नेपाल प्रहरीका अनुसन्धान ‘अधिकारी’


काठमाडौं – नेपाल प्रहरीले कहिलेकाहीँ अनुसन्धानमा पोख्त अधिकारी र प्रविधिले हार खाएका कतिपय जटिल अपराधका गाँठा कुकुरकै सहायताले फुकाएको छ। कतिपय अवस्थामा अनुसन्धान अधिकृतहरूले पत्ता लगाउन नसकेका अपराधी कुकुरको सहयोगमा पत्ता लागेका छन्।

पछिल्लो समय विश्वभरका प्रहरीले अपराध अनुसन्धानमा कुकुरको सहयोग लिँदै आएका छन्। प्रहरीसँग रहेका कुकुरले घटनास्थलमा छाडिएको सबुत प्रमाणलाई सुँघेर अपराधी पत्ता लगाउने गरेको प्रशस्त उदाहरणहरु रहेका छन्। पूर्वराजदुत केशव झा प्रकरणदेखि दोलखामा एकैपटक चार जना हत्याको अपराधी कुकुरले नै पत्ता लगाएको हो।

कतिपय घटनामा प्रहरीले ‘अपराधी’ ठानेका व्यक्ति पनि वास्तविक अपराधी होइनन् कि भन्ने आशंका गर्ने गरिएको छ भने कुकुरले पत्ता लगाएका अपराधी सही हुन् भन्ने विश्वास बढ्ने गरेको छ। कुकुरमा भएको अद्भुत क्षमताका कारण नै उसले पत्ता लगाएकालाई वास्तविक अपराधी मानेर विश्वास गर्ने गरिएको छ।

त्यसैले तिहारको दोस्रो दिन अर्थात आज कुकुर तिहार। नेपालीहरूको दोस्रो ठूलो चाडअन्तर्गत तिहार (यमपञ्चक)को दिन कुकुर तिहार मनाउने गरिन्छ। आज पूजा गरी कुकुरलाई मीठामीठा खानेकुरा दिने प्रचलन छ।

रक्षक तथा पहरेदारका रुपमा कुकुरले निर्वाह गर्ने भूमिकाकै कारण कतिपय मानिसहरुले कुकुर पाल्ने गर्छन्। आजको दिन कुकुरलाई भोजन गराउँदा यमराज तथा पितृहरू खुसी हुने धार्मिक मान्यता रहँदै आएको छ।

कुकुर आज्ञाकारी र विश्वासिलो घरपालुवा जनावर हो। यही विशेषताका कारण कुकुरलाई विशेष तालिम दिएर सुरक्षा निकायले अपराध अनुसन्धानमा समेत प्रयोग गर्दै आएका हुन्।

०००
२०२६ सालदेखि नेपाल प्रहरीले ‘डग सर्भिस’ सुरुवात गरेको हो। त्यतिबेला मलेसियामा भएको कुकुर तालिममा नेपाल प्रहरीका सई प्रतापकुमार वान्तवाको कमाण्डमा ५ प्रहरी टोलीले भाग लिएका थिए।

कुकुरले प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग गरेका धेरै कामहरू उक्त तालिममा देखाइएको थियो। तालिम पश्चात मलेसियाले नेपाल प्रहरीलाई २ वटा तालिमप्राप्त कुकुर उपहारस्वरुप दिएको थियो।

रिभल र होस्का नाम गरेका दुई वटा कुकुर त्यतिबेला नेपाल प्रहरीले मलेसियाबाट ल्याएको डग स्कुलका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामचन्द्र सत्यालले जानकारी दिए।

सत्यालका अनुसार ती दुवै कुकुर जर्मन सेफर्ड जातका थिए। पछि थप २ वटा तालिमप्राप्त कुकुर किनेर ४ वटा कुकुरबाट नेपाल प्रहरीले ‘डग सेवा’ सुरु गरेको सत्यालको भनाइ छ।

नेपाल प्रहरीले २०३२ सालमा प्रहरी कुकुर सेक्सन स्थापना गरेर औपचारिक रुपमा अनुसन्धानका लागि कुकुर पाल्न थालेको डिएसपी सत्यालले बताए। उक्त सेक्सनलाई विकास गर्दै प्रहरीले २०४७ सालमा केन्द्रीय कुकुर तालिम केन्द्र नै स्थापना गरेको हो।

प्रहरीले प्रदेश ५ बाहेक ६ वटा प्रदेशमा क्षेत्रीय कुकुर शाखासमेत स्थापना गरेको छ। प्रदेश ५ मा पनि क्षेत्रीय कुकुर शाखा विस्तार गर्ने तयारी भइरहेको जनाएको छ।

०००
विश्वमा १८९ प्रजातीका कुकुर पाइन्छ। डिएसपी सत्यालका अनुसार संसारमा पाइने १८९ प्रजातिका कुकुरमध्ये आठ प्रजातिलाई मात्रै नेपाल प्रहरीले अपराध अनुसन्धानमा प्रयोग गर्दै आएको छ।

नेपाल प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रोडर, ककर स्प्यानियल, गोल्डेन रिट्रिभर, बिगल, बेल्जियम मेनोलोइज, ब्लड हाण्ड र डच सेफर्ड गरी आठ प्रजातिका ८७ वटा कुकुर रहेको डिएसपी सत्यालले जानकारी दिए।

यी कुकुरलाई प्रहरीले ट्रयाकर डग, एक्सप्लोसिभ डग, सर्च एण्ड रेस्क्यू डग, ड्रक्स सर्च डग गरी चार विधामा वर्गीकरण गरी परिचालन गर्दै आएको छ।

०००
कुकुरलाई विषयगत रुपमा छुट्टाछुट्टै प्रकारका तालिम दिने गरेको डिएसपी सत्यालले बताए। उनले भने, ‘नेपाल प्रहरीसँग रहेका कुकुरहरुलाई नेपालमै तालिम दिइन्छ। पहिला–पहिला अन्य मुलुकबाट तालिम गराएर ल्याइने गरे पनि पछिल्लो केही वर्षयता नेपालमै तालिम दिन थालिएको छ।’

तीन महिनाको आधारभूत तालिम दिएपछि कुकुरको क्षमताअनुसार विधा छुट्याएर अनुसन्धानमा लगाउने गरेको डीएसपी सत्यालले अनलाइनन्युजसँगको कुराकानीमा भने।

डिएसपी सत्यालका अनुसार बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपद्मा परेर हराएका मानिसको खोजी गर्न ‘सर्च एण्ड रेस्क्यू डग’ प्रयोग गरिन्छ।

त्यस्तै ‘ड्रग्स सर्च डग’ लागूऔषध सम्बन्धी अनुसन्धानमा परिचालन गरिन्छ। ‘ट्रयाकर डग’ हत्या, अपहरण, बलात्कारजस्ता घटनाको अनुसन्धानका लागि प्रयोग गरिन्छ भने भीआईपी, भीभीर्आइपीको सुरक्षा र बम, बारूद, विस्फोटक पदार्थ पत्ता लगाउन ‘एक्सप्लोसिभ डग’ प्रयोग हुन्छ।

प्रतिक्रिया