चित्रकला टिकाउन हस्तकला बनाउँदै सलिना


किरण पौड्याल(रासस)

इलाम–कुनै काम गर्न योजना, मेहनत र धैर्य चाहिन्छ । सायदै योजना विनाको मेहनत र धैर्य विनाको योजना पूरा हुन सम्भव नहोला । हुन त कतिपय ठाउँमा अध्ययन र समय नमिल्दा पनि चित्त बुझ्दो नतिजा नआउन सक्छ ।

समयसापेक्ष नबन्दा र समाजमा चलनचल्तीको काम नहुँदा पनि पेसामा आबद्ध भएर काम गर्न गाह्रो हुन्छ । यसका साथै सबै कुरा दाहिना हुँदाहुँदै पनि कहिलेकाहीँ आर्थिक सङ्कटका कारण मान्छे आफ्नो पेसा परिवर्तन गर्न बाध्य हुनुपर्छ । गरिबीकै कारण आफ्ना सोखका काम चटक्कै छाडेर जीवन धान्नतिर अनेकन गर्नुपर्छ । यहाँस्थित सन्दकपुर गाउँपालिका–१ की सलिना राईलाई यस्तै यस्तै लाग्छ । सलिनाको सोख चित्रकार बन्ने हो ।

चित्रकार मात्र होइन, कुशल चित्रकार बन्ने हो । यसैबाट जीवनयापन गर्ने र सबैसामु चिनिने । चित्रकार बन्नकै लागि सलिनाले धेरै सङ्घर्ष गरिन् । अझै पनि गर्दैछिन् । विद्यालय होस् वा अरू कतै प्रतियोगितामा कहिल्यै द्वितीय भएन सलिनाको चित्र । सधैँ प्रथम भएकैले गर्दा सलिनालाई जीविकोपार्जनको स्रोत चित्रकला बनाउन मन लाग्यो । उमेरसँगै चित्रका गुणस्तर पनि बढ्दै गए, अनि गुणस्तरसँगै माग पनि उच्च बन्दै गयो ।

परिवारको हौसला, अग्रज चित्रकारको उत्प्रेरणा र आफ्नै मेहनतले सलिनाका चित्रमा निखारता त आउँदै गयो तर अर्थोपार्जन सोचेजस्तो भएन । गाउँको बसाइ । पूर्णरूपमा चित्रकलामा खट्न नपाइने । यसैले चित्रकलाको पेसा सङ्कटमा पर्दै गयो । सोचे जस्तो भएन । कक्षा ५ देखि चित्र सिकेकी सलिना, कक्षा ८ पुग्दासम्म घरपरिवारको आँखामा चित्रकारको छवि बनाइसकेकी थिइन् । विद्यालयको अध्ययन सकेर केही समय सलिनाले कला सेन्टरमा चित्र बनाउन सिकिन् ।

त्यसपछिका मेनेतले सलिनाको चित्रकलाप्रतिको मोह यति बढ्यो कि उहाँले यो पेसाको विकल्प खोज्नै सक्नुभएन । विभिन्न प्रदर्शनीमा चित्र प्रदर्शन गरेर हौसला पनि बढ्यो । सबैले चित्र कोरेको हेर्दै उनको चित्रको प्रशंसा पनि गरे तर आर्थिक पाटो भने कहिल्यै सुध्रेन ।

जब कलेजस्तरको पढाइ शुरु भयो तब यी सबै कुरा बाहिर निस्किए । उनलाई सोख पूरा गर्न आर्थिक पाटो सुध्रिन जरुरी छ भन्ने झन् लाग्दै गयो । त्यतिकैमा सलिनाले एक दिन युट्युबमा कागजबाट विभिन्न किसिमका सामग्री बनाएको देखिन् । चित्रकलाकी पारखी सलिनालाई हस्तकला (हेण्डिक्राफ्ट) मा पनि आकर्षण बढ्यो । निरन्तर खटेर सलिनाले हेण्डिक्राफ्ट बनाउन थालिन् । शुरुमा चिक्त बुझ्दो नबने पनि समयान्तरमा सोचेझैँ हुन थाल्यो । पछिल्लो समय सलिनाले चित्रकला जोगाउनका लागि पनि हस्तकला बनाउन परेको छ । ‘हेण्डिक्राफ्ट चाहिँ धेरैले किनेर नै लग्नुहुन्छ । केही कमाइ पनि हुन्छ’, सलिना भन्छिन्, ‘कला सम्मानित पेसा हो तर बाँच्न गाह्रो हुँदो रहेछ ।’

सलिनाले एकै ठाउँमा चित्रकला र हस्तकलाका ८७ प्रकारका कलालाई प्रदर्शनीसमेत गरेकी छन् । ती सामग्री बनाउन खर्चिलो पनि छ । अहिले सलिना स्नातकस्तरको अध्ययनमा छिन् । पढाइपश्चात काठमाडौँ पसेर चित्रकलामा होमिने उनको विचार छ । अनेक रङ एकै ठाउँमा मिलाएर सलिना चित्र कोर्छिन् । अनि अनेक बहुरङ्गी कागज गाँसेर हस्तकलाका सामग्री । यद्यपि यो पेसाले सलिनाको जीवनमा कुन रङ कोर्ने हो पत्तो छैन तर पनि उनी संघर्षरत छिन् । चाहे अनेक रङ मिलाएर चित्र कोर्न होस् वा कागज गाँसेर कागजी सामग्री बनाउन, कुनै काम सहज छैन । ‘एउटै चित्र बनाउन तीन÷चार दिन लाग्छ । धैर्य भएर काम गरिएन भने त पूरा हुँदैन’, सलिना भन्छिन्, ‘कागजका सामग्री बनाउन पनि उस्तै गाह्रो । पहिले काट्यो अनि जोड्यो । त्यसपछि सुन्दरताका लागि कागज मिलाउनुपर्छ ।’ यति दुःख गर्दा पनि कलाको मर्म नबुझ्दा चाहिँ सलिनालाई विरक्त लाग्छ । अधिकांश मान्छेमा चित्रको ज्ञान नहुनु, अनि प्रशस्त मात्रामा चित्रकला पढाइ हुने विद्यालय पनि नहुनु । यिनै समस्याले चित्रकलामा बाँच्न गाह्रो भएको सलिनाको दुःखेसो छ ।

प्रतिक्रिया