एउटा हेडलाइन ‘माधव नेपालले एमाले छाडे’


संविधान, संसद पुनःस्थापनाका हकमा माधवकुमार नेपाल निर्णायक होइनन्। एमालेको विकल्पमा सडकमा उत्रिएका पार्टी यसका हकदार हुन्। नेता नेपाल यो भिँडमा आफूलाई अगाडि ल्याउन चहान्छन्। उनी दशौं महाधिवेशनमा  अध्यक्षका निम्ति पर्दाभित्र सौदाबाजी र पर्दाबाहिर प्रचारबाजीको माध्यमबाट एजेन्डा सेट गरिरहेका छन्।

यदि यी प्रकरणमा उनको सफलता भएन र केपी शर्मा ओलीले उनका हठलाई स्वीकार गरेनन् भने कोटेश्वरमा भइरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगका परामर्श र अहिलेका घटनाक्रमका पटाक्षेपले एउटा हेडलाइन निकट दिनमा बन्नेछ– माधव नेपालले एमाले छाडे।

किनकी, उनीसँग एमालेमा रहने वैधानिकताको अन्त्य त्यसबेला भइसकेको छ जसबेला उनी पक्षका दोस्रो तहका नेताले तयार पारेको १० बुँदेमा असहमति जनाए। आफैंले तयार पारेको कार्यदलको प्रस्तावलाई अस्वीकार गरेपछि बुझ्नुपर्छ नेपाल एमालेमा बस्न चहाँदैनन्। उनको यो मनसायले स्पष्ट के भन्छ भने उनी एमाले भन्ने दलको यात्रामा छुटेका यात्री हुनेछन्। यो गाडीले ड्राइभर कुनै विन्दुमा अवश्य फेर्नेछ।

केपी शर्मा ओलीले सत्ता टिकाउन र त्यसका निम्ति प्रतिनिधि सभाको दुई पटक विघटन गरे। त्यो अक्षम्य संवैधानिक गल्तीलाई सर्वोच्चले सच्यायो, ओलीले माने। उनीमाथि यहाँभन्दा बढी टिप्पणी गर्नु उपयुक्त नहोला। भाषण र भनाईमा कोही भन्दा कोही कम छैनन्। ओलीका बचन अलिक ति मध्येका तिखामात्र हुन्।

तर १५ बर्षसम्म पार्टीको नेतृत्व गरेका माधवकुमार नेपाल आज जम्मा तेस्रो पुस्ताका २२ सांसद त्यसमा पनि अवसरवादी ८ जनामा कसरी खुम्चिए? महाधिवेशनमा सामान्य मतले मात्र जितेको भन्ने नेता नेपालसँग कम्तिमा ४९ प्रतिशत त हुनुपर्ने हैन र? ताकतको अन्दाज स्वभाविक हुन्छ।

तर, एमालेमा सँधै कर्नरमा राखिएका ओलीले आज के गरे भन्ने विषयको अलग बहस हुनेछ। तर, उनी कसरी उदाए? आजका दिनमा ओलीले संघर्ष नगरेको भनी चर्चा गर्छन्, तर उनले एमालेभित्र कर्नरमा रहेको अवस्थालाई विपक्षी र संस्थापनसम्म आइपुग्ने शक्ति आर्जन गर्नुलाई अचम्म मान्नु पर्दैन?

नेकपा एमालेको आठौं महाधिवेशनमा झलनाथ खनालसँग पराजित भएपछि हालका अध्यक्ष ओलीले पार्टीभित्र विपक्षी धारलाई बलियो र प्रभावशाली बनाउने अभ्यास गरेका थिए। उनको अभ्यास र ‘टार्गेट’ नवौं महाधिवेशनका लागि थियो। त्यसअघि ०७० सालको संसदीय दलको चुनावमा नेता नेपालले ओलीविरुद्ध खनाललाई मैदानमा उतारेका थिए। त्यहाँ पनि पराजित भएका नेपालले नवौं महाधिवेशनमा ओलीलाई ठेगान लगाउनुपर्छ भनी गुटमा छलफल चलाएका थिए।

यहाँसम्मकी विरामी भई थाइल्यान्डमा उपचार गराइरहेका ओलीलाई नेतृत्वमा आउन नदिनका लागि प्रतिनिधिसँग मत माग्दा अध्यक्षका उम्मेदवार नेपालले ‘ओलीको भरछैन, विरामीलाई अध्यक्ष बनाउन हुन्न’ समेत भन्ने नारा लगाएका थिए।

ओलीको बिरामीपनमा खिसिट्युरी र अधिवेशनको मुद्दा बनाउने उनै नेपालले आठौं महाधिवेशनमा झलनाथ खनालविरुद्ध ओलीलाई काँधमा राखेर हिँडेको पनि सम्झनामा राख्नुपर्छ। स्मरणीय होस्, त्यसैले राजनीतिलाई ‘डर्टी गेम’ भनिन्छ

नेता नेपालले अध्यक्ष ओलीकै बराबरीमा समान हैसियतको हस्ताक्षरको सर्तलाई अघि सार्नु एमाले महाधिवेशनले दिएको म्यान्डेडको प्रतिकूलत नै ठहर्छ। एमाले नेतृत्वमा विना प्रतिस्पर्धा १५ बर्ष रजगज गरेका नेता नेपालले पहिलो पटक प्रतिस्पर्धामा पराजय हुँदा त्यसलाई ‘कुन्ठा’को कथा बनाउनु बाञ्छनीय नहुने स्पष्ट छन्।

यदि इतिहासमा ओलीले संविधानलाई कुल्चिने कोशशी गरेको सजायका रुपमा उनको राजनीतिक हुर्मत लिने हो भने नेता नेपालको स्खलन पनि त्यहि इतिहासले माग गर्छ। जसले यहि संविधानका निम्ति आन्दोलनको शंखघोष हुने बेला आधा प्रतिगमन सच्चियो भन्दै प्रधानमन्त्री पदका लागि दरबारमा दरखास्त हालेका थिए। यदि ओली प्रतिगमनकारी भन्ने ध्वाँस माधव नेपाल पक्षका चल्लाहरूको हल्ला हो भने त्यहि पदका लागि संविधान बनाउने जिम्मेवारीको संवैधानिक समितिको सभापति छाडेर प्रधानमन्त्रीका लागि दौडिएका माधव नेपालको नैतिकतामाथि प्रश्न गर्नु पर्दैन? जसका कारणले पहिलो संविधानसभा म्याद थपी थपी चिहान बनाइयो।

एमालेमा ओलीको विकल्प नेता नेपाल नै हुनेथिए। स्वास्थ्य र उमेरले एमालेभित्र ओलीको शासन लामो समय नहुने करिब–करिब पक्कापक्की जस्तो छ। तैपनि नेतृत्वमा फेरि उदाउने उनको प्रयासलाई दोस्रो र तेस्रो तहका पुस्ताले हस्तक्षेप गर्दा विकल्पमा नेता नेपालकै पुर्नोदय हुने सम्भावनाबाट उनी भागीरहेका छन्, बेतुकका सर्त राखेर।

महाधिवेशन नजिकिएका बेला यस्तो अवसरलाई एमाले एक ढिक्का राखी ‘पर्ख र हेर’को अभ्यासमा नलागी विभाजनको बाटोतिर नेपालका पाइला सरे र प्रचण्डसँग एकता भए उनको राजनीतिक हविगत मोहनविक्रम सिंहकै हुने निश्चयभावी प्रक्षेपण गर्न सकिन्छ।

माधव नेपालले समान अध्यक्ष होइन, समान अधिकार माग गरेछन्। पार्टीमा अध्यक्ष बराबरको अधिकार चाहिनेले महाधिवेशनमा सोही पदमा हार्नु हुने थिएन। यो उनको मुखमा रामराम र बगलीमा छुरा बोक्ने प्रवित्तिको पर्दाफास भइरहेको छ। ओलीलाई प्रतिगामी भनेर आधा प्रतिगमन सच्चियो भन्ने नेता नेपालको सोच र व्यवाहारमा परिवर्तन आयो भन्न मिल्दैन।

अहिले ओली प्रतिगमनका नाइके भनी हिँड्ने, नवौं महाधिवेशनमा उनीविरुद्ध अध्यक्षमा चुनाव लड्ने, ओलीको बिरामीपनमा खिसिट्युरी र अधिवेशनको मुद्दा बनाउने उनै नेपालले आठौं महाधिवेशनमा झलनाथ खनालविरुद्ध ओलीलाई काँधमा राखेर हिँडेको पनि सम्झनामा राख्नुपर्छ। स्मरणीय होस्, त्यसैले राजनीतिलाई ‘डर्टी गेम’ भनिन्छ।

माधव नेपाललाई एउटा प्रश्न राखेर यो आलेखलाई बिट मार्छु– अहिले ओलीको बयलगाडाको चर्चा खुबै गरिन्छ। आठौं महाधिवेशनमा बोकेर अध्यक्षको पगरी लगाइदिने प्रण गर्दा ओलीले कार चढेर भनेका थिए?

प्रतिक्रिया