भगवानको रक्षा गर्नुपर्ने अवस्था आयो : सांसद खरेल


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफ्नो निर्वाचन क्षेत्र ललितपुर–२ मा सम्पदा संरक्षणमा गम्भीर चुनौती देखिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनका अनुसार रातो मछिन्द्रनाथको जात्रामा दायाँ–बायाँ राखिने हिटी मङ्ग (ढुंगाको संरचना) चोरी भएको छ । साथै अन्य मूर्तिहरू तथा सम्पदा संरचनाहरू पनि हराउने र चोरी हुने घटना बढेको उनले बताए ।

सांसद खरेलले भने, “हामी धेरैलाई लाग्छ, भगवानले हाम्रो रक्षा गर्छन् तर मेरो नगरमा भगवानको रक्षा गर्नुपर्ने अवस्था आएको छ। मूर्तिहरू चोरी भएका छन्, हिटीहरू चोरी भएका छन्। अतिक्रमण बढिरहेको छ।”

उनले एक–डेढ महिनादेखि करिब ८०–९० किलो तौलको हिटी मङ्ग हराइरहेको भन्दै त्यसको अवस्था अज्ञात रहेको बताए ।

उनले थपे, “कोसँग गयो, कहाँ गयो थाहा छैन। हामी जात्रा मनाइरहेका छौँ तर सम्पदा हराइरहेका छन्।”

सांसद खरेलले सभामुखमार्फत गुठी संस्थान र प्रहरी प्रशासनलाई तत्काल ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया