
रोजगारीको प्रलोभनमा ठगी : ४५३ नेपाली उद्धारपछि ५ जनामाथि अनुसन्धान
रूपन्देही- भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४५३ जना नेपाली नागरिकहरू ठगीको शिकार भएको घटनामा पाँच जनाको संलग्नता देखिएको भन्दै प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको छ।
रुपन्देही प्रहरीले प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा उनीहरूको संलग्नता देखिएको भन्दै ठगी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको जनाएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकारी दिनेश कुँवरका अनुसार पक्राउ परेका पाँचजनामाथि रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
अनुसन्धानका क्रममा डोटीको शिखर नगरपालिका–२३ का २३ वर्षीय सिताराम बोहरा, ओखलढुंगा चम्पादेवी गाउँपालिकाका ३० वर्षीय अनिल बुढाथोकी, रोल्पा मुड्केचुला गाउँपालिकाका २३ वर्षीय अमनलाल बुढा, डोल्पा ठुलिभेरी नगरपालिका–२१ वर्षीय दिनेश बुढा र नवलपुरको कावासोती नगरपालिका–४५ वर्षीय कमल गिरीको संलग्नता देखिएको प्रहरीले जनाएको छ।
उद्धार गरिएका नेपालीहरूले आकर्षक रोजगारीको प्रलोभनमा पारेर आफूहरूलाई भारतका विभिन्न स्थानमा लगिएको तर सम्झौताअनुसार काम र सुविधा नपाएको गुनासो गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।



कागजपत्र |
