
हर्क साम्पाङजस्ता ‘अर्गानिक’ नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ: सुदन किराती
गाईघाट- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालमा वर्षौंदेखि स्थापित राजनीतिक नेतृत्वले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै अब देशलाई ‘अर्गानिक नेतृत्व’ आवश्यक रहेको बताएका छन्।
गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले परम्परागत राजनीतिक दल र पुरानो नेतृत्वप्रति असन्तुष्टि जनाउँदै देशलाई सही दिशामा अघि बढाउन नेपालकै माटोबाट उदाएका र जनतासँग प्रत्यक्ष जोडिएका नेताहरूलाई अगाडि ल्याउनुपर्ने धारणा राखे। उनका अनुसार लामो समयदेखि सीमित समूहको राजनीतिक वर्चस्वले नयाँ पुस्ताको अवसर रोकिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहप्रति जनताले ठूलो अपेक्षा राखे पनि व्यवहारमा सोअनुसार परिणाम नदेखिएको उनले टिप्पणी गरे। शाहले उठाएका गरिब तथा विपन्न वर्गसम्बन्धी मुद्दा र कार्यान्वयनबीच असन्तुलन देखिएको आरोप पनि उनले लगाए।
त्यस्तै, राष्ट्रियता र कूटनीतिसम्बन्धी केही सार्वजनिक अभिव्यक्तिले नेपालको राष्ट्रिय अडान कमजोर बनाएको दाबी गर्दै किरातीले नेतृत्व उमेर वा अनुहारका आधारमा नभई स्पष्ट दृष्टिकोण, नीति र कार्ययोजनाका आधारमा मूल्याङ्कन हुनुपर्ने बताए।
‘नेपाल र नेपालीले लामो समयदेखि भोग्दै आएको समस्याको अन्त्य गर्न अब कतैबाट निर्माण गरिएको वा कृत्रिम रूपमा स्थापित नेतृत्व होइन, नेपालकै माटोमा हुर्किएको अर्गानिक नेतृत्व आवश्यक छ,’ उनले भने, ‘हर्क साम्पाङजस्ता जनतासँग प्रत्यक्ष जोडिएका नेतालाई प्रधानमन्त्री बनाउन सकियो भने मात्रै देशले सही गति लिन सक्छ।’
उनका अनुसार जनतामाझ श्रम, इमानदारी र परिणाममुखी कार्यसंस्कृतिको प्रतिनिधित्व गर्ने नेतृत्वप्रति आकर्षण बढिरहेको छ। वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै श्रम संस्कृति पार्टीले त्यसै दिशामा आफूलाई उभ्याउने प्रयास गरिरहेको उनले बताए।



कागजपत्र |
