२०२० मा बलिउडलाई ३५ सय करोड घाटा


मुम्बई(एजेन्सी)– सन् २०२० बक्सअफिस र बलिउडका लागि कुनै खराब सपना भन्दा कम रहेन । यो खराब सपना कहिले सकिन्छ भन्ने टुंगो पनि छैन । यो वर्ष पुरा ६ महिना भन्दा बढी समय फिल्म हल बन्द भए र जब खुले, फिल्म हेर्ने दर्शक नै आएनन् । कोभिड–१९ को विश्व महामारीको प्रभाव बलिउडमा पनि उत्तिकै पर्यो । सन् २०२० समापनको नजिक आइपुगेको छ । यही परिप्रेक्ष्यमा व्यापार विश्लेषकहरुले यो वर्ष फिल्म उद्योगमा ३५ सय करोडको घाटा भएको बताएका छन् ।

अनलाइन पोर्टल कोईमोईले तयार पारेको एक रिपोर्ट अनुसार सन् २०२० को जनवरीदेखि मार्चको बीचमा केवल १५ फिल्म मात्र रिलिज भए । जसमा केवल ५ फिल्म मात्र सफल भए । यो समयमा ‘तान्हाजी’ (२८० करोड), ‘बागी–३’ –९५ करोड), ‘स्ट्रीट डान्सर ३डी’ (७५ करोड), ‘शुभ मंगल ज्यादा सावधान’ (६० करोड) र ‘मलंग’ (५९ करोड) मात्र सफल फिल्मको सूचीमा परे । तर यी फिल्महरु धेरै समय हलमा रहेनन्, जसकारण पनि उनीहरुको कमाईमा असर पर्यो ।

यी फिल्मबाहेक ‘लव आजकल–२’, ‘छपाक’, ‘थप्पड’, ‘भूतः द हन्टेड शिप’, ‘जवानी जानेमन’, ‘पंगा’ र ‘अंग्रेजी मिडियम’ जस्ता कैयौं फिल्म रिलिज भए, जसले बक्सअफिसमा केही कमाल देखाउन सकेनन् । यिनीहरुकै कारण पहिलो तीन महिनामा बक्सअफिसको कलेक्सन मुस्किलले ७ सय ८० करोड छेउमात्र पुग्यो । यदी ‘बागी–३’ र ‘अंग्रेजी मीडियम’ केही समयका लागि मल्टिप्लेक्समा चलेको भए यो आँकडाले ८ सय करोड पार गर्ने थियो ।

यो वर्षको सबैभन्दा निराश गराउने कुरा यो रह्यो कि अप्रिलदेखि सेप्टेम्बरसम्म फिल्म हल पूर्ण रुपमा बन्द भए । यसबाहेक बचेका महिनामा ‘सूरज पे मंगल भारी’ र ‘८३’ का अलावा कुनै पनि ठूलो फिल्म रिलिजको आशा गरिएको छैन । गत वर्ष हिन्दी फिल्म रिलिज हुँदा फिल्म उद्योगको आय ४४ सय करोड भएको थियो । यसमा कैयौं फिल्म थिए, जो सय करोड देखि लिएर २ सय करोड कमाउने सूचीमा परेका थिए । यसमा ‘केसरी’, ‘टोटल धमाल’, ‘छिछोरे’, ‘दबंग–३’, ‘ड्रीम गर्ल’, ‘गली बोय’ र ‘बाला’ जस्ता फिल्म थिए ।

यो समयमा अक्षय कुमारको तीन फिल्म ‘हाउसफूल–४’, ‘मिसन मंगल’ र ‘गुड न्यूज’ले २ सय करोडको कारोबार गरेको थियो । सलमान खानको फिल्म ‘भारत’ले पनि कारोबारमा डबल सेन्चुरी हिर्कायो । शाहिद कपूरको ’कवीर सिंह’ र विकी कौशलको ‘उरीः द सर्जिकल स्ट्राइक’ तीन सय करोड क्लबमा सहभागी भए । ऋतिक रोशन र टाइगर श्राफको ‘वार’ले तीन सय करोडको कारोबार गरेको थियो ।

गत वर्षको तुलनामा यो वर्ष बक्सअफिसमा ठूलो गिरावट आएको छ । अब एकमात्र आशा यो छ कि जे जसो गरेर भए पनि बाँकी महिना कुल कलेक्सन १ हजार करोडको आँकडामा पार गर्नुपर्ने हुन्छ । यदी यस्तो भएन भने बलिउडले करिब ३५ सय करोड घाटा व्यहोर्नुपर्नेछ । यदि पछिल्लो चार वर्षको कुरा गर्ने हो भने सन् २०१६ मा कुल ३ हजार करोड, २०१७ मा ३ हजार दुई सय करोड, सन् २०१८ मा ३ हजार ६ सय करोड र सन् २०१९ मा ४ हजार ४ सय करोडको वार्षिक कमाई गरेको थियो । यही आँकडा हेरेर सन् २०२० मा बलिउडले ४ हजार ५ सय करोडको आँकडा नघाउने अनुमान गरिएको थियो । तर कोरोना कहरले त्यसमा पूर्ण रुपमा रोक लगाइदियो । यस्तो अवस्थामा अक्षय कुमारको ‘सूर्यवंशी’, सलमान खानको ‘राधेः योर मोस्ट वान्टेड भाई’, आमिर खानको ‘लाल सिंह चड्ढा’, रणबीर कपूरको ‘ब्रह्मस्त्र’ र ‘शमशेरा’, अजय देवगनको ‘मैदान’, जोन अब्राहमको ‘सत्यमेव जयते– २’ र ‘मुम्बई सागा’बाट आशा गरिएको थियो । तर कोरोनाको डरले यी फिल्मलाई अर्को वर्ष सारिएको छ । यसबाहेक ‘भूल भुलैया–२’, ‘दोस्ताना–२’ र ‘शेरशाह’ पनि आगामी वर्ष रिलिज हुने निश्चित भइसकेको छ ।

प्रतिक्रिया