राजनीति र वेश्यावृत्तीमा अनुभवी भन्दा नयाँ नै उत्तम
१४ बर्ष जेल बसेका र १० बर्ष भूमीगत जीवनको राजनीति गरेकाहरूको अनुभवको हावा १४ घन्टाका लागि काठमाडौं उत्रिएको एउटा कनिष्ठ कर्मचारीले उडाइदिन्छ । यो उदाहरण आजका दिनमा मात्र देखिएको होइन । तत्कालिन भारतीय विदेश सचिव, हालका विदेशमन्त्री एस जय शंकर आएका बेला पनि देखिएको थियो । सामन्त गोयल आए अनि गए त्यो चर्चा तातै छ ।
नेपालमा भारतीय दलाल भन्ने राजनीतिक परम्परा छ । भारतविरोधी राष्ट्रवाद बलियो छ । स्वभाविक रुपमा भारतले खुला हिसाबले गर्ने अनेक व्यवाहारको बिम्बले त्यो देखाउँछ । उसले नेपाललाई गर्ने डोमिनेन्ट शैली, छोटा भाई भन्ने, असमान व्यवाहार गर्ने प्रचलनले आम नागरिकको छाती पोल्नु अस्वभाविक होइन ।
राजनीतिमा दलाल को हो ? भन्ने विषयमा नेपालमा एक प्रकारको डिस्कोर्स खडा गरिएको छ । जस्तो डा. बाबुराम भट्टराई जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गरेको र भारतमा बसेर राजनीतिक गरेका कारण उनलाई ‘भारतीय दलाल’ भनिदिने प्रचलन छ । पुष्टि र प्रमाण कसैले पनि दिन सक्तैन । खास अर्थमा नेपालको शिर्ष तहको नेतृत्वको मुटु सबै भारत नै गन्हाउँछ । तर बासनादार नेपाल कसरी बनाउने भन्ने सोचले पनि त जरा गाड्नुपर्ने होइन र ?
यो दलाल भनिरहँदा भारतमै पनि एउटा डिस्कोर्स स्थापित गर्न खोजिएको छ, भारतीय जनता पार्टीको सरकार आएपछि । त्यहि जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गरेका कम्युनिस्ट युवा नेता कन्हैया कुमारलाई चिनियाँ र पाकिस्तानी एजेन्ट भन्छन्, त्यहाँका सत्ताधारीहरू । सत्ताविरुद्ध उक्त विश्वविद्यालयमा धेरै नै प्रदर्शन र राजनीति हुने भएकाले सत्ताले ‘पाकिस्तानी, चिनियाँ’ भन्ने आरोप लगाउँछन् । राजनीतिमा पुष्टि गर्नुपर्ने नभएकाले, हौवा पिटाएर बदनाम गर्नुपरेकाले यो डिस्कोर्समा कुरा हुन्छ । त्यसो भए त्यहि विश्वविद्यालय पढेका डा. भट्टराईलाई भारतीय दलाल किन भन्ने ? भारतीयले त्यहि विश्वविद्यालयमा रहेकालाई पाकिस्तानी, चिनियाँ भनेपछि डा. भट्टराईलाई त्यो कसीमा राखेर भन्दा भैगो नि !
राजनीतिमा यस्ता प्रकारका ‘नटवरलाल’शैलीका हल्लाको व्यापकता बौद्धिक तराजुले विश्लेषण गर्दा सबै हौवा र हल्ला हुन् । राजनीतिक गसिपका लागि गरिने मिडिया ट्रायल हुन् । आम मानिससम्म पुग्ने भ्रमपूर्ण सूचना र त्यसले बनाउने दिग्भ्रमित धारणा हो । यी विषय नेपालसँगको सन्दर्भमा किन जोडिन्छन् भने भारतीय सत्तासँग झुकाव राख्ने कि समानान्तर लड्ने भन्ने प्रश्न र बहस जीवित छन् ।
लक डाउनका समयमा कालापानी, लिपुलेक, लिम्पियाधुरा सम्बन्धी विषयले ठूलो चर्चा पायो । भारतले ति क्षेत्र समेटेर नक्शा जारी गरेपछि नेपालमा एक प्रकारको राजनीतिक डिस्कोर्स थियो । सायद नेकपाभित्र प्रधानमन्त्री ओली कमजोर बनिरहेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो डिस्कोर्सलाई बदल्नका निम्ति नयाँ नक्शा मन्त्रिपरिषदबाट पारित गराए र सदन छिराएर अनुमोदन गराए । राष्ट्रवादको राजनीतिले उनको सत्ता निरन्तरता भयो । अर्को, भारतले हटाउन खोजेको भन्ने अभिव्यक्ति दिए केही महिना त्यहि तरङ्गमा बित्यो । थपचाहिँ भानुभक्तको जन्मजयन्तीमा भानुटोपी लाएर अयोध्या नेपालमा छ भनिदिए, नेपालमा राम जन्मेका हुन् भन्ने चर्चा चलाइदिए ।
राजनीतिक नाफा र मुनाफाका निम्ति यी र यस्ता आधारहिन हो–हल्ला हुन् भन्ने विषयलाई फेरि उनैले प्रमाणित गर्न हालै जारी भएको नयाँ नक्शाको पाठ्यक्रम विद्यार्थीलाई नपढाउने भन्ने निर्णय काफी छ । नेकपामा शीर्ष भनिएका नेताले विरोध गर्दा वा आलोचना गर्दा गुटगत प्रश्न उठाइन्छन् । तर भोलीको पुस्ताको नेतृत्व गर्ने आजको युवाको तर्क, समर्थन र हौसाहटलाई प्रश्न गर्न आवश्यक छ ।
नेपोलियन बोर्नापार्ट भन्छन्– युद्ध र वेश्यावृत्तीमा अनुभवी भन्दा नयाँ नै उत्तम हुन्छन् । अनुभवी नेताले सत्तालाई दोहनको वेश्यावृत्ती बनाए, जनतालाई आजित पारे । बोर्नापार्टको यो युगिन भनाईलाई अलिकति मोडिफाई गरी नेपाली राजनीतिमा अप्लाई गर्नुपर्छ । अब युद्धको एउटा युगलाई शान्तिमार्फत टुंगो लगाएका कारण भन्नुपर्छ– राजनीति र वेश्यावृत्तीमा अनुभवी भन्दा नयाँ नै उत्तम हुन्छन्
आजको युवा पुस्ता आलोचनात्मक समर्थन गर्न सक्तैन । चाकरीका सीमाहिन यात्रामा छ । हरेक दलमा देखिने युवा संगठन र नेतृत्वको वैचारिक लाइन भन्दा पनि हुक्के, ढोकेलाइनको व्याख्या र अवसर छ । सानो अवसरका लागि गल्ती गरेको नेतृत्वलाई सच्याउने होइन, त्यो गल्तीलाई नै सत्य भनी हौसाउने लयमै छ । यस्तो राजनीतिक शिल्पले मुलुकमा कुनै तानाशाहीको अन्त्यसँगै अर्को तानाशाहीको प्रतिस्थापन गर्ने हावा भर्छ ।
हुनसक्छ राजनीतिक दाउपेचमा इमानी बन्न कठिन होला । तर विकास, जनजीविकाका सवालमा नीति र त्यसका अनेक बुँदालाई मात्र कार्यान्वयन गरिदिँदा जनता खुसी हुन्छन् भन्ने उदाहरण पर्याप्त छन् । जनजीविकाको सवालमा आइपर्ने समस्याका साना त्यान्द्रालाई आम साधारणले समाधानमुखी हेर्न चहान्छ, कुटनीतिक ठूलो परियोजनाका सैद्धान्तिक मान्यता वा प्रश्नहरूमा आम मानिस रुमल्लिने अवसर नै खोज्दैन । दुर्भाग्यवस भन्नुपर्छ– स–साना त्यान्द्राहरू हटाउने होइन बरु अरु बढाउने खेल जब सत्ता सम्हाल्नेहरूले खेल्छन् त्यसबेला आम साधारण निराश हुनु अस्वभाविक होइन ।
दूधले नुहाएको कोही छैन । पहिलो संविधानसभामा प्रधानसेनापति प्रकरणमा सत्ताबाट बाहिरिनुपरेपछि पुष्पकमल दाहाल प्रचण्डले भारतले हटायो भनेका हुन् । त्योसँगै नागरिक सर्वोच्चताको आन्दोलन भनी भारतविरोधी राष्ट्रवाद देखाउँदै नागरिकलाई गुमराहमा राख्ने कोशीश भयो । फेरि डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनका निम्ति भारतीय नै भनी आरोप लगाइएका, त्यो डिस्कोर्समा चित्र कोरिदिएका नेपालका मधेसी दलसँगको सहकार्य अनिवार्य भयो । को भारतीय दलाल ? प्रश्नले चिमोट्छ ।
लोकतान्त्रिक आन्दोलनयता नेपालको राजनीतिक दल को कसरी विभक्त भए र कहाँ पुगे भन्ने सवाल होइन । यो डेढ दशक हुनै लाग्दा ति दलका सत्ताचरित्र कस्ता देखिए, के परिवर्तन भए र कस्ता सत्ताचरित्र देखिँदैछन् भन्ने प्रश्न हो । भारतविरोधी राष्ट्रवादको बहुमत र अल्पमतको खेलमा नेपाली सत्ता कसरी टिक्छ भन्ने विषयमा प्रधानमन्त्रीले गोयलसँग गोप्य भेट गरेको भनी आएका समाचार र टिप्पणीले स्पष्ट पार्दछ । चित्रहिन देशमा चरित्रहिन राजनीति गर्ने मानिसहरूलाई नेतृत्वमा राखेर गुलामीतन्त्रमा रमाउने र टिकाटिप्पणीमा अभ्यस्त हुने कि परिवर्तन गर्ने ? यो मूल प्रश्न हो ।
नेपोलियन बोर्नापार्ट भन्छन्– युद्ध र वेश्यावृत्तीमा अनुभवी भन्दा नयाँ नै उत्तम हुन्छन् । अनुभवी नेताले सत्तालाई दोहनको वेश्यावृत्ती बनाए, जनतालाई आजित पारे । बोर्नापार्टको यो युगिन भनाईलाई अलिकति मोडिफाई गरी नेपाली राजनीतिमा अप्लाई गर्नुपर्छ । अब युद्धको एउटा युगलाई शान्तिमार्फत टुंगो लगाएका कारण भन्नुपर्छ– राजनीति र वेश्यावृत्तीमा अनुभवी भन्दा नयाँ नै उत्तम हुन्छन् । हामी नयाँ राजनीतिको सुरुआत अथवा अभ्यासको महाकुम्भ गर्ने अवस्थामा पुगिसक्यौं । ७०–८० बर्षको प्रजातान्त्रिक इतिहास भए पनि बारम्बार सत्ता समिकरण र व्यवस्था परिवर्तनको खेलमा विकासशीलसम्म हुन नसकेको मुलुकका जनताले के रोज्ने ?
अब, नयाँ रोज्ने । नयाँ खोज्ने । उर्जाशील र माटो सुहाउँदो अवस्था खोज्ने । लोकतन्त्रमा यस्ता चिज भेटिए भने तालाचाबी जिम्मा लगाउने भेट्नै सकिएन भने माटो सुहाउँदो व्यवस्था पनि खोज्नुपर्ने हुन्छ । राष्ट्रवादको भावनाको रक्तचरित्र देखाउनेहरूबाट अवस्था परिवर्तन सम्भव छैन, अब त्यो भावनाको कदर गर्ने, जनताको मान राख्ने नयाँ र विकल्प नै रोज्नु उत्तम हुन्छ । प्रविधिको यो ठूलो फड्कोको हिस्सेदारीमा रहेका हरेक नेपालीले आगामी चुनावमा घोत्लिनु जरुरी छ । चिनेका, देखिएका छाप र चिन्ह होइन, राम्रा र नयाँलाई अब जिम्मा दिनैपर्छ । यो एक दिनका लागि तय गरेको मत हाल्ने वैयक्तिक निर्णयको अधिकारले ५ बर्ष र त्यसपछिका बर्षान्तरका भविष्यलाई निर्धारण गर्छ । बुझ्न आवश्यक छ ।