
सेनाका पूर्वजर्नेल शर्मा मन्त्री बन्दै
काठमाडौं – नेपाली सेनाका पूर्वरथी(जर्नेल) बालानन्द शर्मा मन्त्री बन्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई आज दिउँसो २ बजे शपथ गराउने तयारी गरिएको छ।
शर्माले कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने विषय भने अहिलेसम्म टुंगो लागिसकेको छैन। तर स्रोतका अनुसार उनलाई रक्षा मन्त्रालय वा परराष्ट्र मन्त्रालयमध्ये कुनै एकको जिम्मेवारी दिइने सम्भावना प्रबल छ। यी दुवै मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आएकी छन्।
केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन प्रस्ताव गरेकी थिइन्। उक्त प्रस्तावमा शर्माले सकारात्मक जवाफ दिएपछि उनको मन्त्री नियुक्तिको प्रक्रिया अघि बढेको हो।
पूर्वरथी बालानन्द शर्मा सेना समायोजन विशेष समिति सचिवालयका संयोजकसमेत बनेका व्यक्ति हुन्। नेपाली सेनामा माओवादी लडाकुहरूको समायोजन प्रक्रियाका कुशल योजनाकारका रूपमा उनी चिनिन्छन्।
राजनीतिक दबाब र जटिल परिस्थितिका बीच करिब ३० हजार माओवादी लडाकुलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र सेनामा समायोजन गर्ने रणनीति तयार पार्नु तथा बाँकीलाई स्वेच्छिक अवकास रोज्न प्रेरित गर्दै निश्चित रकमसहित घर फर्काउने प्रक्रियामा शर्माको महत्वपूर्ण भूमिका रहेको बताइन्छ।
प्रधानमन्त्री नेतृत्वको सेना समायोजन विशेष समितिको सचिवालय संयोजकका रूपमा उनले जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए। त्यसपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारी पनि दिएको थियो।



कागजपत्र |
