

शेयरमा लगानी गर्दै हुनुहुन्छ ? यस्ता छन् कमाउने टिप्स् !

नेपालमा वर्तमान समयमा शेयरको दोश्रो बजारमा प्रबेश गर्नेहरुको संख्या बढ्दो रहेको छ । सुरुमा आईपीओबाट प्रवेश गर्नेहरु सोचाई भन्दा राम्रो प्रतिफल हात पर्नाले धित मर्नेगरि शेयरको कारोबार गर्न उत्सुक रहेका छन् । जसको एकमात्र विकल्प शेयरको दोश्रो बजार नै हो ।
शेयरको प्राथमिक बजारभन्दा दोश्रो बजार निकै जोखिमपूर्ण हुनेगर्छ । बजारमा प्रवेश गर्न आतुर हुँदा-हुँदै पनि कतै डुब्ने पो हो कि ? भन्ने डरले कोहि लगानी गर्न खोज्दैनन् भने कोहि बजारका पण्डितहरुको हल्लाको पछि लागेर लगानी गरिरहेका हुन्छन् । हल्लाको पछि लाग्दैमा गरेको लगानी सबै डुब्छ मात्रै भन्न पक्कै खोजिएको हैन तर यस्तो बानीले तपाईँ एक कुशल र दिर्घकालीन लगानीकर्ता बन्न सक्नुहुन्न अवश्य भनिएको हो । त्यसैले तपाईँको सफलताको निर्धारण बजारका पण्डितहरुलाई सुन्ने कि बजारलाई नै सुन्ने भन्ने कुराले तय गर्दछ ।
यहाँ शेयरको दोश्रो बजारमा लगानीबाट सुरक्षित तरिकाले कसरी बढि मुनाफा कमाउन सकिन्छ भन्ने केहि टिप्स दिन खोजिएको छ । शेयर बजारमा सफलताको कुनै निश्चित सुत्र त छैन तर बजारलाई राम्रोसँग बुझेर प्रयोग गरिने स्वविवेकले तपाईँलाई अवश्य सफल बनाउँछ भन्ने तथ्यलाई नकार्न पनि सकिँदैन । त्यसैले यहाँ दिइएको टिप्सलाई मनन् गर्नुहोस् र लगानीको व्यक्तिगत शैलिको विकास गर्नुहोस् ।
तपाईँ सक्रिय करोबारकर्ता कि लगानीकर्ता ?
शेयरको दोश्रो बजारमा लगानी गर्ने लगानीकर्ता प्राय दुई प्रकारका हुने गर्छन् । थोरै मुनाफा भएपनि छोटो समयका लागि निरन्तर कारोबार गर्ने व्यक्ति नै सक्रिय कारोबारकर्ता हुन् भने लामो समयको लागि लगानी गर्ने व्यक्ति नै लगानीकर्ता हुन् । सक्रिय कारोबारीमा बढि जोखिम हुन्छ भने लगानीमा कम जोखिम हुन्छ ।
यदि तपाईँ लगानीकर्ता हुनुहुन्छ भने थोरै भएपनि भविष्य राम्रो भएको कम्पनीमा लगानी गर्नुहोस् । जसको लागि लघुबित्त कम्पनीलाई उत्कृष्ट र इन्स्योरेन्स कम्पनीलाई उपयुक्त मानिन्छ । लगानी गर्नको लागि तपाईँलाई शेयरबारे धेरै ज्ञान नभएपनि हुन्छ । अर्थात धेरैजस्तो अवस्थामा तपार्इँ अरु भरपर्दा व्यक्तिको सल्लाहमा नै सफल बन्न सक्नुहुन्छ ।
यदि तपाईँ सक्रिय कारोबारकर्ता हुनुहुन्छ भने बजारबारे धेरै ज्ञान लिनुपर्ने हुन्छ । अरुको हल्लाको पछि लागेर छोटो समयमै धेरै कमाउँछु भन्ने धारणको अन्त्य गर्नुपर्छ । बारम्बार शेयरमूल्य र आफ्नो पोर्टफोलियो हेरिरहनु हुँदैन । यदि कुनै शेयरबाट घाटा ब्यर्होनु परेपनि त्यसलाई घाटा खाएर तुरुन्तै नबेच्ने बरु लामो समयको लागि होल्ड गर्ने । छोटो समयका लागि लगानी गर्दा प्राय कम्पनीले दिने लाभांश, बोनस शेयर, हकप्रद शेयरलाई हेरेर लगानी गरिन्छ । यस्ता कुराको आधारमा लगानी गर्दा हल्लाको पछि नलागेर मेरो लगानी, नेप्से वा नेपाली पैसा जस्ता आधिकारीक वेभसाइटबाट आधिकारिक सुचना लिने अनि लगानी गर्ने ।
कस्ता शेयर किन्ने ? र कस्ता बेच्ने ?
शेयरको दोश्रो बजारमा भर्खरै प्रवेश गर्ने लगानीकर्ताहरु धेरै मूल्य भएका शेयरप्रति बढि लोभिन्छन् । उनीहरु थोरै मूल्य भएका शेयरलाई हेर्न नै चाहँदैनन् । पहिले यो बुझ्न आवश्यक छ कि एउटा आकाशमा उडिरहेको रकेटको उद्गमबिन्दु पनि भुइँ नै हो । त्यसैले छिटो पुगिने आशामा उडेको रकेटमा चढ्न खोज्नुभन्दा जमिनमै भएको रकेटको अवस्था बुझेर त्यसमा चढ्नु धेरै बुद्धिमानी हुनेछ ।
कुनैपनि कम्पनीमा लगानी गर्नुपूर्व तपाईँले यो हेर्न जरुरी छ कि त्यो कम्पनीको शेयर मूल्य अन्डरभ्यालुड् छ कि ओभरभ्यालुड् छ । ओभरभ्यालुड् भएको शेयरलाई बेच्ने र अन्डरभ्यालुड् भएको शेयरलाई किन्ने गर्नुहोस् । शेयरको मूल्य कम्पनी अनुसार कस्तो छ भनेर ठ्याक्कै मापन गर्न त सकिँदैन तर कम्पनीको वित्तिय अवस्था र काम हेरेर अनुमान लगाउन सकिन्छ । त्यसैगरी कम्पनीको विगतलाई भन्दापनि त्यसको भविष्यलाई हेर्ने र कम्पनीको काम तथा उद्देश्यलाई हेरेर शेयर किन्नु उपर्युक्त हुन्छ ।
साधारणतया लघुबित्तलाई मूल्यको हिसाबले शेयरको शेर मान्न सकिन्छ । थोरै भएपनि लघुबित्तको शेयर बचाउने, छैन भने किन्ने र इन्स्योरेन्स कम्पनीमा पनि जोड दिने । यसको अर्थ बैंक तथा हाइड्रोलाई बेवास्ता गर्ने भन्न खोजेको हैन । राम्रो भविष्य भएका र राम्रो प्रतिफल दिनसक्ने जुनसुकै कम्पनीको शेयर जोगाउने । राम्रो वित्तिय अवस्था नभएका र उचित प्रतिफल दिन नसक्ने कम्पनीको धेरै शेयरलाई बेचेर राम्रो कम्पनीको थोरै शेयर किन्ने । तर कहिलेकाँहि हुनसक्ने ठूलो नोक्सानीलाई कम गर्न कम मूल्य भएका शेयरलाई पनि आफ्नो पोर्टफोलियोमा राख्नुपर्छ । (नोटः लघुबित्त भन्नाले ग्रामिण भेगमा भएका जनताहरुलाई सस्तो ब्याजदरमा ऋण सँगै सिपमूलक तालिम उपलब्ध गराउने सेवाप्रदायक संस्था हो ।)
आत्मविश्वास बढाउने कि ?
कतिपय शेयरमा भर्खरै प्रवेश गर्नुभएका मित्रहरु कहिलेकाँहि लगानीबाट सानोतिनो घाटा हुँदैमा एकदमै आँत्तिने र बारम्बार आफ्नो पोर्टफोलियो हेर्ने गर्नुहुन्छ । यसरी मिनेट-मिनेटको बजार गतिबिधि नियाल्दै निराश बन्नुभन्दा बजार जस्तो अवस्थामा रहेपनि आत्मबिश्वास बढाउनुहोस्, यो मानेमा कि बजारको अन्तिम बिन्दु भनेकै उचाई हो ।
केहि ब्यक्तिगत धारणा बनाएर शेयर किन्ने र आफ्नो धारणा अनुरुप बजार नचलेमा मूल्य घट्यो, मैले धेरै घाटा खाएँ भन्दै हतासिएर बेच्ने प्रबृत्ति एकदमै नराम्रो हो । बजार कहिलेपनि तपाईँको धारणा अनुसार चल्दैन । त्यसैले आफू बजार अनुसार चल्छु भन्ने धारणाको बिकास गर्न जरुरी छ ।
स्तरिय शेयरमा लगानी गर्दा आत्मबिश्वास बढाउनुहोस् । स्तरहिन शेयरमा लगानी परेमा निराश नहुनुहोस् । त्यस्ता शेयरलाई सकेसम्म होल्ड गर्नुहोस् तर घाटा खाएर नबेच्नुहोस् ।
ब्रोकर कमिशन र पूँजीगत लाभकरबारे स्पस्ट हुनुहोस्
कतिपय लगानीकर्ता शेयर किन्छन् र बेच्छन् तर उनीहरुलाई कति आयकर र ब्रोकरले चार्ज कुन अवस्थामा कति काट्छ भन्ने कुराको ज्ञान हुँदैन । यस्तो भएमा कहिलेकाँहि तपाईँ ब्रोकरको ठगीमा पनि पर्न सक्नुहुन्छ वा आफूसँग भएको जम्मा शेयरलाई थोरै थोरै गरि बिक्री गर्दा बढि ब्रोकर चार्जमा पर्नुहुन्छ । धेरै शेयर किनबेच गर्दा कम ब्रोकर चार्ज लाग्छ भने थोरै शेयर किनबेच गर्दा बढी ब्रोकर चार्ज लाग्छ ।
संगठित संस्थाको शेयरको प्रत्येक खरीद तथा बिक्री कारोबारमा रू.५० हजारसम्मको कारोबारमा ०.४० प्रतिशत, रू.५० हजारदेखि रू.५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, रू.५ लाख भन्दा माथि रू.२० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, रू. २० लाख भन्दा माथि रू.१ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र रू.१ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्छ ।
सरकारी वा संस्थागत ऋणपत्रको खरीद बिक्रीमा पनि रू. ५० हजारसम्म ०.१० प्रतिशत, रू.५० लाख सम्ममा ०.०५ प्रतिशत र ५० लाख माथिको कारोबारमा ०.०२ प्रतिशत सेवा शुल्क लिन पाउने व्यवस्था छ । लगानीकर्ताले तिरेको कमिसनबाट ब्रोकरलाई २० प्रतिशत र त्यहीँबाट सीडीएससीलाई कमिसन जाने गरेको छ । लगानीकर्ताले धितोपत्र बोर्डलाई छुट्टै ०.०१५ प्रतिशत कमिसन तिर्नुपर्छ ।
पूँजीगत लाभकर भने शेयरबाट भएको नाफाबाट ५ प्रतिशत तिर्नुपर्दछ । गतबर्ष असारमा सरकारले ल्याएको पूँजीगत लाभकर ७.५ प्रतिशत नीति निकै बिभादास्पद बनेको थियो । माथिका कुरालाई मनन् गर्नुहोस् र लगानीको ब्यक्तिगत धारणको बिकास गर्नुहोस् । अरुको सुन्नुहोस् तर आफ्नो गर्नुहोस् ।
यो पनि हेर्नुहोस्ः
शेयर शिक्षा-१ः शेयरबाट पैसा कमाउने हो भने यत्ति चाहिँ जान्नुहोस्
शेयर शिक्षा-२ः सेकेण्डरी सेयर मार्केटमा प्रवेश गर्न चाहनुहुन्छ ? यस्ता छन् मापदण्डहरु !
शेयर शिक्षा- ३ः शेयर बजारमा नयाँ ट्रेन्डः के हो त ‘बुक बिल्डिङ’ ?
शेयर शिक्षा- ४ः पाँच वर्षमै १ हजारबाट ३ लाख ६० हजारको यात्रा, आईपीओ ‘होल्ड’ कि ‘सोल्ड’ ?
शेयर शिक्षा – ५ः आईपीओ बाहेकका शेयरबारे जान्नैपर्ने ‘तत्व’हरु

