पहिलो दीक्षान्त समारोह गर्दै राजर्षि जनक विश्वविद्यालय


काठमाडौं – राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह जेठ २७ गते हुने भएको छ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मंगलबार हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम तय भएको हो।

विश्वविद्यालयको पहिलो तथा ऐतिहासिक दीक्षान्त समारोहलाई भव्य बनाउन रजिष्ट्रार सत्यनारायण साहको संयोजकत्वमा डीन, परीक्षा नियन्त्रण, सह-नियन्त्रक तथा कर्मचारी सम्मिलित १५ सदस्यीय मूल समिति गठन गरिएको छ । साथै, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी सम्मिलित १६ वटा उपसमिति बनाइएको छ।

केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रका अनुसार स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण तीन ब्याचका ११५ विद्यार्थी दीक्षित हुन लागेका हुन्। २०८२ साल जेठ ५ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण गरी ट्रान्सकृप्ट लिइसकेका विद्यार्थीहरूले दीक्षित हुन फारम भर्न पाउने पनि केन्द्रले जनाएको छ । दीक्षित हुने विद्यार्थीले दुई जनासम्म अभिभावकलाई पनि समारोहमा सहभागी गराउन सक्ने व्यवस्था मिलाइएको छ।

समारोहमा विश्वविद्यालयस्तरमा उत्कृष्ट हुने चार, विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०-१० विद्यार्थीलाई पदकसमेत प्रदान गरिने सहपरीक्षा नियन्त्रक दिलिपकुमार यादवले जानकारी दिए।

विश्वविद्यालयका उपकुलपति प्राडा अमरप्रसाद यादवले यो विश्वविद्यालयको पहिलो र ऐतिहासिक दीक्षान्त समारोह रहेकाले यसलाई स्मरणीय बनाउनेगरी तयारी भइरहेको जानकारी दिए। ‘यो समारोहले विश्वविद्यालयको गरिमा र भविष्यको मार्गचित्र प्रस्तुत गर्नेछ’, उनले भने, ‘सफल बनाउन सम्पूर्ण विश्वविद्यालय परिवार एकजुट भएर लागिरहेका छौँ।’ ​रजिष्ट्रार सत्यनारायण साहले विश्वविद्यालयको दीक्षान्त समारोह मधेश प्रदेशवासीका लागि गौरवको विषय भएको बताए।

दीक्षान्त समारोहअघि प्रधानमन्त्री एवं कुलपति ओलीको अध्यक्षतामा विश्वविद्यालय सभा (सिनेट) को बैठक बस्ने कार्यक्रमसमेत रहेको छ। संघीय सरकार मातहतको यो विश्वविद्यालयमा हाल चार संकायका १३ वटा शैक्षिक कार्यक्रम सञ्चालन छन्, जसमा एमफिल, एमबीए, बीबीए, बीडीबीएम, बीई-सिभिल, बीआईटी, बीसीए, बीएस्सी-सीएसआईटी, बीपीएच, बीएस्सी-एमएलटी, बीएस्सी-एजी, बीए-एलएलबी र बीजेएमसी छन्।

यो विश्वविद्यालय मातहत पाँच वटा आंगिक क्याम्पस छन् भने हालै देशका ६८ वटा कलेजले सम्बन्धन लिएका छन् । यो विश्वविद्यालय २०७४ कात्तिक १२ गते स्थापना भएको हो।

 

प्रतिक्रिया