‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि प्रयासनालाई, बिनिता बनिन् ‘मिस अर्थ नेपाल’


काठमाडौं- सौन्दर्य, बौद्धिकता र सशक्तिकरणको भव्य उत्सवबीच ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि २४ वर्षीया प्रयासना गुरुङले जितेकी छन्।

काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा आयोजित भव्य ‘ग्रान्ड फिनाले’मा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले मिस युनिभर्स नेपालको प्रतिष्ठित ताज आफ्नो शिरमा सजाएकी हुन्।

त्यसैगरी, सोही मञ्चबाट झापाकी २७ वर्षीया बिनिता ओलीले ‘मिस अर्थ नेपाल २०२६’ को ताज पहिरिन सफल भइन्। ग्ल्यामरस वातावरण र भव्य उपस्थितिबीच सम्पन्न भएको यस प्रतियोगितामा देशभरबाट छनोट भएका ११० जना प्रतिस्पर्धीहरूमध्ये उत्कृष्ट १४ जनाले फिनालेको मञ्चमा प्रतिस्पर्धा गरेका थिए।

फिनालेको माहौललाई थप ग्ल्यामरस र प्रतिष्ठित बनाउन बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलीना जेटली र चर्चित मोडल मनिका विश्वकर्मा मुख्य निर्णायकका रूपमा मञ्चमा उपस्थित थिए।

यस्तै, प्रतियोगितामा ‘युनिभर्सल ओमन नेपाल’को उपाधि भने ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीलाई घोषित गरियो।

बेलायतमा बसोबास गर्दै आएकी मिस युनिभर्स नेपाल विजेता प्रयासना गुरुङ एक महिला सशक्तिकरणकी अभियान्ता हुन्। उनले आफ्नै पहलमा ‘द डिग्निटी प्रोजेक्ट’मार्फत नेपाली महिलाहरूलाई मेक-अप, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता र उद्यमशीलता जस्ता जीवनउपयोगी सीपहरू निःशुल्क अनलाइन कार्यशालाहरूमार्फत प्रदान गर्दै आएकी छन्। महिला सशक्तिकरणको आफ्नो अभियानलाई थप प्रभावकारी बनाउन नै उनी यो प्रतियोगितामा सहभागी बनेकी हुन्।

उता मिस अर्थ नेपाल जितेकी बिनिता ओली भने अन्तर्राष्ट्रिय क्याबिन क्रुको अनुभव हासिल गरेर नेपाल फर्किएकी प्रतिभा हुन्। कुवेत एयरवेजमा केही वर्ष काम गरिसकेकी बिनिता हाल मनोविज्ञान दोस्रो वर्षमा अध्ययनरत छिन्। उनको भविष्यमा एक कुशल थेरापिस्ट र सामाजिक अभियन्ता बन्ने लक्ष्य रहेको छ।

यो जितसँगै दुवै सुन्दरीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउने अवसर पाएका छन्। मिस युनिभर्स नेपाल प्रयासना गुरुङले पोर्तो रिकोमा आयोजना हुने विश्व प्रसिद्ध ‘मिस युनिभर्स’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने मिस अर्थ नेपाल बिनिता ओलीले फिलिपिन्सको मनिलामा हुने ‘मिस अर्थ’ प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन्।

 

प्रतिक्रिया