कंगोमा इबोला संक्रमण भयावह, १३१ जनाको मृत्यु


काठमाडौं-  प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआर कंगो) मा फैलिएको इबोला भाइरस संक्रमणका कारण कम्तीमा १३१ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार हालसम्म ५१३ भन्दा बढी शंकास्पद संक्रमित फेला परेका छन् ।

कंगो सरकारका प्रवक्ताले संक्रमण नयाँ–नयाँ क्षेत्रमा फैलिन थालेको बताएका छन् । इटुरी प्रान्तको न्याकुन्डे, उत्तर किभुको बुटेम्बो तथा गोमा शहरमा समेत संक्रमण देखिन थालेपछि चिन्ता बढेको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार युगान्डामा पनि दुई जनामा इबोला संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हाल फैलिएको बन्डिबुग्यो भाइरसबाट उत्पन्न इबोला संक्रमणलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । यद्यपि यसलाई महामारीको स्तर भने नरहेको डब्लुएचओले जनाएको छ ।

डब्लुएचओले हाल देखिएकोभन्दा धेरै ठूलो संक्रमण फैलिन सक्ने जोखिम रहेको चेतावनी दिएको छ । स्थानीय तथा क्षेत्रीय स्तरमा संक्रमण तीव्र रूपमा फैलिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच, कंगोमा कार्यरत एक अमेरिकी चिकित्सकमा पनि इबोला संक्रमण पुष्टि भएको छ । उनलाई उपचारका लागि जर्मनी लैजाने तयारी भइरहेको जनाइएको छ । मेडिकल मिसनरी समूह ‘सर्ज’ का अनुसार संक्रमित चिकित्सक पिटर स्टाफर्ड हुन् ।

संक्रमितको उपचारमा संलग्न अन्य दुई अमेरिकी चिकित्सक, जसमा उनकी पत्नी डा. रेबेकाह स्टाफर्ड पनि छन्, हाल क्वारेन्टिनमा रहेका छन् ।

सीडीसीले अमेरिकामा संक्रमणको जोखिम कम रहेको जनाएको भए पनि प्रभावित क्षेत्रबाट आउने यात्रुहरूको निगरानी, परीक्षण क्षमता वृद्धि तथा अस्पताल तयारीलाई कडा बनाइएको बताएको छ । साथै अमेरिकाले डिआर कंगो भ्रमण नगर्न ‘लेभल फोर’ यात्रा चेतावनी जारी गरेको छ ।

डब्लुएचओले कंगो र युगान्डालाई सीमाक्षेत्रमा स्वास्थ्य परीक्षण कडा बनाउन आग्रह गरेको छ । छिमेकी देशहरूलाई पनि स्वास्थ्य निगरानी र तयारी सुदृढ गर्न भनिएको छ ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीमा २८ हजार ६ सयभन्दा बढी संक्रमित भएका थिए भने ११ हजार ३२५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया