नेपाल–भारत सीमा विवादबारे भारतीय विदेश मन्त्रालयको धारणा सार्वजनिक


काठमाडौं-  प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिपछि उत्पन्न बहसका बीच भारतले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ।

मंगलबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले प्रधानमन्त्री शाह र नेपालको परराष्ट्र मन्त्रालयले सीमा विवादबारे सार्वजनिक गरेका अभिव्यक्तिहरू आफूहरूले अध्ययन गरेको बताए।

उनले नेपाल र भारतबीच करिब ९८ प्रतिशत सीमांकनको काम सम्पन्न भइसकेको उल्लेख गर्दै बाँकी रहेका केही क्षेत्रमा सीमा अतिक्रमण तथा नो म्यान्स ल्यान्डसँग सम्बन्धित विषयहरू रहेको बताए।

जायसवालले सीमा समस्याको समाधानका लागि नेपाल र भारतबीच स्थापित द्विपक्षीय संयन्त्र रहेको उल्लेख गर्दै संवाद र वार्तामार्फत बाँकी विषय टुंग्याइने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा बोल्दै नेपाल–भारत सीमा विवादको ऐतिहासिक पृष्ठभूमिमा तत्कालीन इस्ट इन्डिया कम्पनीसँग भएका सन्धिहरूको प्रसंग उठाएका थिए। उनले त्यस सन्दर्भमा बेलायतसँग पनि विषय सम्बन्धित रहेको अभिव्यक्ति दिएका थिए।

तर भारतीय पक्षले सीमा विवादलाई पूर्ण रूपमा नेपाल–भारतबीचको द्विपक्षीय विषयका रूपमा व्याख्या गर्दै कुनै तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने स्पष्ट पारेको छ।

पत्रकार सम्मेलनमा प्रवक्ता जायसवालले भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भ्रमणबारे पनि प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया