भुटानी ब्याटर ‘टाइम–आउट’ प्रकरणमा क्यानले माग्याे माफी


काठमाडौं-  नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला राष्ट्रिय क्रिकेट टोलीले भुटानविरुद्धको खेलमा  ब्याटरलाई ‘टाइम–आउट’ गराएको घटनाप्रति माफी मागेको छ।

क्यानका सचिव पारस खड्काले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटना क्रिकेटको मूल्य र भावनाअनुसार नभएको स्वीकार गरेका हुन्। उनले खेलको नियमभित्र रहेर ‘टाइम–आउट’ गरिए पनि क्रिकेटको भावना केवल लिखित नियममा सीमित नहुने उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “आजको खेलमा भुटानी ब्याटरलाई ‘टाइम–आउट’ गराउने घटना नेपाल क्रिकेट सङ्घले आत्मसात् गर्दै आएको क्रिकेटको मूल्य र भावनाअनुकूल छैन। यद्यपि उक्त आउट क्रिकेटको नियमअनुसार भएको थियो, खेलको भावना नियमभन्दा माथि रहनुपर्छ भन्ने हाम्रो मान्यता छ।”

क्यानले नेपाल जस्तो विकासोन्मुख क्रिकेट राष्ट्रका लागि खेल भावना, पारस्परिक सम्मान र निष्पक्ष खेललाई उच्च प्राथमिकतामा राख्ने जनाएको छ। साथै, उक्त घटनाले ती मान्यतामा आँच पुर्‍याएको स्वीकार गर्दै त्यसबाट पर्न गएको निराशाप्रति दुःख व्यक्त गरेको छ।

क्यानले भुटान क्रिकेट, सम्बन्धित खेलाडी तथा यस घटनासँग जोडिएका सबै पक्षसँग औपचारिक रूपमा माफी मागेको छ। साथै मैदानभित्र र बाहिर क्रिकेटको उच्चतम आचरण, इमानदारी र खेल भावना कायम राख्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

भुटानी ब्याटरलाई ‘टाइम–आउट’ गराएको घटनाले सामाजिक सञ्जाल र क्रिकेट वृत्तमा व्यापक चर्चा पाएको थियो। त्यसपछि क्यानले आधिकारिक धारणा सार्वजनिक गर्दै माफी मागेको हो।

प्रतिक्रिया