मधेसमा डिआईजीको ‘कमाण्ड’ विवादित: तस्करी रोक्ने एसपी नै दबाबमा

खस्किँदै प्रहरीको मनोबल


जनकपुरधाम – मधेस प्रदेश प्रहरी संगठनभित्र नेतृत्वशैलीलाई लिएर गम्भीर असन्तुष्टि चुलिँदै गएको छ। प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत डीआईजीको निर्णय र निर्देशनले फिल्डमा खटिएका जिल्ला प्रहरी प्रमुखहरू नै दबाबमा परेको गुनासो बढ्दो छ।

सुरक्षा स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न कडाइ गरेका केही जिल्ला प्रहरी प्रमुखहरूलाई उल्टै स्पष्टीकरण सोधिने, आरोप लगाइने र स्थानान्तरणको त्रास देखाइने क्रम बढेको छ। ‘काम गर्नेभन्दा आदेश मान्ने संस्कृति हाबी हुँदै गएको छ,’ एक वरिष्ठ अधिकृतले भने, ‘तस्करी रोक्दा नै समस्या आउनु भनेको नेतृत्वको प्राथमिकता के हो भन्ने स्पष्ट संकेत हो।’

मधेसका प्रमुख नाकाहरूबाट हुने अवैध कारोबार रोक्न हालै गरिएको कडाइपछि प्रदेश तहबाट नाका खुला गर्न मौखिक दबाब आएको आरोप छ। यसले फिल्डमा खटिएका प्रहरीलाई अन्योलमा पारेको छ—कानुन कार्यान्वयन गर्ने कि आदेश मान्ने?

स्थानीय स्रोतहरूका अनुसार केही स्थानमा निगरानी बढाएपछि राजस्व चुहावट घटेको संकेत देखिए पनि, त्यसको निरन्तरता कमजोर पार्ने खालका निर्देशन आएको गुनासो छ।

प्रहरी संगठनको प्रभावकारिता नेतृत्व र फिल्डबीचको विश्वासमा टिकेको हुन्छ। तर अहिले मधेसमा देखिएको अवस्था फरक छ-निर्णय प्रक्रियामा पारदर्शिताको अभाव, कामको मूल्याङ्कनभन्दा ‘लाइन’ हेर्ने प्रवृत्ति, सक्रिय अधिकृत निरुत्साहित र निष्क्रियलाई सहज वातावरण। यसले समग्रमा जिल्ला प्रहरी कार्यालयहरूको कार्यक्षमता र मनोबल दुवै कमजोर बनाइरहेको देखिन्छ।

उक्त डीआईजीको कार्यशैली यसअघि पनि विवादमा परेको चर्चा सुरक्षा वृत्तमा नयाँ होइन। मुख्यालयबाट तानिएको अघिल्लो प्रसंग स्मरण गराउँदै एक अधिकारी भन्छन्, ‘समस्या व्यक्ति–केन्द्रित हो कि प्रणालीगत, गम्भीर समीक्षा आवश्यक छ।’

विशेषज्ञहरूका अनुसार यस्तो अवस्थाले तस्करी नियन्त्रण कमजोर पार्ने, अपराध नियन्त्रणमा असर पार्ने र निर्णय लिन हिच्किचाहट बढाउने खतरा हुन्छ। फिल्डमा ‘इनिसियटिभ’ घट्ने र जिम्मेवारीबाट पन्छिने प्रवृत्ति बढ्दा समग्र सुरक्षा व्यवस्थामै दीर्घकालीन असर पर्न सक्छ।

मधेस प्रदेशमा देखिएको यो विवाद केवल प्रशासनिक मतभेद होइन, प्रहरी संगठनको व्यावसायिकता र विश्वसनीयतासँग जोडिएको मुद्दा हो। यदि तत्काल पारदर्शी समीक्षा र स्पष्ट कमाण्ड चेन सुनिश्चित गरिएन भने, यसको असर सीमापार तस्करीदेखि आम सुरक्षा अवस्थासम्म गहिरो हुनसक्छ।

प्रतिक्रिया