
त्रिभुवन विमानस्थलभित्रका चार होटल–रेस्टुरेन्टलाई १२ लाख रुपैयाँ जरिवाना
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालित विभिन्न होटल तथा रेस्टुरेन्टमाथि गरिएको आकस्मिक अनुगमनका क्रममा कैफियत फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चारवटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले विमानस्थलभित्र रहेका खाद्य व्यवसायहरूको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा साई किरण इन्टरप्राइजेज, टी–थ्री थकाली ग्रुप प्रालि, ओरिएन्टल होटल्स प्रालि र सान इन्टरप्राइजेजले अधिकतम खुद्रा मूल्यभन्दा बढी रकम असुली गरी उपभोक्ता ठगी गरेको पाइएको विभागले जनाएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती प्रत्येक फर्मलाई ३/३ लाख रुपैयाँका दरले कुल १२ लाख रुपैयाँ जरिवाना गरिएको छ।
अनुगमनका क्रममा ओरिएन्टल होटल्स प्रालिको भान्सामा प्रयोग भइरहेको फ्राइङ तेलको गुणस्तर मापदण्डविपरीत भेटिएपछि ३ लिटर तेल तथा सोही तेलमा पकाइँदै गरेको २ किलोग्राम समोसा नष्ट गरिएको विभागले जनाएको छ।
त्यस्तै, टी–थ्री थकाली ग्रुपको भण्डारण कक्षबाट म्याद नाघेका खाद्य रङ र फ्लेभरका चार बट्टा फेला परेपछि ती सामग्रीसमेत नष्ट गरिएको छ।
होटल सोनिग र होराइजन क्याफेमा पनि सरसफाइ तथा लेबलिङसम्बन्धी समस्या भेटिएको विभागले जनाएको छ। ती दुवै स्थानबाट ‘बटर मफिन’ तथा अन्य बेकरीजन्य सामग्रीका नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको छ।
होराइजन क्याफेले खाद्य वस्तुमा अनिवार्य रूपमा राख्नुपर्ने लेबलबिनै बिक्री गरेको पाइएकाले आवश्यक लेबल राख्न निर्देशन दिइएको छ।
खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार अनुगमनका क्रममा केही होटलका भान्सामा डस्टबिन खुला राखिएको, सरसफाइको अवस्था सन्तोषजनक नरहेको तथा खाद्य सामग्री खुला अवस्थामा राखिएको पाइएको थियो।
उनले सम्बन्धित व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न निर्देशन दिइएको र आगामी दिनमा सुधार नदेखिए थप कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको जानकारी गराइन्।



कागजपत्र |
