


घाइते रेविकालाई राजावादीहरूले गरे आठ लाख सहयोग

काठमाडाैं- १५ चैतको तीनकुनेमा भएको प्रदर्शनमा गोली लागेर घाइते भएकी विद्यार्थी रेविका खत्रीलाई राजावादीहरूले आर्थिक सहयोग गरेका छन् ।
बुधबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरू डा. प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतले खत्रीलाई उपचारका लागि आठ लाख ३९ हजार ४ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
उक्त रकम खत्रीको उपचारका लागि रमेशराज बाँस्तोलाको संयोजनमा पोर्चुगलबाट नेपाल पठाइएको हो । गोली लागेर घाइते भएकी खत्री महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत छिन् ।

