
मनमोहन प्राविधिक विश्वविद्यालयमा तनाव, केटी जिस्काएको आरोपपछि आन्दोलन
विराटनगर- मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीहरूबीच सुरु भएको सानो विवाद अहिले उग्र आन्दोलनमा परिणत भएको छ। केही दिनअघि पोलिटेक्निक अध्ययनरत छात्राहरूलाई केही छात्रहरूले जिस्क्याएको घटनापछि उत्पन्न तनाव अहिले विश्वविद्यालय प्रशासन र विद्यार्थीहरूबीचको प्रत्यक्ष द्वन्द्वको रूपमा देखिएको हो।
केटी जिस्काएको आरोपमा विश्वविद्यालय प्रशासनले अभिभावकहरूसँग छलफल गरेपछि ४ जना विद्यार्थीलाई १५ दिनका लागि कलेज प्रवेशमा रोक लगाउँदै निलम्बन गरेको विश्वविद्यालय स्रोतले जनाएको छ। उक्त निर्णयपछि निलम्बनमा परेका केही विद्यार्थी र उनीहरूका अभिभावकले आफूहरू निर्दोष रहेको दाबी गरेका छन्।
एक विद्यार्थीले आफू घटनामा संलग्न नै नरहेको बताए पनि अन्य विद्यार्थीहरूले भने उनको पनि संलग्नता रहेको दाबी गरेका छन्। यही विषयलाई लिएर विद्यार्थीहरू आक्रोशित बनेका हुन्। आक्रोशित विद्यार्थीहरूले विश्वविद्यालयको मुख्य गेट बाहिर टायर बालेर प्रदर्शन गरेका छन्, जसका कारण केही समय क्याम्पस क्षेत्र तनावग्रस्त बनेको थियो।
यद्यपि, प्रदर्शनका क्रममा कलेज परिसरभित्र भने ठूलो भौतिक क्षति नभएको विश्वविद्यालय प्रशासनले जनाएको छ। स्थिति बिग्रन नदिन प्रशासनले तत्काल एक सूचना जारी गर्दै अभिभावकहरूसँग पुनः छलफलका लागि बोलाउने तयारी थालेको छ।
विद्यार्थीहरू साँच्चै दोषी हुन् वा होइनन् भन्ने विषयमा थप स्पष्टता ल्याउन र समस्याको दिगो समाधान खोज्न वार्ताको बाटो रोजिएको विश्वविद्यालयले जनाएको छ। प्रशासनका अनुसार थप छलफलपछि मात्र निलम्बनको विषयमा अन्तिम निर्णय गरिनेछ।
हाल स्थिति सामान्य बनाउने प्रयास भइरहेको विश्वविद्यालयको भनाइ छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले विश्वविद्यालयमा देखिएको तनाव साम्य बनाउन प्रहरी परिचालन गरिएको जानकारी दिइन्।



कागजपत्र |
