
राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष पक्राउ
काठमाडौं- राम जानकी हेल्थ फाउन्डेसन तथा जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई धनुषाको छिरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरेको हो।
सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार पाण्डेलाई उच्च अदालत पाटनको अनुमति लिएर पक्राउ गरिएको हो। अदालतले उनलाई पक्राउ गर्न गत मंसिर २८ गते अनुमति दिएको बताइएको छ।
पाण्डे जानकी मेडिकल कलेजका अध्यक्षसमेत हुन्, जुन त्रिभुवन विश्वविद्यालय अन्तर्गत सन् २००३ मा स्थापना भएको चिकित्सा शिक्षण संस्था हो। कलेजलाई राम जानकी हेल्थ फाउन्डेसनले सञ्चालन गर्दै आएको बताइन्छ।
अनुसन्धानका क्रममा पाण्डेले इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइसेन्स प्रालि नामक कृत्रिम कम्पनी खडा गरी डीपीआरबिनै र धितोको अस्वाभाविक मूल्यांकन गराएर कर्जा लिएको देखिएको सीआईबीले जनाएको छ।
प्रहरीका अनुसार प्रभु बैंक लिमिटेडबाट लिइएको कर्जा तोकिएको प्रयोजनमा प्रयोग नगरी अन्यत्र प्रयोग गरिएको तथा पटक–पटक कर्जा दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। यसलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
