

निषेधाज्ञा खुलेपछि सुरक्षित भएर कसरी काम गर्ने ?

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद्
सरकारले काठमाडौं उपत्याकामा निषेधाज्ञा खुकुलो बनाएको छ ।
यो निर्णय आम जनताको पक्षमा छ । हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन । आम जनतालाई आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो ।
कोरोनाबाट जोगिने र आफ्नो दैनिक जनजीवन सहज बनाउने ‘बल’ सरकारले अब हाम्रो हातमा दिएको छ । यस्तो अवस्थामा सुरक्षित भएर कसरी आफ्नो दैनिकीमा फर्किने ? मेरो विचारमा निम्नलिखित उपायहरु अवलम्बन गर्यौं भने सायद हामी करोनालाई जित्दै अगाडि बढ्न सक्छौं कि !
केही उपाय र सुझावहरु–
बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने । सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने । काम गर्न बाहिर जाने व्यक्तिसँग दूरी कायम गर्ने । कुरा गर्दा मास्क लगाउने ।
मर्निङ वाक वा इभिनिंग वाक घरमै गर्ने ।
निषेधाज्ञा खुल्यो भनेर बिनाकाम घरबाहिर नजाने । घरबाहिर जति छोटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ ।
घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरीकाले मास्क लगाउने । सम्भव भएसम्म २ मिटरको दूरी कायम गर्ने । भीडभाडमा नजाने । भीडभाड नगर्ने ।
सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पंञ्जा लगाउने । स्यानिटाइजरले हात सफा गरिरहने । बिशेष सतर्क हुने ।
हरेक पसलले व्यक्तिगत दूरी कायम हुनेगरी काउन्टरको व्यवस्थापन गर्ने । मास्क नलगाएका ग्राहकलाई मास्क दिने । सबैका लागि ठूलो स्यानिटाइजर राख्ने । झ्यालढोका खोलेर भेन्टिलेसनको प्रत्याभूति गर्ने ।
सकभर हरेक पसलमा परल मूल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने ।
ग्राहक व्यवस्थापन कुशल ढंगले गर्ने । भीडभाड नगराउने ।
पसल र हरेक सामान संक्रमणरहित बनाउने ।
चियापसल, कफीसप तथा पसलमा साथीहरुसँगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने ।
कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन । हरेक व्यक्तिसँग सुरक्षित व्यवहार गर्ने ।
सामान किन्दा धेरै छान्ने काम नगर्ने । किनमेलको लिस्ट घरमै बनाएर जाने । पसलहरुमा एकदम छोटो समय बिताउने । जति लामो समय पसलभित्र वा बसभित्र बस्यौं, त्यति नै जोखिम हुन्छ ।
सकभर तरकारी बजारबाट तरकारी नकिन्ने । घर नजिकको पसलबाट किन्ने । बसेर छान्ने, छाम्ने काम नगर्ने ।
डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन । तसर्थ आफूले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने । लामो समय नबिताउने ।
भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पूण्य कमाउने । कमाउने कुरा पैसासँग मात्र जोडिएको हुँदैन । पूण्यभन्दा ठूलो कमाइ अरु केही हुँदैन ।
बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, विद्युत् आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउने । क्यासलेस लेनदेनलाई प्रेरित गर्ने । टाइम कार्ड लागू गरेर भीड नियन्त्रण गर्ने, फाइललाई डिजिटल बनाउने ।
रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने । बिरामी हुँदा आफूले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफूलाई छिटो सर्ने खतरा पनि हुन्छ ।
सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुराँमा सुरक्षित रुपमा खाने ।
आफ्नो पसल जति धेरै सफा गरिन्छ, जति धेरै मापदण्ड पुर्याएर सञ्चालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ । त्यति धेरै चल्छ । यो सुत्र सबैले अपनाउने ।
कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसँग घुलमिल हुने ।
ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो ।
हामी सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ । संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन । हामी पनि सुरक्षित हुन्छौं ।

