बालिकाको अपहरण गर्ने युवकलाई प्रहरीले गोली हानी लियो नियन्त्रणमा


बुटवल – रुपन्देहीको तिलोत्तमामा घरमा सुतेकी १० वर्षीया बालिकालाई अपहरण गरेका युवालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । तिलोत्तमा नरपालिका–१७, दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई शनिबार राति जंगलबाट पक्राउ गरिएको हो ।

बालिका अपहरणपछि फरार थारुलाई खोजी गर्ने क्रममा प्रहरीले उनलाई तिलोत्तमाकै कान्छी बजारस्थित जंगलबाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली चलाइएको थियो । गोली लागेर उनको खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

थारुले बुधबार राति तिलोत्तमाकी १० वर्षीया बालिकालाई घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरेको प्रहरीले जनाएको छ । राति करिब २ बजेतिर बालिकालाई कपडा ओढाइदिन उनकी हजुरआमाले खोज्दा नभेटाएपछि बालिका अपहरणमा परेको थाहा भएको थियो ।

बालिका हराएको सूचना पाएलगत्तै प्रहरीले बिहीबार बिहानदेखि गाउँ आसपास तथा स्थानीय जंगल क्षेत्रमा खोजी सुरु गरेको थियो । खोजीका क्रममा अपहरणमा संलग्न व्यक्तिको पहिचान गर्ने आधार प्रहरीले फेला पारेको थियो ।

प्रहरीले शुक्रबार साँझ ७ बजे कान्छी बजारस्थित जंगलबाट बालिकालाई अपहरण भएको करिब ३८ घण्टापछि सकुशल उद्धार गरेको थियो ।

प्रतिक्रिया