अब नेपाली नागरिक भएर बाँचौं


  • तिर्थ नेपाली

नेपालमै जन्मियो, नेपालमै हुर्कियो, यही माटोले हामीलाई परिचय दिलायो। यही माटोले परिवर्तनका लागि सडकदेखि संसदसम्म खबरदारी गर्न सिकायो। दशकौँको संघर्षपछि हाम्रो मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। २०६२–६३ को जनक्रान्तिको आधारमा गठन भएको संविधानसभाले २०६५ जेठ १५ गते मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो।
गणतन्त्र स्थापना गर्न लागिएको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरू प्रति हाम्रो सदैव सम्मान र श्रद्धा कायम छ।

राष्ट्र भएमा मात्रै नागरिक रहन्छ। तर राज्यका अभिभावकहरूले शोषण, उत्पीडन र दमन निरन्तर गर्दै आए। संघीय लोकतान्त्रिक शासन प्रणाली भए पनि नेपाली जनताले आफ्नो श्रम र बुद्धिमत्ताबाट उचित न्याय पाएको प्रमाण सीमित छ। नागरिकताको नाममा मात्र अधिकार सुनिश्चित हुँदा, व्यक्तिले स्वतन्त्र रूपमा विचार व्यक्त गर्न नपाएमा प्रणालीको कमजोरी प्रष्ट देखिन्छ।

नागरिकताको महत्व प्रशासनिक काममा स्पष्ट हुन्छ। राहदानी, राष्ट्रिय परिचयपत्र जस्ता कागजातहरूले नागरिकलाई अधिकारको वास्तविक अनुभूति दिलाउँछन्। राष्ट्रिय परिचयपत्रको आवश्यकता र यसको दिर्घकालीन उपयोगबारे सचेत हुन आवश्यक छ।

पछिल्ला ३० वर्षमा सत्तासीन दलहरू, जस्तै नेपाली कांग्रेस र नेकपा एमाले, सत्ताको रजाईमा व्यस्त रहे। त्यसैले नेपाली जनताले आफ्ना माग राख्न सडकमा संघर्ष गर्नुपरेको हो। भदौ २३ मा देशव्यापी आन्दोलनमा भ्रष्टाचार, अनियमितता र बेथितिका विरुद्धको आक्रोश स्वाभाविक थियो। सामाजिक संजालमा प्रतिबन्ध लगाइएको बेला जनताको आवाज दबाउन खोजियो, तर अन्ततः जनताको सिर्जनात्मक र चर्को आवाजले प्रतिबन्ध फुकुवा गरायो।

सामाजिक न्याय, भ्रष्टाचारमुक्त नेपाल र लोकतान्त्रिक अधिकारको संरक्षणका लागि जनताको आन्दोलन आवश्यक थियो। तर शासकहरूले सडकमा आएका युवा र देशका भविष्यका कर्णधारहरूलाई लक्षित गरे। यही आन्दोलनमा ७३ भन्दा बढी जनाले जीवन उत्सर्ग गरिसकेका छन्। उनीहरूको बलिदानीले नै आजको लोकतान्त्रिक संरचनामा सत्तासीन पार्टीहरुलाई लखेटन् सम्भव भएको हो।

हाम्रो कर्तव्य यही छ कि शहीदहरूको बलिदानीलाई सम्मान गर्दै, वर्तमान सरकारलाई सुझबुझका साथ सहयोग गर्ने हो। विवाद भन्दा सकारात्मक र रचनात्मक मार्ग अपनाएर मुलुकलाई अघि बढाउनुपर्छ। सरकार र राजनीतिक दलका नेताहरूको दोषका बावजुद नागरिकको हितमा काम गर्न सुझबुझ र समझदारी अपरिहार्य छ। राज्यले क्षति व्यहोरेका संरचनाको पुनर्निर्माणमा सहयोग गरिरहँदा मात्र देशको मुहार परिवर्तन गर्न सकिन्छ।

विश्वभर रहेका हरेक नेपालीको आत्मासम्मान, सुरक्षा र स्वाभिमानका लागि हामी एकजुट हुनुपर्छ। नेपाली इतिहास, बलिदानी र साहसको सम्झनासँगै नागरिक भएर मात्र होइन, व्यवहारिक रूपमा पनि देशको जिम्मेवारी बहन गर्नु जरुरी छ। कोही पनि वैदेशिक दमन वा शोषणमा फँस्न नपरोस् भन्ने सुनिश्चितता हामीले गर्नुछ।

आजको नेपाली नागरिकको भूमिका केवल अधिकारमा सीमित छैन। सक्रिय सहभागिता, सुझबुझका साथ सरकारको निगरानी, सामाजिक उत्तरदायित्व र देशको विकासमा योगदान गर्नु पनि हाम्रो दायित्व हो। नागरिकता मात्र बोकेर औपचारिक नागरिक बन्नु पर्याप्त छैन। यसको वास्तविक मूल्य तब महसुस हुन्छ जब हामी आफ्नो हक, दायित्व र जिम्मेवारी बुझेका सक्रिय नागरिक बनेका हुन्छौं।

अन्ततः नागरिकता मात्र नभई नागरिक भएर बाँच्न, आफ्नो अधिकार र जिम्मेवारी बुझ्न, र राष्ट्रिय गौरवका लागि सक्रिय हुन हामी सबैको प्रयास आवश्यक छ। अब समय आएको छ कि नेपाली नागरिक भएर मात्र होइन, सचेत, जिम्मेवार र सक्रिय नागरिक भएर हामी आफ्नो देशको उज्जवल भविष्य निर्माण गरौं। शहीदको बलिदानी, लोकतन्त्रको संरक्षण र नागरिक जिम्मेवारीसँगै मात्र नेपाल उज्जवल र समृद्ध बन्न सक्छ।

प्रतिक्रिया