भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल


काठमाडाैं- पाकिस्तानसँगको हालैको द्वन्द्वपछि विवादित हिमालय क्षेत्र कश्मीरमा पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार श्रीनगर पुगेका छन्।

मोदीले जम्मु-कश्मीरको रियासी जिल्लामा चिनाब नदीमाथि बनेको विश्वकै अग्लो रेल आर्च पुलको शुक्रबार उद्घाटन गरेका छन्।

उनले त्यहाँबाट चिनाब पुल, अञ्जी पुल र कटराबाट कश्मीरसम्मको पहिलो वन्दे भारत रेललाई हरियो झण्डा देखाउँदै सञ्चालनमा ल्याए । प्रधानमन्त्री मोदी २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि पहिलोपटक कश्मीर पुगेका हुन्।

४२ मिनेटको सम्बोधनमा प्रधानमन्त्री मोदीले आतंकवाद, पाकिस्तान, कश्मीरको पर्यटन र विकासबारे बोले । ‘२२ अप्रिलमा पाकिस्तानले पहलगाममा मानवता र कश्मीरीमाथि हमला गर्‍यो। हामीले ६ मेमा त्यसको जवाफ कयामतले दियौं।’

उनले पहलगाममा भएको हमला कश्मीरको आमदानी स्रोत, विशेषगरी पर्यटकहरूमाथि लक्षित रहेको बताए । उक्त आम्दानीले स्थानीय मजदुर र व्यवसायीको रोजगारी धानेको पनि उनले उल्लेख गरे ।

यो पुल बनेसँगै अब नयाँदिल्लीबाट कश्मीरसम्म वन्दे भारत रेल जाने भएको छ। कटरा–श्रीनगर वन्दे भारत एक्सप्रेस ७ जुनदेखि चल्ने भएको छ। यस रेलमार्गले जम्मु–कश्मीरबीचको १० घण्टाको यात्रालाई मात्र ३ घण्टामा झारेको छ ।

पुल ३५९ मिटर अग्लो छ । जुन फ्रान्सको एफिल टावरभन्दा अग्लो हो । अब यो पुल विश्वकै अग्लो आर्च रेल पुलका रूपमा चिनिएको छ ।

यो पुलले ३२७ किमी प्रतिघण्टा गतिसम्मको हावामा पनि सहनसक्ने क्षमता राख्दछ। भूकम्प प्रतिरोधी, विस्फोट प्रतिरोधी, अत्यन्तै कठिन भौगोलिक परिस्थितिमा यो पुल निर्माण गरिएको हो ।

प्रतिक्रिया