‘सेक्सी’ शव्दबारे बिजयकुमार पाण्डेलाई दिएको त्यो उत्तर


विजयकुमार पाण्डेले लेखेको पुस्तक ‘खुशी’ किने पनि पढ्न पाएकी थिइन। एक जना मित्रले त्यस किताबमा मेरा बारेमा पनि लेखिएको बताएपछि पाना पल्टाउँदै आफूलाई खोजें। त्यसपछि कलम चलाउन मन लाग्यो।

हुन त ‘खुशी’ को विमोचन समारोहमा प्रदीप गिरीजीले भन्नु भएको थियो, ‘विजयजीले जुन अधिकारका साथ अरुको बारेमा बोल्नु भएको छ, त्यो विश्वसनीय नहुन पनि सक्छ। अहिले त्यो पुस्तक पढेपछि लाग्यो, प्रदीपजीले भन्नु भएको शायद मेरा बारेमा पनि थियो। अनुमान मात्र हो यो मेरो।

विजयजीको लेखाई मलाई असजिलो लागेको छ। विजयकुमारलाई मैले दाङमा दुई पटक भेटेकी थिएँ। एकपटक लक्ष्मण गिरीसँगै उहाँ हामी बस्ने घरमा आउनु भएको थियो भने अर्कोपटक म र लक्ष्मणजी मसोट खोला किनारमा रहेको उहाँको कार्यालयमा पुगेका थियौं।

खोला–नदी मलाई असाध्यै मन पर्छ। देख्नेबित्तिकै खोलामा पुगी हाल्छु, अहिले पनि। उहाँको कार्यालयको छेउमा मसोट खोला अत्यन्त फराकिलो थियो। एक छिन खोला किनारमा उभिएपछि म लक्ष्मणजीसँग फर्कीएँ। विजयजीले मेरो त्यस बेलाको सुन्दरताको बयान गर्नु भएको छ।

१९ वर्षकी म आफ्नो सुन्दरता बारे अनभिज्ञ नै थिएँ। तर आफूलाई कुशाग्र बुद्धि भएकी ठान्थें। स्कुल पढ्दा कक्षामा जहिले पनि प्रथम हुन्थें। एकपटक डबल प्रमोशन पनि पाएकी थिएँ। साहित्य लगायत अन्य विषय असाध्यै पढथें।

लक्ष्मणजीसँग विवाह भएर नेपाल आएपछि भने नयाँ परिवेशमा मेरो अध्ययन ओझेलमा पर्यो। त्यो कुशाग्रता हुर्किने वातावरण पनि ओझेलमा पर्यो। उसबेला नेपाली भाषा नबुझे पनि भाव भने बुझ्थें।

म सुन्दर छु भन्ने चाहिँ तीन वटा सन्तान जन्माइसकेपछि मात्रै बुझ्न सकें। राम्री हुनु र सुन्दर हुनु मेरो विचारमा दुई फरक कुरा हुन्। आफू सुन्दर भएको अनुभूतिका लागि महिलालाई कारण र परिवेश नै चाहिन्छ। सुन्दरता आंतरिक अनुभूति हो, राम्री सतहमा देखिन्छ। मलाई लाग्छ, सौन्दर्यको वर्णन पनि गर्न सकिन्न।

कान्छी छोरी इरीना जन्मिएपछि म आफूलाई चिन्ने प्रयासमा लागें। त्यसैले अहिले पनि उसलाई भन्छु, ‘तिमी जन्मिएपछि म आफैं पनि तेस्रो पटक जन्मिएँ।’ महिलाको दोस्रो जन्म विवाहपश्चात हुन्छ। अपरिचित व्यक्तिसँग नौलो परिवेशमा हुने विवाह त झन संकटपूर्ण जन्म जस्तो लाग्छ। दाङपछि विजयजीसँग काठमाडौंको बुढानीलकण्ठ स्कूलमा भेट भएको थियो। त्यसबेला हाम्री छोरी इरिना र विजयजीकी छोरी सारा सहपाठी थिए।

लक्ष्मणजीको ‘अल्कोहल बानी’ले परिवारमा तनाव थियो। त्यसबीच विजयजीसँग मेरो भेटघाट र कुराकानी नभए पनि उहाँले मेरो बारेमा सुने–पढेका आधारमा ‘खुशी’ मा जे लेख्नु भएको छ त्यो अतिशयोक्तिपूर्ण लागेको छ।

राजेश हमालसँग आजसम्म मेरो भेट भएको छैन। तर उहाँले कुनै पत्रिकामा भन्नुभएको थियो क्यारे, ‘मनिषा कोइराला, अम्बिका श्रेष्ठ र सरिता गिरी मलाई नेपालका सेक्सी महिला लाग्छन।’ विजयजीले यो कुरा पनि पुस्तकमा उल्लेख गर्नुभएको छ।

सौन्दर्यबाट प्रारम्भ गरी सेक्सी देखिनेसम्म कुरा पुर्याउनु भएको छ। यसले मेरो निजता खलबलिएको महशुस गरेकी छु।

पीडा र अपमानले मेरो चेतना चलायमान भएको बेला थियो त्यो। आफ्नो अस्तित्वको खोजीमा लागेकी म जागिर छोडेर एमए पढ्न थालें। स्वतन्त्रताकै खोजीमा राजनीतिको बाटोमा लागें। मन्त्री भएँ। पार्टी अध्यक्ष भएँ

सेक्सीको हिंदी वा नेपालीमा सभ्य शब्द खोज्दा आकर्षक नै पाउँछु। तर ‘सेक्सी’ शब्दमा शायद त्यस भन्दा बढी भाव समाहित छ। त्यस बारेमा राजेश हमाल र विजयजीले नै प्रष्ट पार्दा उपयुक्त हुन्छ।

दाङमा सडक विभागमा जागिरे हुँदा त्यसबेलाको ‘सडक विभाग संस्कृति’ बारेमा विजयजीले लेखेका कुराहरु मेरालागि नौला र अप्रत्याशित थिए।

विवाह पश्चात बस्तीपुरमा होउञ्जेल त लक्ष्मणजीले रक्सी सेवन गर्नु भएन तर दाङमा लक्ष्मणजी पहिलो पटक एक साँझ जब नशामा लठ्ठिंदै घर आइपुग्नु भएको थियो, अहिले पनि सम्झन्छु , म निकै रोएकी थिएँ।

डरले दाँत किटकिट पार्दै, बच्चा जस्तो  त्यसअघि मैले रक्सी खाएको मानिस फिल्ममा मात्रै देखेकी थिएँ।

कान्छी छोरी जन्मेपछि मभित्रको अशांति र पीडाका कारणहरु खोजि गर्न थालें र छुटकारा पाउन म संघर्ष पनि गर्न थालें। एक दिन इञ्जिनियर साहेब (लक्ष्मणजी) ले भन्नु भयो, ‘अहिलेसम्म यस्ती सोझी मान्छे कसरी यस्तो बाठी हुन थाल्यौ ?’

‘यस्को मतलब २० वर्षदेखि मलाई सोझी ठानी तपाइँहरुले मलाई ढाँटदै र धोखा दिंदै आएको हो ?’ मैले जवाफ फर्काएँ, ‘उहाँ चुप लाग्नु भएको थियो।’

‘मेरो समर्पण र अंधो विश्वासलाई तपाइँहरुले सोझोपनाको रुपमा लिनु भयो’, मैले भनें।

हाम्रो समाजमा महिलाहरुको विवशतालाइ पनि सोझोपनको रुपमा लिइन्छ। तर मूल कुरा के हो भने चेतना चलायमान हुनका लागि धक्का लाग्नु पर्छ, चोट खान पर्छ, अभाव ब्यहोर्नु पर्छ र अपमान सहनुपर्छ। कम्तिमा मैले बुझेको र भोगेको यही हो।

पीडा र अपमानले मेरो चेतना चलायमान भएको बेला थियो त्यो। आफ्नो अस्तित्वको खोजीमा लागेकी म जागिर छोडेर एमए पढ्न थालें। स्वतन्त्रताकै खोजीमा राजनीतिको बाटोमा लागें। मन्त्री भएँ। पार्टी अध्यक्ष भएँ।

अरुन्धती रोयले लेखेकी छन्– उनी तेज थिइन्, त्यसैले पुरुष प्रधान समाजमा उनलाई खतरनाक ठानियो र उनी गाउँबाट टाढा शहरतिर लागिन्। मेरो संघर्ष त म जन्मे हुर्केको भन्दा फरक देश र परिवेशमा अस्तित्वका लागि थियो।

शायद त्यसैले विजय जी ले त्यहाँ चतुर्याइँ देख्नु भयो।

अन्तमा अल्कोहलिज्मको संदर्भमा लक्ष्मणजीलाई सम्झिंदा मैले भन्नुपर्ने हुन्छ, मानिसको कम्तीमा दई वटा व्यक्तित्व हुँदो रहेछ । एउटा उस्को स्व र अर्को उस्को सामाजिक व्यक्तित्व। सामाजिक व्यक्तित्व परिवेशमा हुर्केको हुन्छ र परिवेशले त्यस लाई हुर्काउँछ पनि।

धेरै कम व्यक्ति आफनो ‘स्व’लाई समाज अगाडि ल्याउन सक्छन्। अधिकांश व्यक्ति सामाजिक व्यक्तित्वसँगै बाँचेका हुन्छन र त्यसले गर्दा उस्को वरिपरि स्वका साथ बाँच्न खोज्ने कतिपय व्यक्ति समाप्त पनि हुन्छन्।

कति जना आफनो दुई व्यक्तित्वको द्वन्द्वमा स्वयम् समाप्त पनि हुन्छन्। लक्ष्मणजीसँग पनि त्यही नै भयो। उहाँको समाज र परिवेश अगाडि उहाँले समर्पण गर्नु भयो तर, आपनो स्व लाई पनि मार्न सक्नु भएन। सोशल ड्रिंकर लक्ष्मणजी लाई अल्कोहलिज्म रोग हुन पुग्यो।

तर उहाँको स्व मेरो थियो। मेरो छोरा राहुलले भन्छ बुवा हाम्रो हुनुहुन्थ्यो। लक्ष्मणजीको अल्कोहलिज्मलाई हामीले यसरी पनि बुझेका छौं।

म एउटी अवोध किशोरी नयाँ देश र परिवेशमा बुहारीका रुपमा भित्रिएकी थिएँ। विजयजीले आफूले सुने र पढेका भरमा मेराबारेमा आफनो किताबमा लेखेको कुरा केही अर्थमा अतिरंजित र यथार्थबाट टाढा लाग्यो। दुखको कुरा त्यसलाई धेरैले सत्यका रुपमा ‘खुशी’ भित्र पढ्नेछन्।

(सरिता गिरीको यो प्रतिक्रियात्मक आलेख ७ बर्ष अघि नै प्रकाशित भएको थियो।)

प्रतिक्रिया