गोरुमाथि क्रूर व्यवहार गरी भिडिओ पोस्ट गर्ने व्यक्ति पक्राउ


काठमाडौं- गोरुमाथि क्रूर र अमानवीय व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका–१ निवासी ३६ वर्षीय जालिराम थापा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानले बिहीबार उनलाई नियन्त्रणमा लिएको हो।

पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओमा मगरले खेतबारीमा गोरु जोताइरहेका बेला थाकेर हिँड्न नसकी बसेको गोरुमाथि कुटपिट गरेको, नाक र मुख माटोमा गाडेको तथा अन्य अमानवीय व्यवहार गरेको देखिएको थियो।

उक्त भिडिओका आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार मगरविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ‘पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने’ कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरी उनलाई हिरासतमा राखिएको जनाएको छ।

प्रतिक्रिया