शितलनिवास पुगेर प्रचण्ड भनिरहन्थे– एमाले एक ठाउँ उभिए, बर्बाद बनाउने भए, मिलाइदिनुहोस्!

ओलीसँग बालुवाटारमा राती–राती भेट गर्ने माधव नेपाल समूहमा थियो पुष्पकमल दाहालको सुराकी


काठमाडौं– ३ जेठ, ०७५ पछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भए पनि आन्तरिक राजनीतिक समीकरण र ध्रुवीकरणका षडयन्त्रपूर्ण खेल भने जारी थिए।

४० प्रतिशतको हिस्सेदारीमा एमालेसँग मिसिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई त्रास थियो, कतै अल्पमत र बहुमतको आधार प्रस्तुत गरेर मलाई अध्यक्ष पदबाट त फ्याँक्ने होइनन्? एमालेभित्र भइरहेका त्यस्ता गोप्य जानकारी माधवकुमार नेपालको समूहमा रहेका सुराकीले प्रचण्डलाई बेलामौका दिने गरेका थिए।

प्रचण्डले एमालेभित्र विभाजन ल्याएर त्यसमा समस्या उत्पन्न गराउन सक्छन् भन्ने आँकलनका आधारमा पार्टीका सबै नेता एकसाथ हुनुपर्छ भनेर महासचिव ईश्वर पोखरेलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपाललाई एक ठाउँ उभ्याउन खोजेका थिए। कतिपय बैठकमा माओवादी पक्षलाई जानकारी दिने गरिएको थिएन जुन सूचना पाउनासाथ प्रचण्ड आत्तिँदै दौडधुपमा व्यस्त हुने गरेका थिए।

‘प्रचण्ड एकीकरणका बेला अल्पमतमा थिए। सरकारको पनि नेतृत्व गरिरहेका कारण ओलीले माओवादीका कतिपय नेतालाई पनि आफूतिर आकर्षित गरी कथनकदाचित अल्पमत र बहुमतको कुरा गर्दा राजनीति नै धरापमा पर्छ भन्ने तनावमा हुन्थे’, उच्च स्रोतले भन्यो,‘आफूलाई उभ्याउनका निम्ति प्रचण्डले त्याग गरेजस्तो गर्ने तर फ्याँकि हाल्छन् कि भनेर ओलीलाई सम्झाइदिनु भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ विन्ति गर्न पुग्थे।’

प्रचण्डलाई जानकारी नदिई तत्कालिन नेकपा सचिवालयमा बहुमतमा रहेका एमाले नेताहरुको बालुवाटारमा बैठक हुने गरेको थियो। त्यसमा खासहिसाबले अध्यक्ष ओली, नेता नेपाल, महासचिव पोखरेल, विष्णु पौडेल सहभागी हुने गरेका थिए।

‘सचिवालयमा मात्र नभई केन्द्रीय कमिटीसम्म नै एमाले एक ढिक्का भएर कुनै निर्णय लिए त प्रचण्ड भन्ने व्यक्तिको अस्तित्व नै सक्किन्छ भन्ने त्रास थियो’, उच्च स्रोतले भन्यो,‘त्यसैले नेतृत्वलगायतका अनेक निर्णय सहमतिका आधारमा मात्र हुनुपर्छ भनी प्रचण्डले नै भनेका थिए।’

सचिवालयमा माओवादीका तर्फबाट प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल मात्र थिए। नौ सदस्यीय सचिवालयमा निक्कै कमजोर रहेका प्रचण्ड सुरुका दिनमा नेता नेपाललाई माइनस गरी ओलीसँग मात्रै गोप्य लिखित अलिखित सहमति गरी शक्तिमा नै रहने रणनीति अपनाउन सफल भए।

‘नेकपाको राजनीतिभित्र शितलनिवासलाई तान्ने त प्रचण्ड नै हुन्। बालुवाटारमा एमाले नेताहरु मात्र बैठक बसेको चाल पाउनासाथ उनी विहानै शितलनिवास पुगेर बिन्ति चढाउने गरेका थिए’, स्रोतले भन्यो,‘प्रचण्डले त्यति शक्तिशाली सुराकी लगाएका थिए।’

आलोपालो प्रधानमन्त्रीको पूर्ण कार्यकाल ओलीलाई दिनका लागि पनि प्रचण्ड सचिवालयको शक्ति समीकरणलाई आफूतिर बलियो बनाउनका लागि तयार भएको स्रोतको दाबी छ। उच्च स्रोतले भन्यो,‘ओली नभएको मौकामा सचिवालयको बैठक डाक्ने र ओलीसँग रुष्ट माधव नेपालसहितले एउटा भयानक निर्णय गर्ने रणनीति अपनाए। जसका कारण सचिवालयमा ओलीको बहुमत गुमोस्।’

प्रचण्डले नेता नेपाललगायतसँगको छलफल गरी भेनेजुएला प्रकरणमा विज्ञप्ति निकाल्नु सोही रणनीतिको एउटा पाटो थियो। ‘सरकार प्रमुख र पार्टी प्रमुख पनि रहेका ओलीसँग कुनै परामर्श नगरी नै अन्तर्राष्ट्रिय मामिलामा विज्ञप्ति जारी गर्दा टकराब सुरु हुन्छ भन्ने ज्ञान भएकाले प्रचण्डले त्यहाँ डिभाइड गर्ने खेल रचे’, स्रोतले भन्यो,‘त्यसैले उक्त विज्ञप्ति आएको थियो।’

यसपछि भने प्रचण्डले एकमाथि अर्को प्रहार गरी ओलीलाई आफैंले बनाएको सहमतिविपरित कमजोर बनाउन थाले। सचिवालयमा प्रचण्ड बहुमततिर लम्किएपछि सबै कमिटीको फेभर देख्ने भएपछि नेकपाभित्रको विवाद चर्को रुपमा उठाइएको थियो।

‘ओलीसँग भारत खुसी थिएन। भारतीय पक्षलाई पनि प्रचण्डले खुसी बनाउनु थियो। ओलीले यो सरकार भारतले गिराउन खोजेको र केही नेता सक्रिय भएको भन्ने अभिव्यक्ति दिएपछि प्रचण्डलाई मुद्दा मिलिहाल्यो’, स्रोतले भन्यो,‘त्यहिँ स्थायी कमिटीमा प्रचण्डले आफूलाई खुलाउँदै भारतले होइन, मैले राजीनामा मागेको हुँ भनेका थिए।’

प्रचण्डको उक्त छवि पछिल्लो चरणमा प्रतिनिधि सभा विघटनपछि आएको ‘कम्फर्टेबल सरकार’ प्रकरणलाई जोड्दै स्रोतले भन्यो,‘अन्ततः एमाले विभाजन गराउनेसम्मका विन्दुमा प्रचण्डको भूमिका देखिएकै छ नि।’

प्रतिक्रिया