
वैशाखमा रेमिट्यान्स आप्रवाहको कीर्तिमान: एक महिनामै १ खर्ब ६५ अर्ब
काठमाडौं- नेपालमा रेमिट्यान्स (विप्रेषण) आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो एक महिनामै हालसम्मकै उच्चतम रेमिट्यान्स हो।
यसअघि कुनै पनि महिनामा यति धेरै रेमिट्यान्स भित्रिएको थिएन। वैशाख महिनासँगै चालु आवको पहिलो १० महिनामा कुल १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले बढी हो। अघिल्लो आवमा सोही अवधिमा १६.९ प्रतिशतले वृद्धि भएको थियो।
गत वर्ष वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ मात्र भित्रिएको थियो। अमेरिकी डलरमा हेर्दा रेमिट्यान्स आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड डलर पुगेको छ, जबकि अघिल्लो वर्ष १४.८ प्रतिशतले वृद्धि भएको थियो।



कागजपत्र |
