यिनै मापदण्डमा आजका नयाँ भनिएका शक्तिहरूको मूल्याङ्कन नगर्ने हो भने, इतिहासले फेरि एकपटक हामीलाई कठोर पाठ सिकाउनेछ।



रोशनराज पाण्डेय |
