तरलता अभाव चर्किँदै जाँदा अन्तरबैंक ब्याजदर पाँच वर्षयताकै उच्च


काठमाडौं – बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव चर्कदै गएको छ । तरलता अभाव बढ्दै जाँदा अन्तरबैंक ब्याजदर पाँच वर्षयताकै उच्च देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार हाल अन्तरबैंक ब्याजदर ६.९६ प्रतिशत छ । फागुन १५ गते भने अन्तरबैंक ब्याजदर ६.९८ प्रतिशत थियो । यसभन्दा अघि १४ माघ ०७३ मा यो दर ६ दशमलव ५ प्रतिशत थियो । यस्तै ३० पुस ०७५ मा यो ६ दशमलव २४ प्रतिशत थियो ।

गत माघ २८ गते अन्तरबैंक ब्याजदर ५.०२ प्रतिशत थियो । त्यसपछि घटेर ५ प्रतिशतभन्दा तल रहेको अन्तरबैंक ब्याजदर बढेर २ सातामा ७ प्रतिशतको हाराहारीमा पुगेको हो । यसले पनि बैंकहरुमा तरलता संकट चुलिएको देखाउँछ । राष्ट्र बैंकले मौद्रिक नीतिमा कर्जा निक्षेप अनुपात (सीडी) रेसियो असार मसान्तमा ९० प्रतिशतसम्म पुर्याउन पाउने व्यवस्था गरेको छ । तर अहिले कतिपय बैंकहरुको सीडी रेसियो ९५ प्रतिशतको हाराहारीमा रहेको छ ।

समग्र प्रणालीमा सीडी रेसियो १६ गतेसम्म ९०.३६ प्रतिशत छ । राष्ट्र बैंकलाई अनुरोध गर्ने, राष्ट्र बैंकले पैसा पठाउन समय लाग्ने भएकाले बैंकलाई आवश्यक पर्ने रकम अन्तरबैंकबाट तत्काल पैसा लिएको कारण अन्तरबैंक ब्याजदर ६.९६ प्रतिशत पुगेको देखिएको छ । वित्तीय संस्थाहरूले चालू आवको ६ महिना (पुस)सम्मको अवधिमा मात्रै १८ खर्ब ३९ अर्ब रुपैयाँ अन्तरबैंक सापटी लिएका छन् । यस्तो सापटीको अवधि सात दिनका लागि मात्रै हुने गर्छ ।

हाल बैंकिङ प्रणालीमा आउटराइट पर्चेज गरेको भएर ३८ अर्ब रुपैयाँ मात्रै अधिक तरलता छ । बैंकहरूले तरलता समस्या बढिरहँदा राष्ट्र बैंकबाट उच्चदरमा स्थायी तरलता सुविधा (एसएलएफ) लिँदै आएका छन् । चालू आवमा हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले ३९ खर्ब ३९ अर्ब रुपैयाँबराबरको यस्तो सुविधा लिएका छन् । एसएलएफको ब्याजदर बढेपछि सापटी लिने दर केही सुस्त भएको छ ।

बैंकिङ तरलता के हो ?

निक्षेपकर्ताले मागेको बखत नगद दिन सक्ने बैंकको क्षमता नै तरलता हो । बैंक तथा वित्तीय क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पुँजीका रूपमा बुझ्ने गरिन्छ । बैंकमा व्यक्ति तथा विभिन्न संघसंस्था, कम्पनी, संस्थान आदिबाट संकलन हुन आएको रकम चल्ती, मुद्दती तथा निक्षेप खातामा जम्मा भएको हुन्छ र उनीहरूले मागेको समयमा ब्याजसहित रकम भुक्तानी गर्नुपर्ने दायित्व स्वयं बैंकको हुन्छ ।

यसरी सर्वसाधारणले बैंकमा राखेको निक्षेप, बैंकहरूले केन्द्रीय बैंकमा राखेको रकम, बजारमा खरिद–बिक्री भइरहने वित्तीय उपकरण र सुनचाँदीजस्ता बहुमूल्य धातुमा अत्यधिक तरलताको गुण रहेको हुन्छ । साथै, कुनै पनि वित्तीय सम्पत्ति सजिलै खर्चयोग्य रकममा रूपान्तरण गर्न सकिने अवस्थालाई बजारको तरलता भनिन्छ ।

कुनै पनि देशको अर्थतन्त्रमा तरलता, ब्याजदर र मुद्रास्फीतिको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । तरलता बढ्यो भने ब्याजदर घट्छ र मुद्रास्फीति बढ्छ । साथै, तरलतामा संकुचन आयो भने ब्याजदर बढ्छ र मुद्रास्फीतिमा दबाब कम हुन्छ ।

प्रतिक्रिया