


कैलालीमा सर्पको टोकाइबाट शिक्षक र बालिकाको मृत्यु

कैलाली- कैलालीमा सर्पको टोकाइका कारण एकै दिन दुई जनाको ज्यान गएको छ। निधन हुनेमा एक जना विद्यालयकी शिक्षिका र अर्की पाँच वर्षीया बालिका छन्।
गोदावरी नगरपालिका–८ स्थित श्रीपुर प्रावि तहमा कार्यरत शिक्षिका पार्वती अवस्थीको बिहीबार सर्पको टोकाइबाट निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी उपमहानगरपालिका–३ बोराडाँडीकी ४२ वर्षीया अवस्थीलाई सर्पले टोकेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको ज्यान गएको हो।
त्यसैगरी गोदावरी नगरपालिका–९ बल्मीकी ५ वर्षीया रितु भाटको पनि सर्पको टोकाइबाट ज्यान गएको छ। बुधबार राति आँगनमा खेलिरहेका बेला उनलाई सर्पले टोकेको थियो। उनलाई पनि सेती प्रादेशिक अस्पताल लगिएको थियो, तर उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

