सर्वदलीय बैठक निष्कर्षविहीन, संसद् अवरोध जारी रहने


काठमाडौं-  संघीय संसद् बैठकमा देखिएको गतिरोध तत्काल अन्त्य हुने संकेत देखिएको छैन। विपक्षी दलहरूले संसद् अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छन्।

संसद्‌मा जारी अवरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेका थिए। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भए पनि संसद् अवरोध हटाउने विषयमा कुनै ठोस सहमति जुट्न सकेन।

बैठकमा संसद् गतिरोध, समसामयिक राजनीतिक विषय तथा सम्भावित सहमतिका उपायबारे छलफल भएको जनाइएको छ। तर विपक्षी दलहरूले आफ्ना माग सम्बोधन नभएसम्म संसद् अवरोध जारी राख्ने अडान दोहोर्‍याएका छन्।

यसैबीच सत्ता र विपक्षी दलबीच विभिन्न विषयमा छलफल भए पनि समाधान ननिस्किएको हो। बैठकमा सत्तारुढ दलका नेताहरूले विभिन्न समसामयिक विषयमा संसद्भित्रै छलफल गर्ने प्रस्ताव राखेका थिए।

तर विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्रीले नै संसद्मा उपस्थित भएर सम्बन्धित विषयमा जवाफ दिनुपर्ने माग अघि सारेका छन्।

प्रतिक्रिया