
विदेश पढ्न गएका विद्यार्थीले १० महिनामा लगे एक खर्ब १२ अर्ब
काठमाडौं- पढ्न विदेश जाने नेपाली विद्यार्थीहरूका कारण चालु आर्थिक वर्षका १० महिनामै देशबाट एक खर्बभन्दा बढी रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार (जेठ २७) सार्वजनिक गरेको तथ्यांकअनुसार, ०८१ साउन १ देखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा विद्यार्थीहरूका नाममा मात्र एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ मुलुकबाट बाहिरिएको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विद्यार्थी अध्ययन प्रयोजनमा एक खर्ब चार अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो। यो सन्दर्भमा चालु वर्षमा ८ अर्ब १० करोड रुपैयाँले बृद्धि भएको छ।
राष्ट्र बैंकका अनुसार, ती १० महिनामा विदेश गएका नेपालीहरूका नाममा कुल एक खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ बाहिरिएको छ। यसमध्ये सबैभन्दा ठूलो हिस्सा अध्ययन प्रयोजनमा गएको हो।
साथै, यस अवधिमा मुलुकबाट बाहिरिएको भ्रमण खर्च (ट्राभल खर्च) अघिल्लो वर्षको तुलनामा १७.९ प्रतिशतले बढेको देखिएको छ। २०८०/८१ को १० महिनामा यो खर्च एक खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ थियो।



कागजपत्र |
