
ट्रम्पसँग दाँजिएको एल्बिनो भैँसी हेर्न चिडियाखानामा भीड
ढाका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी बंगलादेशको राष्ट्रिय चिडियाखानामा आकर्षणको केन्द्र बनेको छ ।
सुनौलो रङको कपाल, पहेँलो सिङ र करिब ७०० किलोग्राम तौल भएको उक्त भैँसीलाई गत साता ढाकास्थित राष्ट्रिय चिडियाखानामा सारिएपछि आगन्तुकहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । सामाजिक सञ्जालमा यसको तस्बिर र भिडियो व्यापक रूपमा भाइरल भएपछि देशका विभिन्न क्षेत्रबाट मानिसहरू यसलाई प्रत्यक्ष हेर्न चिडियाखाना पुग्न थालेका छन् ।
यो भैँसी सुरुमा इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व इद अल–अधाका लागि बलिदानस्वरूप प्रयोग गर्ने उद्देश्यले राखिएको थियो । तर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले यसलाई राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गर्ने निर्णय गरेको बताइएको छ ।
चिडियाखानामा भैँसी हेर्न आउनेहरूको भीड बढ्दै गएको छ । आगन्तुकहरू खोरअगाडि उभिएर तस्बिर तथा भिडियो खिच्ने गरेका छन् भने केही अभिभावकले आफ्ना बालबालिकालाई काँधमा राखेर भैँसी देखाउने गरेका छन् ।
चिडियाखानाका कर्मचारीहरूले अत्यधिक गर्मीबाट जोगाउन भैँसीको विशेष हेरचाह गरिरहेका छन् । उनीहरूले कपाल कोर्ने, पानी छर्कने तथा चिसो वातावरण कायम राख्ने प्रयास गरिरहेका छन् ।
ढाकाका विद्यार्थी मोहम्मद नासिमले भैँसीको रूपरङ र शैली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको बताए । उनका अनुसार सामाजिक सञ्जालमा चर्चित बनेपछि भैँसीले थप ध्यान र विशेष हेरचाह पाएको छ ।
यद्यपि, भैँसीलाई विश्व नेताको नाम दिइएको विषयमा सबैको धारणा एकैनासको छैन । केही आगन्तुकहरूले जनावरलाई राजनीतिक व्यक्तित्वसँग जोडेर नामकरण गर्नु उपयुक्त नभएको टिप्पणी गरेका छन् । ढाकाका स्थानीय बासिन्दा मोहम्मद जोयनल अदेदिनले यस्तो नामकरण असम्मानजनक देखिएको प्रतिक्रिया दिएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार चिडियाखानामा सुरुमा ‘डोनाल्ड ट्रम्प’ नाम लेखिएको सूचना बोर्ड राखिएको थियो । तर पछि उक्त बोर्ड हटाइएको छ । यसै प्रकरणसँग जोडेर चिडियाखानाका क्युरेटरलाई बर्खास्त गरिएको भए पनि त्यसको आधिकारिक कारण सार्वजनिक गरिएको छैन ।
भैँसीको भविष्य पनि समयक्रमसँगै फेरिएको छ । बलिदानका लागि बेचिएको उक्त भैँसीलाई पछि सरकारी हस्तक्षेपपछि फिर्ता ल्याएर चिडियाखानामा राखिएको बताइएको छ ।
हाल ‘डोनाल्ड ट्रम्प’ नामले चर्चित बनेको यो दुर्लभ एल्बिनो भैँसी बंगलादेशमा सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्मको केन्द्रमा रहँदै चिडियाखानाको प्रमुख आकर्षण बनेको छ ।



कागजपत्र |
