फ्लाइट छुट्दा दुःखी थिइन्, तर अब भगवानलाई दिइरहेकी छन् धन्यवाद


काठमाडौं – ३० वर्षीया भूमि चौहान बिहीबार दिउँसो निकै निराश थिइन्, किनभने उनी लन्डन जान लागेको एयर इन्डियाको फ्लाइट छुटेकी थिइन्। तर केही घण्टामै त्यही फ्लाइट दुर्घटनाग्रस्त भएपछि उनी आफ्नाे जीवन बचेकोमा ईश्वरप्रति कृतज्ञ बनिन्।

उक्त विमान, जसले अहमदाबादबाट उडान भरेको थियो, उडानपछि केही मिनेटमै दुर्घटनामा पर्‍यो। विमानमा रहेका २४२ मध्ये २४१ जनाको मृत्यु भयो। एक मात्र यात्रु बाँच्न सफल भए। भूमि पनि त्यही विमान चढ्ने योजना बनाइरहेकी थिइन्।

भूमि गुजरातको अंकलेश्वरबाट सडकमार्ग हुँदै अहमदाबाद विमानस्थल जाँदै थिइन्। बीबीसीसँग कुरा गर्दै उनले भनिन्, “हामी समयमै अहमदाबाद आइपुगेका थियौं, तर ट्राफिक जामले गर्दा म एयरपोर्टमा पाँच मिनेट ढिलो पुगेँ। मलाई भित्र जान दिइएन।”

भूमिले भने, “शुरुमा म निकै दुःखी भएँ। टिकटको पैसा खेर गयो र सायद जागिर पनि गुम्ने भयो भन्ने लाग्यो। तर अहिले म भगवानलाई धन्यवाद दिन चाहन्छु — पैसा गयो होला तर जीवन जोगियो।”

भूमि केही वर्षअघि पढ्नका लागि बेलायत गएकी थिइन्। दुई वर्षअघि उनले ब्रिस्टलमा काम गरिरहेका केवल चौहानसँग विवाह गरेकी थिइन्। विवाहपछि उनी छुट्टी मनाउन भारत आइरहेकी थिइन् र डेढ महिनापछि फर्किन लागेकी थिइन्।

उनले भने, “मैले अनलाइन चेक-इन गरिसकेकी थिएँ तर एयर इन्डियाको स्टाफले मलाई बोर्डिङ गेटसम्म जान दिएनन्। म ढिलो भएको भनेर रोकिएको थिएँ। म हारगुहार गर्न पुगेँ, जागिर जान सक्छ भनेर सम्झाएँ, तर कसैले सुनेन। मैले रिफन्ड पनि मागेँ, तर अस्वीकार गरियो।”

एयरपोर्टबाट फर्कंदा उनी र उनका परिवार सदस्य चिया पिइरहेका थिए, त्यही बेला दुर्घटनाको खबर आयो। भूमि भन्छिन्, “हामी चिया पिइरहेका थियौं र ट्राभल एजेण्टसँग टिकटको रिफन्डबारे कुरा गरिरहेका थियौं। त्यत्तिकैमा अंकलेश्वरबाट फोन आयो — फ्लाइट क्र्यास भएको खबर। म त अक्क न बक्क भएँ।”

“त्यसपछि हामी सिधै मन्दिर गयौं। अहमदाबादको ट्राफिकले मेरो ज्यान बचायो,” उनले भनिन्।

एयर इन्डियाको बोइङ ७८७–८ विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्तुगीज र १ जना क्यानाडाली नागरिक थिए। यात्रुहरूमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि थिए।

विमान किन दुर्घटनाग्रस्त भयो भन्ने कारण अझै खुलेको छैन। दुर्घटनामा विमानका यात्रुहरूबाहेक विमान जाँदा ठोक्किएको बस्तीमा पनि केही मानिसको मृत्यु भएको आशंका छ। बीबीसीलाई एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएअनुसार थप आठ जनाको ज्यान गएको पुष्टि भएको छ।

पुलिसका अनुसार एकजना ब्रिटिश नागरिक विश्वास कुमार रमेश मात्र बाँच्न सफल भएका छन्। उनले मिडियासँग भनेका छन्, “टेकअफ भएको ३० सेकेन्डमै ठूलो आवाज आयो र त्यसपछि विमान खस्यो। सबै कुरा क्षणभरमै भयो।” -बीबीसी हिन्दी

 

प्रतिक्रिया