धनुषाको अस्पताल टेन्डरमा ६ करोडभन्दा बढी भ्रष्टाचार, सासंदसहित १७ जनाविरुद्ध मुद्दा


जनकपुर– धनुषाको औरही गाउँपालिकामा निर्माण हुन लागेको १५ शैय्याको प्राथमिक अस्पतालको टेन्डर प्रक्रियामा व्यापक अनियमितता भएको खुलासा भएको छ। यस प्रकरणमा संलग्न भएको आरोपमा मधेश प्रदेशका सांसद दिपेन्द्र कुमार ठाकुर, औरहीका पूर्व अध्यक्ष ब्रहमदेव यादवसहित १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रमअनुसार आर्थिक वर्ष २०७७/७८ मा औरही–२, देउरी परवाहामा करिब २४ करोड ४४ लाख रुपैयाँको लागत अनुमानसहित अस्पताल निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो।

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अनुसार, टेन्डर प्रक्रियामा संलग्न पदाधिकारी तथा निर्माण व्यवसायीहरूबीच मिलेमतो भएको पाइएको छ। प्रतिस्पर्धा न्यून गर्न टेन्डरका शर्तहरू हेरफेर गरी अनियमित रूपमा ठेक्का दिइएको पुष्टि भएको हो।

२०७८ साल वैशाखमा सार्वजनिक टेन्डर आह्वानपछि १५ निर्माण कम्पनीले आवेदन दिएका थिए। तर १३ कम्पनीलाई प्राविधिक मूल्यांकनमा असफल घोषित गरिँदा सबैभन्दा कम लागत प्रस्ताव गर्ने प्रतिष्ठा/धुलिखेल/एक्सिस एसियन जेभीलाई अयोग्य ठहर गरिएको थियो। उल्टो, तुलनात्मक रूपमा ६ करोड बढी खर्चिलो १९ करोड १४ लाख रुपैयाँ कबोल गर्ने लुम्बिनी/डी. एन्ड एन. जेभीलाई ठेक्का दिइएको पाइएको छ।

यस प्रक्रियामार्फत ६ करोड ७९ लाख १२ हजार रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियारले सम्बन्धित १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

प्रतिक्रिया